काठमाडौं, माघ २५ गते । देशभर छरिएर रहेका युवाहरुलाई काठमाडौंमा भेला पारेर नेतृत्व विकास तालिम दिन शुरु गरिएको छ । थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु युवा सभाको आयोजनामा विहिबारदेखि शनिबारसम्म ३ दिने सो तालिम जारी रहने युवा सभाका अध्यक्ष कानूनलाल चौधरीले बताउनुभयो ।
थारु कल्याणकारिणीसभाको मध्ये बानेश्वरस्थित हलमा शुरुभएको तालिमको समापन हनुमानस्थानस्थित तमु बौद्ध सेवा समितिको हलमा गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । तालिममा भुलाई चौधरी, मिनराज थारु, लक्की चौधरी, बुद्धसेन थारु, सियाराम चौधरी लगायतले प्रशिक्षण दिने बताइएको छ ।
कार्यक्रमको उदघाटन गर्दै थाकसका उपाध्यक्ष कन्नुलाल चौधरीले अहिलेका थारु युवाहरुमा नेतृत्वदायी क्षमताको बिकास गरी समाज विकासमा अग्रसर हुनु पर्ने बताउनुभयो।
थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानुनलाल चौधरीले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै थारु युवाहरुमा नेतृत्व गर्ने क्षमताको बिकास गरेर थारु हक हित अधिकारका मुद्दाहरुको बारेमा प्रतिस्पर्धी बनाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उदघाटन कार्यक्रममा थारु कल्याणकारीणी सभाका पुर्व महामंत्री भुलाई चौधरी, अधिवक्ता भागवत चौधरी, बुद्धसेन चौधरी ,समाजसेवी सियाराम चौधरी ,थारु महिला सभा उपत्यकका सभापती तारा चौधरी, थारु पत्रकार संघका उपाध्यक्ष संजय चौधरी, जह इन्टरटेनमेनका प्रबन्ध निर्देशक सुरेश चौधरी लगायतको उपस्थीती थियो ।
तालिममा देशभरका विभिन्न जिल्लाबाट करिब ५० जना थारु युवाहरुको सहभागिता रहेको थारु युवा सभाले जानकारी गराएको छ । देशको राजनीतिक अवस्था फेरबदल भइरहेका बेला थारु युवाहरुलाई अधिकारका बारेमा जानकारी गराउन र नेतृत्व विकास गराउन तालिमको आयोजना गरिएको आयोजकले बताएको छ ।