थारु पहिचान स्थापित गर्नमा रामधुनीका थारु समुदायको भूमिका महत्वपूर्ण


सुनिल चौधरी
झुम्का, कात्तिक ३ गते । सुनसरीमा रामधुनी नगरपालिका अन्तर्गतका थारु समुदायले थारुको पहिचानका निम्ति जनचेतना बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख जयप्रकास चौधरीले बताउनु भएको छ ।

थारु कल्याणकारिणी सभा (थाकस) भासि कार्यसमितिले दशैंको अवसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगीता तथा शुभकामना आदान प्रदान कार्यक्रममा मेयर चौधरीले सो धारणा राख्नुभएको थियो । यस क्षेत्रमा थारुहरुको पौराणिक बस्ति र झुम्का बजार स्थापित लगायत हरेक क्षेत्रमा नेतृत्व लिएर अगाडी बढि रहेकोमा उहाँले प्रसंशा गर्नुभयो ।

पहिले देखिनै थारुहरु सक्रियतापुर्वक भादगाउँ सिनुवारी, डुम्राहा, बक्लौरी, सिंगीयामा कला संस्कृतिको प्रदर्शन तथा प्रस्तुति गर्दै आइरहेका छन् । धार्मिक, सांस्कृतिक, खेलकुद, सञ्चार, पहिचानका दृष्टिले थाहरुकै अग्रणीय भुमिका रहेको उहाँले बताउनुभयो । थारु संस्कार अनुसार आजमात्र हैन झुम्काबजार बसाउनु पुर्व देखिनै बिभिन्न कार्यक्रम गर्दै आइरहेकोले रामधुनीका संस्थापक नै थारु समुदाय भएको मेयर चौधरीले बताउनु भयो ।

दानालाल चौधरीको अगुवाईमा यस भासि क्षेत्रको बिकासमा अहम योगदान रहेको स्मरण गर्दै मेयर चौधरीले भन्नुभयो, झुम्का बजार बसाउनु थारुहरुकै योगदान रहेकोले ईतिहासले पनि प्रष्टपारेको छ । हाल थारु महिलाहरुले आफनो संस्कार अनुसार प्रत्येक वडामा बिभिन्न कार्यक्रमहरु गर्दै आएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

थारुहरुकै जग्गादानले बिजबृदि कृषि फारममा अवस्थित रहेकोले योगदानको हिसाबले पनि थारु समुदाय अगाडि रहेको बताउनुभयो । कृषि फारम १ सय २० बिगाहमा फैलिएको छ । यसलाई कृषि अध्ययन गर्ने स्थलको रुपमा बिकास गर्नुपर्ने समेत उहाँले बताउनु भयो ।

त्यसैगरी रामधुनी क्षेत्रमा राजनीतिक क्षेत्रमा पहिलो योगदान थारुहरुकै रहेको बताउदै बक्लौरीबाट पर्शुनारायण चौधरी, भासिबाट नरेन्द्र चौधरीले महत्वपुर्ण योगदान दिनुभएको धारणा राख्नुभयो । पञ्चायती ब्यवस्थामा पनि प्रधानपञ्च हुदै नेतृत्वमा थारुहरु नै यस क्षेत्रमा रहेका थिए । अहिलेपनि नेतृत्वमा थारुहरु नै रहेकाले रामधुनीका पहिलो नागरीक थारु भएको मेयर चौधरीले तर्क गर्नुभयो ।

तपाईको प्रतिक्रिया