माघी पर्व सकिएसँगै थारु समुदायमा नेतृत्व चयनको बढ्यो चटारो


कञ्चनपुर, माघ ४ गते । माघी पर्व सकिएसँगै थारु समुदायलाई गाउँको नेतृत्व चयन गर्ने चटारो बढेको छ । एक वर्षकालागि गाउँको बरघर र घरको गरधुर्या, गुरुवा तथा अन्य प्रतिनिधिलाई थारु समुदायले माघ महिनमा नेतृत्व चयन गर्ने गर्छन् ।

कृष्णपुर नगरपालिका–२ वाणी थारू बस्तीमा बरघरका रूपमा १८ औँ पटक लवारीराम डगौरा थारु चयन हुनुभएको छ । गाउँको सफल नेतृत्वबहन गर्न सक्षम भएकै कारण गाउँका बासिन्दाले लवारीरामलाई विसं २०५७ देखि लगातार बरघरका रूपमा चयन गर्दै आएका हुन् ।

बरघरले गाउँको विकाससँगै विवाह तथा परम्परागत सांस्कृतिक कार्यक्रममा नाच, पूजापाठ, अंशबण्डा, झैझगडा मेलमिलाप र गाउँको रीतिथिति बसाल्ने काममा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्दछन् । स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि चयन भए पनि थारू गाउँमा बरघरको भूमिकालाई अहिले पनि महत्वपूर्ण मानिदै आइएको छ । जनप्रतिनिधिले पनि गाउँको विकासका लागि श्रमदान जुटाउन बरघरमार्फत सहायता लिनुपर्छ ।

समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृति संरक्षणका लागि योगदान पु¥याउन र प्रजातान्त्रिक प्रक्रियामा आधारित बरघर प्रथालाई जीवन्त राख्नुपर्नेमा थारू अगुवा नरेन्द्रप्रसाद चौधरीले जोड दिनुभये । “यसैको माध्यमबाट समाजमा शान्ति सद्भाव र विकास सम्भव छ” उहाँ भन्नुहुन्छ ।

मठमन्दिर निर्माणमा सरकारले बजेट विनियोजन गर्ने परिपाटी रहे पनि थारू समुदायको संस्कृतिसँग जोडिएका भुइँहार (देउथान) र कला संस्कृति जर्गेनाका लागि बजेट विनियोजन गर्ने अभ्यास देखिँदैन, त्यसैले यसका लागि स्रोत जुटाउन वरघरमार्फत अभियानकै रुपमा काम अघि बढाउनुपर्ने हुन्छ ।

“थारू समुदायमा संस्कृति, साहित्य, कला, रीतिरिवाज, चालचलन र भसभूषालगायत विशिष्ट पक्षलाई पर्यटनसँग जोड्न र पहिचानलाई जोगाउनका लागि बरघर प्रथाको निरन्तरताले मात्रै सम्भव छ भन्छन् थारु अगुवाहरु ।

भलमन्सा, बरघर र महतौँ प्रथालाई थारू समुदायले सदियौँदेखि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको पाइन्छ । आफूहरूले परम्परा, रीतिरिवाज, जीवनशैली, संस्कृतिको संरक्षणका लागि सफल अभ्यासका रुपमा अनुशरण गर्दै आएको बरघर डगौरा बताउनुहुन्छ ।

विवाह, अंशवण्डा, सांस्कृति समारोहको अयोजना, जनश्रममा आधारित विकास निर्माण कार्यमा पनि थारु समुदायमा बरघरविना सम्भव देखिँदैन । बरघरकै अगुवाइमा यी कार्य गरिने भएकाले यस प्रथालाई निरन्तरता दिन स्थानीय तहमा अनिवार्य स्थान निर्धारण गरिनुपर्नेमा व्याकवार्ड एजुकेसन सोसाइटी (वेस) का केन्द्रीय सदस्य मायाराम चौधरीले बतउनुभयो ।

मेलमिलापको अभ्याससँगै गाउँको सीमा सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा र फौजदारी अभियोग लागे स्थानीय प्रशासनसँग समन्वय गर्ने कार्यसमेत बरघरले गर्दै आएका छन् ।

दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, कञ्चनपुर लगायत जिल्लामा बसोबास गर्दै आएका थरु समुदयमा बरघर प्रथाले बढी महत्व पाउने गरेको छ । पूर्वी तराईका जिल्लामा समेत थारु समुदयको बसोबास छ । तर पूर्वी जिल्लामा बरघर प्रथा त्यति फष्टाएको देखिदैन ।

तपाईको प्रतिक्रिया