थारु सखिया नाचले गरायो थारु गाउँ बस्तीहरुमा दशैको जोरदार चहल पहल


भगतराम थारु
नेपालगन्ज, असोज २६ गते । दशै पर्व हिन्दुहरुको महान पर्व हो । दशैमा हरेक मानिस आफ्नो जन्मथलोमा पुगेर दशैको रमझम गर्छन् । हरेक वर्षजस्तै यस वर्षको थारु सखिया नाचले दशैंको रौनक गाउँबस्तीमा शुरु गरेको छ ।

दशै सवै धर्म समुदायले फरक फरक तरिकाले मनाउने गरेका हुन्छन् । थारु समुदायले दशै पर्वलाई हर्ष उल्लासका साथ मनाउने गर्दछन् । दशै थारु समुदायको लागि विशेष पर्व भएको हुनाले बाहिर कमाउन गएका मानिसहरु पनि घरमै पुगेर मनाउने गर्दछन् । थारु बस्तीमा दशै आउनुभन्दा १ महिना अगाडि देखि गाउँघरमा चहलपहल हुन्छ ।

गाउँघरको चहलपहलले विशेष सन्देश दिने गरेको थारु अगुवाहरु बताउँछन् । दशै आउनुभन्दा एक महिना अगाडिदेखि घरको लिपपोट, रंगरोगन, सिंगारपटार लगायत दशैको लागि खानपीनको व्यवस्थान समेत गरिने गरिन्छ । एक महिना अगाडिदेखि थारु गाउँघरमा नाचगान गरिनुका साथै एक आपसमा दशै पर्वको तयारी तथा नयाँ नयाँ कपडा किन्ने सिलाउने र थारु पहिचान झल्कने कपडा समेत बनाउने गरिन्छ ।

घटस्थापनाको दिनदेखि थारु बस्तीमा झनै रमाइलो सुरु हुन्छ । घटस्थापनाको दिन थारु समुदायमा पनि अरु समुदायजस्तै जमरा राख्ने र साँझादेखि रातभरि नाचगान गरिन्छ । घटस्थापनाको दिनदेखि झन रौनकताका साथ कमाउन गएका मानिसहरु आफ्नो जन्मथलो गाउँमा आगमन बढि हुन्छ । साँझ गाउघरमै एक आपसमा मिलेर उनिहरु दुख सुखका कुराहरु एक आपसमा गरेर रातभरी नाचगान मै व्यस्त हुन्छन् ।

दशैमा थारु गाउँमा जस्तो रमाईलो अरु समुदायमा कमै हुन्छ । दशैको फुलपातीको दिन थारु समुदायमा ढिक्री पुज्ने चलन समेत छ । विहानैदेखि घर आँगनमा दियो बालेर ढिक्री पुज्ने र कसै कसैको देउता अनुसार साँझ पुज्ने चलन रहेको हुनाले साँझ सवै घरआगनमा दियो बाल्ने र साना केटाकेटीहरु घरमा नयाँ कपडा लगाएर ढिक्री माग्ने चलन छ । ढिक्री पुज्ने र मागेर खाने फुलपातीको रात पनि रातभरि ढिक्री जगाउने भनेर नाचगान गरिन्छ ।

सोही राती करिव २ बजेतिरबाट हरेक घरमा रक्सी मिलाउने र रातभरि नाचगान गरेको मानिसहरु सोही मिलाएको रक्सी पिउने र नाच्ने गर्दछन् । फुलपातीको भोलिपल्ट महाअष्टमी (पित्तरवा दिन) को दिन थारु समुदायका मानिसहरु विहानै नुहाई धुवाई गरी दिउसैदेखि नाचगान गर्न थाल्छन् । पुरुषहरु नाचगान गर्ने र महिलाहरुले एक बर्ष राखेको देउतालाई ढकियामा राखेर नजिकैको जंगल, चौराहा वा कुनै खोलानाला नदिमा गएर बगाउने गर्दछन् ।

पित्तरवाको दिन उनिहरु गाउँबाटै पुरुषलाई महिलाको पहिरनमा सजाएर बाटैबाटो नचाउदै देउता फाल्ने ठाउँसम्म पुग्ने गर्दछन् । नाच्दै जाने त्यही दिन गाउँभरिका मानिस जम्मा भएर नाच्ने गर्दछन र जुन ठाउँ फाल्ने हो त्यही ठाउँमा महिलाहरुले लगेको दारु, मासु, तरकारी सवैलाई बाड्ने र खाने समेत गर्ने गरेको थारु अगुवा लहानु थारुले बताउनुभयो ।

पित्तरवा फालेर फर्किदा घरघरमा नाच्दै आफ्नो गाउँमा आई नाच्ने गरेको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयाका बडघर बुधराम थारुले बताउनुभयो । पित्तरवाको दिन गाउँको हरेक घरमा गएर नाच्ने र दारु खाने परम्परा रहेको बडघर थारुले बताउनुभयो । महाअष्टमीको भोलिपल्ट महानवमीको दिन थारु समुदायका बुद्धिजिवी थारु अगुवाहरुले नयाँ देउता राख्ने र छाक चढाउने गर्दछन् ।

थारु समुदायको विवाहमा जन्दोलमा लग्दा घुमाउने ठाउँ (मर्वा) मा राखिएको देउतालाई लिपपोट समेत गर्ने गरिन्छ । सोही दिन पनि एक आपसमा मेलमिलाप गरी उनिहरुले नाचगान गर्ने सल्लाह गरी गाउँको अगुवा वा बडघरको घरमा नाचगान गर्ने चलन रहेको अगुवाहरु बताउछन् ।

यस्तै विजयादशमी (टिका) को दिन थारु समुदायका मानिसहरुले घटस्थापनामा राखेको जमरा र टिका बनाई अग्रज (घरमुल) को घरमा जम्मा भई टीका थाप्ने चलन रहेको थारु अगुवा तथा ठाकुरवावा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले बताउनुभयो । परम्परागत चलिआएको चाड दशैमा अरु समुदाय भन्दा अलि फरक हुने उहाँले बताउनुभयो ।

दशैको अवसरमा गाउँ स्तरिय खेलकुद प्रतियोगिताको समेत आयोजना गरिने गरेको उहाँले बताउनुभयो । दशै सकेको १ महिनासम्म थारु बस्ती गाउँमा सखिया, हुरदुङवा, छोक्रा, मयुर, लठठहवा लगायत विभिन्नखाले नाचगान जारी रहने थारु बुद्धिजिवीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया