थारु गाउँघरमा दशैंको रौनक, आज ढीक्रहुवा भोली मुर्गेहुवा र पर्सी टीका


लक्की चौधरी
काठमाडौं, असोज ३१ गते । हिन्दूहरुको महान पर्व दशैंको रमझम शुरुभएको छ । दशैं मनाउने सबै समुदायले मंगलबार घरमा फूलपाती भित्र्याए पनि थारु समुदायका सदस्यले भने ढिक्री बनाउने सरसामानको सरसफाई पैनस्टोपी धुने काम गरे ।

थारु समुदायले मुख्य तीन दिन दशैं (दशिया) मान्ने गर्छन् । जसअनुसार फूलपाती (सप्तमी) का दिन पैनस्टोपी धुने, अष्टमीका दिन ढिक्री बनाएर साँझ कुलदेवतालाई चढाउने, नवमीका दिन कुपिण्डो काट्ने या मुर्गा काटेर मुर्गेहुवा मनाउने र दशमीका दिन सेता टीका लगाएर पूर्खाबाट आशीर्वाद थाप्ने गर्छन् ।

ढीक्री परिकारलाई प्रसादकोरुपमा खान दिने चलन छ । घरको देवताको पूजा गरेर देवतालाई प्रसादको रुपमा चढाईसकेपछि सर्वसाधारण, घरका सदस्यलाई नयाँ चामलको पीठोबाट बनाइएको ढिक्री अरुलाई प्रसादको रुपमा खान दिने प्रचलन छ । सो दिन घरगुरुवाले गुरै खेल्ने काम गर्छन् । थारु गाउँमा सो दिन रातभरी सखिया र झुम्रा नाच नाचिन्छ ।

त्यस्तै, नवमी अर्थात् मुर्गेहुवाका दिन पितृको पूजा गर्ने गरिन्छ । सो दिन मीठा परिकार बनाएर सामुहिक रुपमा देवथानमा गएर पूजागर्ने र आफ्ना पितृहरुलाई सामुहिक रुपमा खान आव्हान गर्ने गर्छन् । सो दिन दिनभरी गाउँमा सखिया र झुम्रा नाच नाचिन्छ ।

सोहीअनुसार दशमी अर्थात् टीकाका दिन विहानैदेखि थारु समुदायले आफ्ना पूर्खा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिने गर्छन् । थारुहरु दशैंमा चामलको पीठाबाट बनाइएको सेतो टीका ग्रहण गर्छन् । टीकासँगै बेबुरी र दौना फूल कान र शीरमा पहिरिने प्रचलन छ । टीका लगाउँदा पैतला, घुँडा,पाखुरा र निधारमा टीका लगाउने थारु समुदायमा प्रचलन छ ।

थारु गाउँघरमा मंगलबार विहानै ढिक्री पार्ने सरसामान धोइ पखाली घाममा सुकाइएको छ । पैनस्टोपी, सुप्पो, भाँडा, आवश्यक सबै सामानलाई धोई पखाली सफा सुग्घर पारेर घाममा सुकाउने काम थारुहरुले गर्दछन् । त्यसरी सुकाउँदा भाँडा तथा अन्य सरसामान चोखो हुने विश्वास छ ।

दशैंमा बनाइने ढीक्रिका लागि अनिवार्य नयाँ चामलको पीठो चाहिन्छ । नयाँ चामलको पीठो बाट बनेको ढीक्रि कुलदेवतालाई चढाएर नयाँ धानको प्रयोग दशैंबाट शुरु गरिन्छ । आफ्नो घरमा नयाँ चामल नभए अरुबाट पैंचो मागेर भएपनि सो दिन काम चलाउने प्रचलन थारु गाउँमा छ । थारुहरु पहिले प्रायः कुखुराको बली कुलदेवतालाई चढाउने गरे पनि अहिले धेरैले कुपिण्डोको बली चढाउँछन् ।

दशैंमा थारु समुदायले आफन्तलाई मीठो खुवाउने र आफू पनि खाने गर्छन् । कैलाली र कञ्चनपुरमा बासोबास गर्ने रानाथारु समुदायले भने दशैंलाई खासै महत्वकासाथ मनाउँदैनन् । त्यसैगरी पूर्वका थारुले पनि पश्चिमा डंगौरा थारुको अनुपातमा दशैंलाई कम मनाउँछन् ।

तपाईको प्रतिक्रिया