आज थारु समुदायले अत्वारी पर्व मनाउँदै, प्रदेश ७ मा सार्वजनिक विदा


धनगढी, भदौ ३१ गते । थारु समुदायको मौलिक पहिचान बोकेको अत्वारी पर्व पश्चिम तराईका थारु समुदायले आइतबार व्रत बसी मनाइरहेका छन् । थारु समुदायको अत्वारी पर्वको अवसरमा प्रदेश ७ ले आइतबार सार्वजनिक विदा दिएको छ ।

पहिलो पटक सार्वजनिक विदा पाएका थारु समुदायले प्रदेश ७ सरकारप्रति विज्ञप्ती जारी गर्दै धन्यवाद र स्वागत गरेका छन् । यसअघिका वर्षमा पनि सो पर्वमा विदाको माग गर्दैआएका थारु समुदायलाई देश संघीय संरचनामा गएपछि प्रदेश स्तरको भएपनि यो पहिलो सार्वजनिक विदा हो ।

यद्यपि प्रदेश ५ मा पनि सार्वजनिक विदाको माग गर्दै थारु अगुवाले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । तर सो प्रदेशमा विदाको व्यवस्था हुन नसकेको थारु अगुवाले बताएका छन् ।

प्रदेश ७ अन्तर्गत कैलाली र कञ्चनपर दुई जिल्लामा थारु बाहुल्यता रहेको छ । कैलालीमा ४३ प्रतिशत थारु समुदायको बसोबास छ भने कञ्चनपुरमा करिब २५ प्रतिशत थारुको जनसंख्या रहेको २०६८ को जनगणनाले देखाउँछ ।

प्रदेश ५ मा वर्दिया, बाँके, दाङ जिल्लामा थारु बाहुल्यता रहेपनि सो प्रदेशमा सार्वजनिक विदाको व्यवस्था हुन सकेन । सो प्रदेश सरकारले थारुको प्रमुख पर्व माघीको अवसरमा सार्वजनिक विदा दिने प्रतिवद्धता गरेको बताइएको छ ।

अत्वारी पर्वको अवसरमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विज्ञप्ती जारी गर्दै थारु समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको हो । जारी शुभकामना सन्देशमार्फत मुख्यमन्त्री भट्टले पर्वले प्रदेशको एकता, भातृत्व, सामाजिक न्याय र समृद्धिको सन्देश दिन सकोस शुभकामना व्यक्त गर्नुभएको छ ।

यो प्रदेशमा विभिन्न जातजाति, वर्ग, समुदायको आ–आफ्नै किसिमको सभ्यता, भाषा, संस्कृति विद्यमान रहेको प्र्रदेश हो शुभकामना सन्देशमा उल्लेख छ ।

हेर्नुहोस् मुख्यमन्त्रीको शुभकामना सन्देश

तपाईको प्रतिक्रिया