सेतो रङ्गलाई प्राकृतिक रङ भनिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृत्रिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृत्रिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी भएको छ । चाडपर्वमा विभिन्न रङ्गीविरङ्गी चिजवस्तुको निर्माण र खपत हुनेगर्छ । यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ पनि विभिन्न रङ मिसाएर बनाउने प्रचलन शुरुभएको छ । नेपाली समाजमा अधिकांशले रातो रङको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् । प्राकृतिक सेतो रङकै टीका ग्रहण गर्दछन् । थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । चामलको पीठोको टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् । अरुबेला दौनाबेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैंमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । थारु समुदायका सदस्यले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार (बुद्धिको स्रोत), पाखुरा (ताकतको स्रोत), घुँडा (शरीरको महत्वपूर्ण अङ्ग) र पैतला (शरीरको भरथेग) बलियो होस् भन्ने मनोकामना गरिन्छ ।
सेतो नै किन ?
थारु बुद्धिजिवीहरुले थारु समुदायलाई प्रकृतिपूजक मान्छन् । प्रकृतिसँग लडीबुडीगर्दै हुर्केबढेकाले परापूर्वकालमा रङको उत्पादन नहुँदा सेतो रङमै लहसिए । त्यही रङको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै छ । थारु संस्कृतिकका जानकार अशोक थारुले सेतो टीकाबारे भन्नुहुन्छ, “प्रकृति र आदिमजातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारुहरुको प्यारो रङ सेतो नै बन्यो । देवीदेवताको पूजागर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारुको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारुलगायतका आदिबासीहरु सेतो रङको टीका प्रयोग गर्दछन् ।”
अर्का अगुवा तथा संस्कृतिका अनुसन्धानकर्ता सुशील थारुको भनाइमा सेतो रङ शान्तिको प्रतीक हो । थारु जाति शान्तिकामी जाती हो । लडाई झगडा र छलछाममा विश्वास नगर्ने समुदाय हो । प्राचीनकालदेखि थारु जातिले आफ्नो देवीदेवतालाई गाईको दुधले पूजागर्ने गर्दथे । गाईको दुध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन बन्यो । देवताका लागि गाईको दुध र स्वच्छ पानी सबैभन्दा पवित्र मानिने हुनाले थारुले त्यसको उपयोग गर्दैआए । त्यसैको प्रभाव चाडपर्वमा थारु समुदायले सेतो टीकाको प्रचलन चलाए ।
उसो त सेतो रङलाई शान्तिको प्रतिक पनि मानिन्छ । गौतमबुद्धलाई थारु अगुवाले थारु परिवारकै सदस्य मान्छन् । त्यही भएर गौतमबुद्धले शान्तिकामी अभियानको अगुवाई गरेको कतिपयको विश्लेषण पनि छ ।
लेखकः लक्की चौधरी
पहिरन र परिकार सेतै
थारु चेलीबेटीले सेतो रङको फरिया र गुन्यू लगाउने गर्छन् । चोली रंगीन हुने गरेपनि फरिया सेतो नै पहिरिने उहिल्यैदेखिको प्रचलन हो । दशैंमा नाचिने विशेषनाच सखियामा समेत नचनियाहरुले सेतो फरिया र गुन्यू प्रयोग गर्छन् । आजभोलिका युवतिहरुले पुरानो संस्कारलाई खासै महत्व नदिएर पश्चिमा संस्कृतिको अनुशरण बढी गरेको देखिन्छ । अरु समुदायको देखासिकी गरेर रंगीविरंगी पहिरन लगाउन थालिएको छ । यद्यपि गाउँघरका अगुवाले अझै थारु सेतो पहिरनमै विशेष जोड दिनेगरेका छन् । सम्भवः भएसम्म सेतो फरियामै नचनियाहरुलाई सजाएर नचाउने गरिन्छ ।
दशैंमा नभइनहुने परिकार हो ढीक्रि । घरका सदस्यले परिकार खानुभन्दा पहिले देवीदेवतालाई चढाउने प्रचलन छ । पितृ, देवतालाई पूजा गरिसकेपछि मात्र प्रसादकोरुपमा त्यसलाई ग्रहण गरिन्छ । दशैंमा ढीक्रि परिकार नयाँ चामलले मात्र तयार पारिन्छ । दशैंमा बनाउने ढीक्रिका लागि चाँडै फल्ने धान रोपिन्छ । सबैको घरमा नयाँ चामल उपलब्ध नभए सापटी, पैंचो मागेर पनि काम चलाउने प्रचलन थारु गाउँमा छ । थारु समुदायको देवीदेवता पनि काठ, फलाम र माटोले निर्माण गरिन्छन् । मैया (भगवती), शिव पार्वती, घोडाको आकारसमेत काठ र माटाले निर्माण गरिएका हुन्छन् । त्यसैले थारु समुदायले आफूलाई प्रकृतिपूजक मान्छन् ।
दशैंमा बली दिइदैन
थारु समुदायमा जीवजनावरको बध गरेर देवतालाई बली चढाइदैन । आफ्नै घरबारीमै फलेको कुपिण्डोको बलीदिने प्रचलन छ । दशैंको पूजा गर्नुअघि बारीमा फलेको कुपिण्डो खाने प्रचलन थारु समुदायमा छैन । पूजा गरेपछि मात्रै तरकारीकोरुपमा खाइन्छ । तर अरुको देखासिकीमा अहिले कुखुरासम्मको बली चढाउने प्रचलन यदाकदा छ । थारु समुदायले दशैंलाई सम्बन्ध जोड्ने संगमकोरुपमा लिन्छन् । दशैंपूजा प्रकृतिसँग जोडिएको छ । धर्मशास्त्रको विचारमा पृथ्वीका सबै जीवजन्तु बरावर हुन् । सबैको पीडा र दुःख समान छ । एकले अर्कोलाई मारेर, बधगरेर आफ्नो स्वार्थ पूरागर्नु सेवा होइन, कल्याण होइन । मानवले बनाएको यो त स्वार्थीभावना र विकृत चलन हो । त्यसले कहिल्यै चराचरजगतको कल्याण गर्दैन । शक्तिस्वरुपा जगतमाताले बली मागेकी थिइनन् । मानिसको स्वार्थ र अज्ञानताले बलीदिने प्रचलन शुरु भयो । यसको दोसी हामी मानव स्वयम् हौं । शास्त्रीय मान्यतामा ‘बली’ को अर्थ ‘उपहार’ हुन्छ । उपहारमा खीर, फलफूल, मिठाई, नरिवल, ढिक्री जेपनि हुनसक्छ ।
भगवानको पूजागर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार देवतालाई चढाउन हक राख्छ । उहिले मानिस जंगलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवन गुजारा गर्दथे । त्यतिबेला उनीहरुसँग भगवानलाई चढाउने आजकोजस्तो चिजवस्तु थिएन । त्यसैले उनीहरु आफूसँग भएको सामान चढाएर देवताको पूजापाठ शुरु गरे । उनीहरुको जीवन प्रकृतिमै निर्भर थियो । माछामारेर जीवन धान्नेसँग माछामात्रै थियो । वनजंगलमा शिकार गर्नेसँग शिकार मात्रै र अन्न उब्जाउने किसानसँग अन्नमात्रै थियो । त्यसैले उनीहरु भगवानलाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गरे । तर त्यसैलाई आधार मानी देवीदेवतालाई बली चढाउने प्रचलन मानवीय अज्ञानताको रुपमा कतिपयले अथ्र्याउँछन् ।
सखियाको रौनक
थारु सखियानाच थारु समुदायको प्रमुख नाच मध्येको हो । थारु चेलीहरुले लहरै लाइन लागेर मादलको तालमा नाच्ने गर्छन् । सखिया नाचमा विशेष किसिमको थारुगीत गाइन्छ । सखीया नाचको गीत महाभारतको कथामा आधारित पैधारको छ । त्यसैले कृष्णजन्माष्टमीदेखि गाउन शुरुहुने गीत दशैं या तिहारमा गएर अन्त्य हुन्छ । नाचका लागि कम्तिमा दुई र वढीमा चार जनासम्म मादले हुन्छन् । मादले पुरुष र महिला दुवै हुनसक्छन् । तर नाच्नेहरु महिला मात्र हुन्छन् । गीत गाउँदा अगुनिया (गीत उठाउने) र उठाएको गीतलाई दोहो¥याएर गाउने (पछगुनिया) हुन्छन् । मादलकै तालसँग गीत पनि गाइन्छ । सखिया नाच नभएको थारुगाउँ सुनसान हुने र दशैं चाडको महशुस नहुने बुझाई थारु अगुवाको छ । त्यसैले हरेक वर्ष थारु गाउँमा सखिया नाच नाचिन्छ । नाचले थारुगाउँ गुञ्जयमान हुँदा दशैंको रौनक नै बेग्लै बन्छ । थारु गाउँमा नाच हेर्न छिमेकी गाउँका थारु र गैरथारुहरु आउने गर्छन् ।
थारुको देवीदेवता
गुर्वावा (शीव) लाई सृष्टिकर्ताको रुपमा मानिन्छ । मैया (भगवती), खेखरी (मैया), लागुबासु (नागदेवता), सौंरा (गणेश), डहरचण्डी (पार्वती), लटौ महादेव, ढमरज्वा (धर्मराज), मुराहा देवता (कृष्ण), जगन्नठ्या, धनचोर्वा, घोडा र भेडाको आकारको देवताको प्रतिक पनि थारुको मर्वा (देवता बस्ने घर), देहुरारको पातामा राख्ने प्रचलन छ । थारु गाउँको देवताहरु साझारुपमा बस्ने ठाउँलाई रजमर्वा भनिन्छ । जहाँ गाउँभरिका सदस्यले दशैंमा सामुहिकरुपमा पितृपूजा गर्छन् । धुपबत्ती, ढिक्री आदिलाई प्रसादकोरुपमा चढाईन्छ । साझा देवतालाई पूजागर्दा सबैचिज नयाँ र चोखो चाहिन्छ । दशैंमा चढाइएको सामान बेटको लठ्ठी, बहर्नी (सिरुको कुचो), झोला, फलामको काँटा, माटाका घोडा, दियो, भित्तामा लगाउने पञ्जाको छाप एक वर्षसम्म कायम रहन्छ । अर्को दशैंमा मात्र परिवर्तन हुन्छ । पुनश्चः यो दशैंको महिमा पश्चिमा थारु समुदायमा आधारित छ । पूर्वका थारु समुदायले दशैंलाई यसरी भव्यताकासाथ मनाएको देखिएको छैन ।