दाङमा हुने थारु राष्ट्रिय युवा भेला शुरु नहुँदै विवादमा

थारु कल्याणकारिणीसभा सहभागी नहुने


SAM_6730लक्की चौधरी

काठमाडौं, मंसिर १६ गते । मंसिर १८ देखि २० गतेसम्म दाङ्मा हुन गइरहेको राष्ट्रिय थारु युवा भेला शुरु नहुँदै विवादमा तानिएको छ । थारु एराउण्ड द वल्ड नामक संस्थाको मुख्य आयोजनामा हुन गइरहेको सो भेलामा थारु बसोबास रहेको तराईका जिल्लाबाट थारु युवाहरुको सहभागीता रहने बताइएकोछ ।

हरेक जिल्लाबाट ५ जनाका दरले करिब डेढदेखि दुईसय युवालाई भेलामा सहभागीता गराउने गरी तयारी गरिएको भेलामा थारु कल्याणकारिणीसभाले आफूसँग भेलाबारे आयोजकले छलफल र समन्वय नगरेको भन्दै आपत्ति जनाएको छ । सो भेलामा सभा मातहतका थारु युवा सभा, थारु महिला सभा र सभाको केन्द्रबाट संस्थागतरुपमा कोही सहभागी नहुने सभाका सचिवालय सदस्य राजकुमार लेखीले बताउनुभयो ।

Tharu

तर आयोजक संस्थाका अध्यक्ष महावीर चौधरीले भेलामा थारु नेता, सांसद, थारु कल्याणकारिणीसभाका जिल्ला तहका सबै युवाहरुको सक्रिय सहभागीता रहने दावी गर्नुभयो । संस्थागतरुपमा भेलामा सभाले पदाधिकारी र मातहतका युवालाई सहभागी हुन नदिने उर्दी गरेपनि व्यक्तिगतरुपमा जोकोही सहभागी हुन स्वतन्त्र रहेको उहाँले बताउनुभयो ।

भेलामा थारु सांसद सबैलाई आमन्त्रण गरिएको आयोजकले बताएको छ । नेकपा (एमाले) बाहेकका सबै दलका सांसदहरुबाट भेलामा प्रतिनिधित्वको प्रतिवद्धता आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पूर्वबाट सभाले आफू मातहतको युवालाई भेलामा आउनबाट रोक्ने प्रयास गरेपनि सिराह, सप्तरी, सुनसरी, मोरङ्बाट युवाहरुको सहभागिताको प्रतिवद्धता आइसकेको आयोजकले बताएको छ ।

‘भेलामा कोही सहभागीता नजनाउने विषयमा थाकसले उर्दी जारी गरेको हो ?’ भन्ने जिज्ञासामा सभाका केन्द्रीय सचिवालय सदस्य लेखीले त्यस्तो उर्दी कसैलाई नगरिएको दावी गर्नुभयो । संस्थागतरुपमा केन्द्रसँग आयोजकले छलफल नगरेकाले संस्थागतरुपमा कोही नजाने उहाँले जानकारी दिनुभयो । “व्यक्तिगतरुपमा कोही जान्छ भने ऊ स्वतन्त्र छ तर केन्द्रको निर्देशन विना संस्थाको व्यानर लिएर जान मिल्दैन” लेखीले भन्नुभयो ।

तर आयोजक संस्थाका अध्यक्ष महावीर चौधरीले दाङ् आफ्नो गृहजिल्ला भएकाले यहाँको सबै व्यवस्थापन र सुरक्षाको जिम्मा आफूले लिने बताउनुभयो । “कसैलाई सुरक्षाको चिन्ता हो भने डराउनु पर्दैन, त्यसको सबै जिम्मा म लिन्छु” उहाँले भन्नुभयो । थारुको आन्दोलनलाई थप सशक्त र उचाईमा पु¥याउन भेलाको आयोजना गर्न लागेको बताउँदै चौधरीले थारु मुद्दामा एकरुपता र युवालाई नेतृत्व दिने उद्देश्य पनि भेला महत्वपूर्ण रहेको बताउनुभयो ।

“भेलामा विजयकुमार गच्छदार, रामजनम चौधरी, राजकुमार लेखी सबैको उपस्थिति भएको भए थारुको मुद्दा एकरुपता गर्न र भएको विवाद एवं तिक्तता अन्त्यकालागि सघाउ पुग्थ्यो, हामीले सबैलाई आउन आग्रह गरेका छौं तर नआउने संकेत पनि पाएका छौं” चौधरीले भन्नुभयो । थारु युवाहरुको भेला भएकाले कुनै दल र सांसदसँग छलफल नगरिएको प्रष्टपार्दै अध्यक्ष चौधरीले थारु कल्याणकारिणी सभा केन्द्रसँग पनि संस्थागतरुपले छलफल नगरेको स्वीकार्नुभयो ।

16

“युवाको भेला भएकाले थाकस अन्तर्गतको युवा सभा, थारु विद्यार्थी समाज लगायतका संस्थासँग छलफल गरेर भेलाको आयोजना बनाएका हौं” प्रष्ट पार्दै अध्यक्ष चौधरीले भेलाका लागि आमन्त्रण भने थारु नेता तथा सांसद सबैलाई गरिएको बताउनुभयो ।

सभा अन्तर्गतको भातृसंगठन थारु युवा सभाले यसअघि भेलामा सहभागी हुने प्रतिवद्धता जनाइसकेको भएपनि लेखीकै निर्देशनमा व्याकहुने निर्णय गरेको आयोजकले आरोप लगाएको छ । थारुको साझा मुद्दामा छलफल हुने भेलामा कसैको आपत्ति नहुनु पर्ने हो तर किन संकुचित भावना राखिएको हो आफूलाई जानकारी नभएको आयोजक संस्थाका अध्यक्ष चौधरीको भनाई छ ।
थारु विद्यार्थी समाज पनि अन्यौलमाः
भेलामा सहभागी हुने भनेर प्रतिवद्धता जनाएको थारु विद्यार्थी समाज पनि आन्तरिक विवादमा अल्झिएको छ । समाजका केन्द्रीय अध्यक्ष रमेश चौधरीले भेला सुनसरीमा हुनुपर्ने भन्दै अडानमा छन् भने पूर्व अध्यक्ष शैलेन्द्र चौधरी भेलाबारे आफूले केही नबोल्ने बताउनुभयो । “आयोजकले को को सँग छलफल गरेको छ को को अतिथि जाँदैछ, कुन कुन जिल्लाबाट सहभागी हुँदैछन् मलाई जानकारी छैन” पूर्व अध्यक्ष चौधरीले बताउनुभयो ।

तर समाजका महासचिव चन्द्रप्रसाद चौधरी भने भेलामा सहभागी हुने बताउनुभयो । भेला आयोजना गर्ने छलफलमा समाजले सहभागीताको प्रतिवद्धता जनाएकाले नैतिकताले आफू भेलामा जानलागेको चौधरीले बताउनुभयो । जिल्लाबाट समाजका अन्य विद्यार्थीहरु पनि सहभागी हुने दावी चौधरीको छ । तर अध्यक्ष चौधरीले भने पूर्वबाट विद्यार्थीहरुको सहभागिता नहुने अडान लिएका छन् ।
सांसदबीच अन्यौल
आयोजकले सबै सांसदलाई भेलामा सहभागी गराउने बताए पनि सांसदहरुबीच भेलामा जाने विषयमा पनि अन्यौल छ । गोपाल दहित, गंगा चौधरी, तेजुलाल चौधरी, सुरेन्द्र चौधरी, योगेन्द्र चौधरी, सन्तराम चौधरी, मानबहादुर थारु लगायतका सांसदहरुको सहभागिता रहने भनिएको छ । तर सांसद अमनलाल मोदी थारु, रुक्मिणी चौधरीले भेलामा सहभागी हुने नहुने टुंगो नलागेको बताउनुभयो । सम्भवतः दुवैजनाको सहभागीता नरहने करिब पक्का भएको उहाँहरुको भनाई छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) अध्यक्ष समेत रहनुभएकी रुक्मिणी चौधरी थाकसको सल्लाहकार पनि हुनुहुन्छ । उहाँले आफू भेलामा जाने प्रतिवद्धता कसैसँग नगरिएको प्रष्ट पार्नुभयो । “भेलामा युवाको सहभागीता भनिएको छ म त पार्टीको अध्यक्षको हैसियतले उपस्थित हुँदैन” उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै, एमालेबाट प्रतिनिधित्व गर्ने कुनै सांसद भेलामा सहभागी नहुने बताएका छन् । यसअघि पनि थारुको कार्यक्रममा एमाले थारु सांसदहरुको खासै सहभागिता रहने गरेको छैन । तर आयोजकले सबैलाई सहभागीताकालागि आग्रह गरिएको बताएको छ । यता फोरम (लोकतान्त्रिक) का सांसद तथा स्वास्थ्य मन्त्री रामजनम चौधरी समय व्यस्तताका कारण उपस्थित नहुने बताएका छन् । सांसद जनकलाल चौधरी पनि प्राविधिक कारणले सहभागी नहुने स्रोतले बताएको छ ।
प्रमुख अतिथिमा विवादः
थारु युवा भेलामा प्रमुख अतिथि कसलाई बनाउने विषयमा पनि विवाद कायम रहेको छ । आयोजकले अतिथिकोरुपमा उपप्रधानमन्त्री तथा फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई आमन्त्रण गरेको थियो । तर गच्छदारले अतिथिकोरुपमा उपस्थित हुन अस्वीकार गरेको स्रोतले बताएको छ । प्रमुख अतिथिकोरुपमा आमन्त्रण गरिएको भए सहभागी हुने मनसाय बनाउनुभएका गच्छदारले अतिथिमात्र बनाउँदा सहभागी नहुने जनाउ दिनुभएको उहाँको पार्टी स्रोतले बताएको छ ।

अतिथिका लागि सोही पार्टीका सांसद योगेन्द्र चौधरीले अध्यक्ष गच्छदारसँग आग्रह गर्नुभएको थियो तर गच्छदारले स्वीकार नगरेको बताइएको छ । गच्छदारका लागि तयार गरिएको चिठी गच्छदारले बुझ्न अस्वीकार गर्नुभएपछि सो चिठी वर्दियाली विद्यार्थी मञ्चका अध्यक्ष सीताराम चौधरीसँग रहेको आयोजकले बताएको छ । सोही पार्टीका विद्यार्थी नेता शैलेन्द्र चौधरीले अध्यक्ष गच्छदार भेलामा सहभागी नहुने प्रष्ट पार्नुभयो ।

वर्दियाली विद्यार्थी मञ्चका अध्यक्ष सीताराम चौधरीले प्रमुख अतिथिको चिठी तयार नभएका कारण गच्छदारले चिठी बुझ्न अस्वीकार गरेको बताउनुभयो । “अतिथिको व्यहोरा खुलाएको चिठी अहिले मेरो हातमा छ, गच्छदारले बुझ्न अस्वीकार गर्नुभयो” चौधरीले भन्नुभयो ।
सांसदहरुको निर्णयः
बुधबार सिंहदरवारस्थित फोरम (लोकतान्त्रिक) को संसदीयदलको कार्यलयमा बसेको सांसदहरुको बैठकले सरकारी वार्ता टोलीसँग वार्तागर्न सांसद सहितको संघर्ष समितिको टोली वार्तामा नजाने तर प्रचण्ड नेतृत्वको उच्चस्तरीय समितिको वार्तामा भने जाने निर्णय गरेको छ । सरकारसँग वार्तामा जाने अवस्था आए सांसदबाहेकको टोली वार्तामा जाने सांसद गोपाल दहितले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने भेलामा थारुको मुद्दा, सिमाङ्कनको विषय र आन्दोलनलाई थप सशख्त बनाउने विषयमा छलफल हुने आयोजकले जानकारी दिएको छ । भेलामा सांसद तथा थारु बुद्धिजिवीले युवाहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पूर्वबाट युवाहरुको सहभागीता कमहुने सम्भावना देखिएपछि चित्तवन पश्चिमका जिल्लाबाट युवाको सहभागीता बढाउने तयारी भएको आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया