सांसद रेशम चौधरीलाई संसद बैठकमा सहभागी गराउन थाकसको माग


काठमाडौं, पुस २२ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि भारी मतले निर्वाचित सांसद रेशम चौधरीलाई संसद बैठकमा सहभागी गराउन सरकारसँग माग गरेको छ । शपथ ग्रहणलाई थाकसले सकारात्मकरुपमा लिंदै सो माग गरेको हो ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीले आइतबार विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् । ३४ हजार ३४१ मत ल्याएर निर्वाचित सांसदलाई लोगो लगाएरै जेलमा कोचिनु खेदयुक्त रहेको थाकसले भनेको छ । शान्तिपूर्णरुपमा अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिकरुपै निरुपण गर्नुपर्ने थाकसको भनाई रहेको छ ।

सरकारको निर्देशनमा सभामुख कृष्णबहादुर महराले पुस १९ गते सांसद चौधरीलाई संसद सचिवालय सिंहदरवारमा पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । शपथ लगत्तै पुनः चौधरीलाई डिल्लीबजारस्थित सदरखोरमा लगिएको थियो ।

थरुहट आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहाई गर्न र झुठा मुद्दा खारेज गरी वातावरण अनुकुल बनाउन पनि थाकसले सरकारसँग माग गरेको    छ । त्यस्तै, संविधान संशोधन गरी थहरुट आन्दोलनको माग मुद्दा सम्बोधन गर्न पनि थाकसले आग्रह गरेको छ ।

महामन्त्री चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “सरकाले थरुहट आन्दोलनको माग मुद्दाहरुलाई सकारात्मरुपमा लिदै संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न र टीकापुर घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश श्री ग्रीसचन्द्र लालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दछौं । हाम्रो मागलाई सरकारले नजरअन्दाज गरी बेवास्ता गरे कडा मूल्य चुकाउने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत अवगत गराउन चाहन्छौं ।

हेर्नुहोस विज्ञप्तीको पूर्णपाठ

तपाईको प्रतिक्रिया