राजनीतिक वितृष्णाको अन्तर्य !

राजनीतिक विश्लेषण

लक्की चौधरी

विकिपिडियाले भन्छ, “राजनीतिक दल एउटा राजनीतिक संस्था (पोलिटिकल अर्गनाइजेशन) हो, जो शासनमा राजनीतिक शक्ति प्राप्त गर्ने र त्यसलाई निरन्तर कायम गर्ने प्रयत्न गर्दछ । राजनीतिक दलहरुको आफ्नो सिद्धान्त वा लक्ष्य हुन्छन्, जुन प्रायः लिखित दस्तावेजको रुपमा रहन्छ ।” हाम्रा राजनीतिक दल प्रायः सबैले दर्ता प्रक्रियामा जाँदा पार्टीको स्पष्ट सिद्धान्त, दर्शन, उद्देश्य, नीति, योजना, देश र जनताको भलाईमा लक्षित रहने कबोल गरेका छन् । तर व्यवहारमा परिणाम देखाउन सकेका छैनन् । सत्तामा नपुग्दासम्म नागरिकका नाकैसामु उभिएर ठूलठूला कुरा फलाक्छन्, सत्तामा पुगेपछि तिनै नागरिकलाई फर्केर हेर्दैनन् । यो राजनीतिक बोइमानी हो । यही कारण हो, युवा जमातको ठूलो पङ्तिलाई नेपाली राजनीतिदेखि वितृष्णा बढ्दैगएको छ । राजनीतिक कार्यकर्ता भन्दा नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएको छ । दुईचार जनाको भीडमा आफू कुनै अमुक दलको कार्यकर्ता भन्न हिच्किचाहट भइरहेको छ । यसमा जिम्मेवार को ? दल हाँक्ने नेता या राजनीतिक दल ? निसन्देह ! दललाई हाँक्ने नेताहरुले हो भने सारा जिम्मेवारी र नागरिकप्रतिको जवाफदेहिता नेताकै हो ।

दुईचार जनाको भीडमा आफू कुनै अमुक दलको कार्यकर्ता भन्न हिच्किचाहट भइरहेको छ । यसमा जिम्मेवार को ? दल हाँक्ने नेता या राजनीतिक दल ? निसन्देह ! दललाई हाँक्ने नेताहरुले हो भने सारा जिम्मेवारी र नागरिकप्रतिको जवाफदेहिता नेताकै हो ।

उसो त राजनीतिक सिद्धान्त र राजनीतिक दर्शन दुई फरक विषय हुन् । हामीले सरसर्ती राजनीतिक सिद्धान्तका कुरागर्दा राजनीतिका विभिन्न पक्षको अध्ययन गर्ने पद्धति भन्न सक्छौं । सिद्धान्त प्रायः व्यक्तिसँग जोडिएको हुन्छ । कसैले प्रतिपादन गरिदिएको सिद्धान्त । सिद्धान्तमातर्कपूर्ण ढंगले, कुशलतापूर्वक ज्ञानको बहस त गरिन्छ तर त्यो साध्य हुँदैन । मानव जीवनको सम्बन्ध सरकार, राज्य र समाजको स्वरुपसँग तालमेल पनि गराइन्छ । मानिसको सार्वजनिक जीवनको पहिचान गरी त्यसको समाधानका लागि तल्लिन रहनु । तर्क र शक्तिको आधारमा जनताको समस्या समाधानका लागि सदैव लाग्ने नीति नै सिद्धान्त हो भनेर व्याख्या गर्न सकिन्छ । सिद्धान्त सतही हुन्छ । तर दर्शन जीवनको सबै पाटोलाई समेट्छ । राजनीतिक दर्शन सिद्धान्तभन्दा भिन्न हुन्छ । राजनीति, न्याय, अधिकार, सम्पत्ति, ऐन कानून, नागरिकको स्वतन्त्रता र शासनबाटै कानूनको लागु गर्ने यावत विषयको विस्तृत अध्ययन दर्शनमा गरिन्छ । प्राचीनकालमा सबै चिन्तनहरु दर्शन अन्तर्गत गरिन्थ्यो । नागरिकले सिक्ने र ग्रहण गर्ने सबै विद्या, शिक्षा दर्शन अन्तर्गत पर्थे । दर्शनमा सत्य र ज्ञानको खोजी गरिन्छ । राजनीतिक विषयमा गरिएको खोजीलाई राजनीतिक दर्शन भनिन्छ । राजनीतिक सिद्धान्त, राजनीतिक दर्शनको एउटा हिस्सा हो तर राजनीतिक दर्शन राजनीतिक सिद्धान्तको हिस्सा होइन । दर्शनमा सिद्धान्त नभए पनि फरक पर्दैन ।

हाम्रा दलका आ–आफ्नै सिद्धान्त छन् । चाहे त्यो जनताको बहुदलीय जनवाद होस्, एक्काइसौं शताब्दीको नौलो जनवाद् या प्रजातान्त्रिक समाजवाद । दलका नेताहरुले त्यही सिद्धान्तको फेरो समातेर राजनीति गरिरहेका छन् । जनतालाई सिद्धान्तको पाठ पढाउँदा दुवै सिद्धान्त देश र जनताको भलाईमा केन्द्रीत छन् । न्यायपूर्ण समाजको सिर्जना, सुशासन, सदाचार, स्वतन्त्रता, समतामूलक समाजको निर्माण गर्ने लक्ष्य लिइएका छन् । तर त्यसको व्यवहारिक पाटा एकदम कमजोर छन् । कारण, दस्तावेजमा सिद्धान्त राम्रा छन्, नेताका व्यवहमारमा खोट छन् । अर्थात् सिधै अर्थ लाग्नेगरी भन्दा सिद्धान्तलाई व्यक्तिको स्वार्थरुपी पोखरीले चुर्लुम्मै डुवाइदिएको छ । नेताको स्वार्थ पूरा गर्ने बेलामा सिद्धान्तरुपी पर्खालले छेक्न सकिरहेको छैन । त्यसको उदाहरण त हामीले हाम्रो राजनीतिमा देख्दै भोग्दै आएका छौं । नेताको भलाई हुने हो भने जो जससँग सहकार्य र सम्बन्ध बनाउन पछि पर्दैनन् । गत स्थानीय निर्वाचनमा पनि हामीले देखेकै हो । नेताहरुको आफ्नो स्वार्थअनुकुल निर्वाचन जित्न सिद्धान्तै नमिल्ने दलसँग सहकार्य र गठबन्धन गरेका थिए । यसो भनिरहँदा हाम्रा नेताहरुले ‘राजनीतिमा जे पनि सम्भव छ’ तर्क गर्छन् । तर राजनीतिको पनि न्यूनतम नैतिकता, इमान र मापदण्ड त हुन्छ नै । त्यो व्यक्तिको आचरणले पुष्टि गर्दै जानुपर्छ ।

उसो त राजनीतिलाई फोहोरी खेलको संज्ञा दिने गरिन्छ । राजनीतिमा एकले अर्कालाई पछार्ने, दाउपेच गर्ने, झुठ बोल्ने, अरुलाई झुक्याउनेजस्ता खेल खेलिन्छ । त्यसो नगर्दा आफू अगाडिको बाटो खुल्दैन र सत्तामा पुग्न सकिदैन भन्ने मान्यता राख्ने गरिन्छ । हामीले महाभारत र रामायण हेर्दा र पढ्दा पनि त्यसको अनुभूति गर्न सक्छौं । तर सो खेल देश र जनतामा केन्द्रीत हुनुपर्छ । आफू हार्दा जनता हार्ने हुनुहुन्न । आफू जित्दा जनता र देश जित्ने हुनुपर्छ । त्यसो भयो भनेमात्र राजनीतिको सार्थकता रहन्छ । राजनीति व्यक्तिमा केन्द्रीत होइन, देश र जनतामा केन्द्रीत हुनुपर्छ । देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डतालाई दाउमा राखेर खेलिने राजनीतिक खेलको कुनै अर्थ रहँदैन । तर हाम्रा नेताहरु आफ्नो स्वार्थ पूरा गर्न देश र जनतालाई दाउमा लगाउने गरेका छन् । आफ्नो अस्तित्वलाई देशको अस्तित्वभन्दा माथि ठान्ने गरेका छन् । मूल समस्या त्यही हो । जबसम्म स्वार्थअनुकुल राजनीति कायम रहन्छ, तवसम्म देशको भलाई सम्भव छैन । देशको विकास र समृद्धि नेताको चरित्रमा अडेको छ । चरित्र सुधार भयो भने देशको विकासको शुरुवात त्यहीबाट हुन्छ । राजनीतिमा भ्रष्टाचार, अनियमित्ता मौलाएकै कारण कर्मचारी, संघ संस्था, नागरिकमा त्यसको छाप पर्नेगरेको छ । सत्तामा बस्ने राजनीतिक दलका नेताहरुले आफूलाई सुधार गरे भने मुहान सङ्लो हुन्छ । मुहान सङ्लो भयो भने त्यसमा बग्ने पानी पनि कञ्चन हुन्छ ।

राजनीति व्यक्तिमा केन्द्रीत होइन, देश र जनतामा केन्द्रीत हुनुपर्छ । देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डतालाई दाउमा राखेर खेलिने राजनीतिक खेलको कुनै अर्थ रहँदैन ।

भर्खर गत आइतबार (डिसेम्बर ९) हामीले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएका छौं । “भ्रष्टाचार विरुद्धको सहकार्यः सुशासनका लागि अपरिहार्य” नारा तय गरिएको थियो । नाराअनुसार भ्रष्टाचारलाई शुन्य बनाउने सहकार्य हामी गर्ने कि नगर्ने ?भ्रष्टाचार गर्छु कोही भन्दैन, तर सबैले सानो ठूलो भ्रष्टाचार गर्न अग्रसर भैरहेकै छ । यो महारोगबाट छुटकारा कसरी पाउने ? सबैको जिज्ञासा छ । तर निराकरणको उपाय कसैले अपनाउन तयार हुँदैन । कारण, मन नै लोभी र पापी छ । धन देखेपछि महादेवका त तीन नेत्र हुन्छन् भन्ने उखानलाई जोड्ने गरिन्छ । भ्रष्टाचार आफै थोपिरिने चिज होइन । मानिसको नियत र चरित्रसँग जोडिएको विषय हो । व्यक्ति आफू सफा छ, उसको मन र चरित्र सफा छ भने भ्रष्टाचार हुँदै हुँदैन । तर शासन सत्तामा हुनेहरुले जतिसुकै ठूला र चर्का कुरा गरे पनि भ्रष्टाचार गरिरहेकै छन् । भ्रष्टाचार समृद्धिको प्रमुख बाधक हो । यसले व्यक्ति मोटाउँछ तर देश सखाप हुन्छ । देशको अर्थतन्त्रलाई उडुस र उपियाँसरी दिनरात चुस्ने प्रबृत्तिको अन्त्य नहुँदासम्म सरकारले हाल तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकतापाउँदैन । भ्रष्टाचार नगर्ने पदलकदमी नेतृत्वतहबाटै शुरु हुनुपर्छ ।

भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको वक्तव्य स्मरणयोग्य छ । “भ्रष्टाचार बुद्धिजिवीले नै गर्छन्, सामान्य मानिसलाई त भ्रष्टाचार के हो थाहैपाउँदैनन् ।” हो, देशको शासन व्यवस्थामा पुग्ने पनि बुद्धिजीवि नै हुन् । सामान्य, अनपढ, सिधा मानिस शासनको बागडोर सम्हाल्ने न हैसियत राख्छन् न कुनै अवसर पाउँछन् । प्रधानमन्त्रीले भन्नुभएको विषय सान्दर्भिक र तथ्यपरक छ । उहाँले भ्रष्टाचार आफू पनि गर्दिन र अरुलाई गरेको पनि सहँदैन भन्नुभएको छ । कार्यान्वयनको अपेक्षा नागरिकको हो । त्यसकालागि उहाँले आफ्नै नेतृत्वकालमा गरेर देखाउनु  पर्छ । यो उहाँकालागि अवसर र चुनौति दुवै हो । इतिहासमा विरलै पाइने अवसर प्रधानमन्त्री ओलीलाई मिलेको छ । दुई तिहाई नजिकको सरकार छ । नीति निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने हैसियत प्राप्त छ । यस्ता अवसर पटक पटक आउँदैन । अवसर आएकैबेला गरेर देखाउने हो भने त्यो आउने पीढिकालागि पनि मार्गदर्शन बन्छ । देश बनाउने उहाँको अठोट पूरा हुन्छ र इतिहासमा उहाँको नाम स्वर्णीम अक्षरले लेखिने छ । त्यससँगै राजनीतिप्रतिको युवा जमातको वितृष्णा अन्त्य हुन्छ ।

तपाईको प्रतिक्रिया