बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बन्ने तयारीमा


भगतराम थारु
नेपालगन्ज, असोज ८ गते । बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बनाउने पहल थालिएको छ । मानसरोवर पार्क बनाउने पहल थालिएपछि स्थानियहरु खुशी भएका छन् ।

कविर ५० करोड रुपियाँ बढीको लागतमा मानसरोवर पार्क निर्माण गर्न लागिएको स्थानियले जनाएका छन् । गाभर उपत्यकामा पर्ने रानीबन क्षेत्रभित्र पार्क निर्माण गरिने रारा राधारानी मध्यवर्ती सामुदायिक वन समुहमा करिब ३ सय विगाह क्षेत्रफलमा पार्क निर्माण गरिने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो ।

सवै स्थानियवासीको चाहना, माग बमोजिम पहल थालेका छौं उहाँले भन्नुभयो । मानसरोवरमा दर्शन गर्न जाने पर्यटकहरुका लागि गाभर भ्यालीमै मानसरोवर गएको अनुभुति दिलाउने अध्यक्ष चौधरीले बताउनुभयो ।

मानसरोवरको पुर्णरुपमा जानकारी गराउने उद्देश्यकासाथ स्मारक पार्क बनाउन पहल थालिएको उहाँले भन्नुभयो, ‘पार्क निर्माणका लागि गाभर उपत्यका उपयुक्त छ । गाउँपालिका र सामुदायिक बन समुहले पनि निर्णय गरिसकेका छौं ।’

मुगाली र थारु संस्कृतिको साँस्कृतिक संगमकारुपमा चिनिने गाभर उपत्यकाको पर्यटन प्रवद्र्धनका साथै जैविक विविधताले भरिपूर्ण रहेकोले पार्क निर्माण आवश्यक रहेको चौधरीले बताउनुभयो । ‘निकुञ्जसँग नजोडिएकाले बाघको बासस्थानमा असर नपर्नेगरी पार्क निर्माण हुनेछ,’ चौधरीले भन्नुभयो । मानसरोवर पार्कमा मानसरोवर ताल, कैलाश पर्वत, मन्दिर, बगैचा लगायतका पूर्वाधारहरु तयार गरिनेछ ।

‘मानसरोवर जाने मुख्यद्वार बाँके जिल्ला नै भएकाले यहाँ पार्क बनाउन लागिएको हो,’ चौधरीले भन्नुभयो । मानसरोवर पार्क निर्माण भएपछि मानसरोवर जान नसक्नेहरुले त्यहाँका बारेमा सहजै जानकारी लिन सक्नेगरी पूर्वाधारहरु तयार गरिने बताइएको छ ।

‘मानसरोवर जान नसक्नेहरुले यही मानसरोवर पुगेको अनुभूति गर्नेछन्’ गाभर भ्याली प्रदेशभित्र पश्चिम क्षेत्रको प्रमूख पर्यटकीय गन्तव्य बन्नेछ अध्यक्ष चौधरीको दावी छ । पार्क निर्माणका लागि हामी लागिपरेका छौं ।’ पार्क निर्माणपछि प्रदेश ५ को पर्यटन क्षेत्रले अझै फड्को मार्ने चौधरीको भनाई छ ।

अध्यक्ष चौधरीले भन्नुभयो , ‘गाभर उपत्यकामा स्थानीय समुदायकै पहलमा सञ्चालन गरिएका होमस्टेमा ६० जनालाई एकैपटक गाँसबासको व्यवस्थापन गर्न सक्ने पूर्वाधारहरु तयार भइसकेको छ । निकुञ्ज सफारीको उपयुक्त स्थान पनि गाभर भ्याली नै भएकाले यहाँ मानसरोवर पार्कको निर्माण महसुस गरिएको हो ।

कैलाश मानसरोवर पुग्न सबैभन्दा नजिकको रुट नेपालगन्ज–सिमकोट–हिल्सा हो । यो रुट हुँदै मानसरोवर पुग्ने भारतीय तीर्थालुहरुको संख्या अधिक छ । पार्क निर्माणपछि भारतीय तीर्थालुहरुले मानसरोवरका बारेमा सहजै जानकारी लिन सक्नेछन् ।

पार्क निर्माणका लागि अध्ययन गर्न केही दिनभित्रै विज्ञ समिति गठन गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पनि पार्क निर्माणका लागि प्रस्तावित गरिएको जग्गाको गतसाता निरिक्षण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया