वहुलराष्ट्रियताको भूत र शाही मनोदशा !

विचार–विश्लेषण

सीएन थारु

विगतमा थारुले विकल्प सहितको विद्रोह उठाउन खोजे । आधुनिक राजनीति मार्फत शासन माथिबाट आप्रवासीले थोपर्न खोजे पश्चात स्वशासन हाम्रो मौलिक हक हो भन्ने बुझाईले थारु अलग राष्ट्रियताको दावी गर्नु स्वभाविक ठहर्छ । संसार भरी नै आप्रवासी शासक तथा प्रथम राष्ट्रका शोषित जनताबीच संघर्ष चल्दै आएको सन्दर्भमा नेपालमा थरुहट स्वायत्त राज्य निर्माण गर्न थारु जुर्मुराए । यसको आफ्नै अर्थराजनीति तथा ऐतिहासिकता सम्बन्धि व्याख्या रहेको बुझ्न सकिन्छ । वस्तुगत रुपमा नेपाल वहुलराष्ट्रिय राज्य रहेकोमा दुईमत हुन सक्दैन । त्यसैगरी आत्मनिर्णयको अधिकार सहित जातीय स्वशासन नै सहमतीय लोकतन्त्रको आधार बन्ने विषय विचारयोग्य सवाल हो । अब वहसको विषय यी हुन कि अन्तरिम संविधानको मर्म ठहर भएको सहमतीय लोकतन्त्र नयाँ संविधानमा किन अट्न सकेन ? संसारको उत्कृष्ट भनिएको नयाँ संविधान हाम्रो संविधान किन बन्न सकेन ? किन नेपाली राष्ट्रियताले सनातन वैदिक धर्म विधान अनुरुपको चतुरवर्ण इतरका मनोविज्ञान भत्काउने काम नगरेको ? नेपाल असली हिन्दुस्थान भन्दा कुन अर्थमा फरक छ ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिएको त्यही सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश बुझाउनका लागि हो ? यी तमाम सवालहरु मोफसलका हुन । तसर्थ अब सवालको प्रस्तुतिकरण सही ढङ्गले हुनु जरुरी छ र आत्मसमीक्षाको खाँचो समेत रहेको बुझ्नुपर्छ ।

नेपाल असली हिन्दुस्थान भन्दा कुन अर्थमा फरक छ ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिएको त्यही सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश बुझाउनका लागि हो ?

“सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली” भनेर जति पटक गाय पनि हामी राष्ट्रवादी चरित्र धारण गर्ने औकात राख्दैनौं किनकी हामी भनेको शासक जातिको लागि अन्य हौं । शाही मनोदशा शासक जातिको निरन्तरता हो र वहुलराष्ट्रियताको भूतले आतंक सिर्जना गरेको छ । थारु एक अलग राष्ट्रियता भएको दावी गर्दा काठमाण्डौमा यसलाई त अमुक आइएनजीओले उचालेको हुनुपर्छ भनी भ्रम फिजाउँछ । चितवनको सौरहामा केही वर्ष अगाडि सम्पन्न थारुको एक कार्यक्रममा भारतीय काउन्सलरको उपस्थिति भएको कारण अब थारुलाई भारतले चेप्न खाजे भन्दै मूलधारको मिडिया अन्नपूर्ण पोष्टको मुख्य समाचार कभर पृष्ठमा छापियो । गृहमन्त्रालयको इन्भेष्टिगेसन सेक्सनसम्म सो कार्यक्रममा उपस्थित भएकाहरुको नाम सम्प्रेषित हुन्छ र करोडौं रकमको चलखेल भन्दै बदनाम गराउन उद्दत बन्दछ । भर्खरै सम्पन्न थारु कल्याणकारिणी सभाको महाधिवेशन उदघाटन सम्बन्धि समाचार बनाउँदै एक अनलाइन खबरले कम्युनिष्ट र काँग्रेसको झगडाले प्रमुख अतिथि भारतको पोल्टामा भन्न भ्यायो । थाकसको परम्परा अनुसार प्रमुख अतिथिमा प्रधानमन्त्रीलाई निम्तो गर्ने चलन रहेको छ र यस पटक प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानु परेकोले प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई निम्तो गर्न पुगे । कारणवश उहाँ पनि उपस्थिति हुन सक्नु भएन र अतिथिमा निम्त्याइएका भारतीय थारु महासंघका अध्यक्षलाई नै प्रमुख अतिथि बनाइयो । उपदेश दिन नसके पनि उपदेश सुन्ने बानी जो थारुले विकास गरे त्यसले यी पक्षहरु बारे खुलेर प्रतिरोध गर्न सकिराखेको छैन् ।

धर्मनिरपेक्षताको परिभाषा हेर्दा नेपाल अहिले पनि हिन्दु एकल साँस्कृतिक राष्ट्रियता मार्फत नै नेपाली राष्ट्रियता परिभाषित गरेको छ ।

माक्र्सवादी साहित्यमा केही गहकिला तर्कहरु गर्ने गरेका छन् । एक आशय अनुसार “ईतिहास केहि गर्दैन, यो कुनै ठुलो धन बोक्दैन, यो कुनै युद्घ छेडदैन” । यो मान्छे हो, वास्तविक जीवित मान्छे जो यी सबै गर्छ जो (धन) बोक्छ र (युद्घ) लड्छ; “ईतिहास” (त्यस्तो) छैन जस्तो थियो, एक व्यक्ति साथमा, मान्छेलाई यसको आप्mनै उद्देश्य प्राप्तिको साधनको रूपमा उपयोग गर्दै; ईतिहास मान्छेको आप्mनै लक्ष्य पछयाउने क्रियाकलाप बाहेक केहि होईन (माक्र्स तथा एँगेल्स, द होली फ्यामिली, च्याप्टर छैठौं) । अब सवाल उठछ कि टीकापुर विद्रोहको ह्याङओभरबाट थारु मुक्त हुने कि नहुने ? यहाँ ज्ञान बढाउनका लागि टीकापुर विद्रोहको विविध आयामहरुमा चर्चा गर्नुपर्छ होला । तर सत्य त्यो हो कि यसले सम्पूर्ण राष्ट्रियताहरु चाहे ती अधिक संख्यावाला हुन कि कम संख्यावाला स्वतन्त्र हुनुपर्छ, भन्ने मान्यता अंगालेको छ । यसको सारपक्ष केलाउँदा जसरी थारु आन्तरिक उपनिवेशबाट मुक्तिको लागि संघर्षरत देखिन्छ, सोही अनुपातमा अन्य (शासक) ले पनि आन्तरिक उपनिवेश विरुद्धको लडाई लड्दैछ भन्ने बुझाई हो । मधेसी राष्ट्रियता समेत यहि धारको प्रतिनिधित्व गर्दैछ । टीकापुर विद्रोहको विविध आयामहरुमा चर्चा गर्दा बाँकावीर (वलदेव शाही) को राणा शासकसँगको विद्रोह तथा बाझाङ्गी राजा ओमसिंहको सशस्त्र विद्रोह दवाउन २०१८ सालमा उहाँको हत्या गरेको घटनाले ल्याउने खसानको झझल्को बीच अन्तरसम्बन्ध छ भन्ने बुझाई बीच इतिहासको व्याख्या होला वा नहोला तर हामी मधेसी होइनौं भन्ने नाराको औचित्य पुष्टी गर्न समेत मधेसी राष्ट्रियता निर्माणमा मद्दत गर्नु परेको यथार्थ बुझ्नैपर्छ । मधेसी राष्ट्रियताको विशिष्टता भनेको इन्टीग्रेसन हो भने थारु राष्ट्रियता एक्सक्लुसिभ भएर विशिष्टता हासिल गर्न पुग्छ । यसरी चरित्र फरक भए तापनि राष्ट्रिय उत्पीडनको सवाल उपरोक्त सबैको राष्ट्रियताको लागि उतिकै विचारणीय पक्ष रहेको मानिन्छ ।

मधेसी राष्ट्रियताको विशिष्टता भनेको इन्टीग्रेसन हो भने थारु राष्ट्रियता एक्सक्लुसिभ भएर विशिष्टता हासिल गर्न पुग्छ ।

अन्त्यमा, शाही मनोदशाको चरित्र एसिमिलेसन रहेको कारण बाँकी कतिपय राष्ट्रियताको लागि योजनाबद्ध विनास सावित हुन पुगे । एक भाषा, एक भेष तथा एक संस्कृतिको अलावा बाँकी अयोग्य र विकास विरोधी सावित गर्न दशकौं राज्य श्रोत दुरुपयोग गरे तर असभ्य नै सही देहात र खोंचहरुमा आफ्ना मौलिक संस्कृति, भाषा र आस्था जोगाएका प्राकृतिक मानव समुह जब अलग राष्ट्रियता दावी गरेर विकल्प सहितको विद्रोहको तयारी गरे, शाही मनोदशा पुरै रक्षात्मक देखिन थाले । तर शाही मनोदशालाई आड दिने शक्ति अहिले मक्किसकेको कारण उनीहरु लोकतन्त्र, गणतन्त्र अथवा समाजवादको नारा दिएर बचाऊ गर्न खोजे । यति त प्रष्ट भयो कि धर्मनिरपेक्षताको परिभाषा हेर्दा नेपाल अहिले पनि हिन्दु एकल साँस्कृतिक राष्ट्रियता मार्फत नै नेपाली राष्ट्रियता परिभाषित गरेको छ । राजनीतिक रुपमा उही शासक जातिको वर्चश्व कायम हुन पुग्यो र बाँकीलाई किनाराकृत गरेकैछ । त्यसो हुँदा समृद्धिको पनि पक्षधरता स्वीकार गर्नु परेको छ । अर्थात् जसको शासनसत्तामा पहुँच छ, उसको खातिर समृद्धि होला । वाहुनवाद हावी हुने शासनसत्तामा वाहुनको समृद्धि त हुने नै भए, झोले पिछलग्गुको त उही जुठो पुरो मात्रै । जुठो पुरोमा न रम्ने, सतिसाल जस्तो एक्लै ठीङ्ग उभिनेको लागि भने विकल्प सहितको विद्रोह नै हो जहाँ वहुआयामिक ढङ्गले लडाईलाई व्यवस्थित गर्नुपर्छ । यसैको लागि राष्ट्रियता दावी गर्न राष्ट्रियता पुनः उत्थान अभियान निरन्तर चलाउँदै जाने हो । त्यसले ज्ञान, मनोविज्ञान र सत्ताको अभ्यास सम्म पुरयाउँछ । यो यथार्थ कर्म पनि हो र वहुलराष्ट्रिय लोकतन्त्रको आधार पनि । किनकी यथार्थ कर्म मार्फत नै नियन्त्रण शक्ति आउँछ र शासकीय शक्तिले अभ्यास गर्न पाउँछ । वहुलराष्ट्रियताको भूतले सर्वत्र तर्साउन थाले । यहाँ शाही मनोदशाले जोरी नखोजे हुन्छ ।

तपाईको प्रतिक्रिया