काठमाडौं, फागुन १ गते । नेपाली सीमासम्म पानी जहाज ल्याउने गरी भारतले परियोजना शुरु गरेपछि गण्डक नदी हुँदै जलमार्गबाटै आवत जावत गर्ने सपना अब साकार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका बेला नेपाल र भारत सरकारबीच सो परियोजनाबारे सहमति भएको थियो ।
भारतका जलस्रोत र नदी विकास मन्त्री नितिन गडकरीले पटनाको गाइघाटबाट बगाहासम्म पानी जहाज ल्याउने परियोजनाको सोमबार शिलन्यास गरेका थिए । नेपालका प्रधानमन्त्री ओलीले विहिबार नेपाली पानी जहाज कार्यालयको उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
एकहजार टनसम्मका कन्टेनर बोक्ने पानीजहाज ल्याउन गाइघाटदेखि बगाहासम्मको ३०० किलोमिटरमा चारवटा टर्मिनल बनाइने बताइएको छ । करिब १३ करोड भारतीय रुपियाँको लागतमा पानी जहाज चलाउने भारतीय तयारी छ ।
मन्त्री गडकरीले भारत भ्रमणमा रहनुभएका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने बताएका छन् । नयाँ दिल्लीमा भएको भेटमा गडकरीले हल्दियादेखि नारायणी नदी तथा दुई देशको सीमा त्रिवेणीघाटसम्मको जल यातायात मार्गको निर्माण एक वर्षभित्र सम्पन्न हुने बताएका थिए ।
भारतले काम थालेपछि अब नारायणी नदीमा पानी जहाज चलाउने सपनाले सार्थकता पाउने नेपाली अधिकारीहरुले बताएका छन् । नेपालमा पानीजहाज चलाउने विषयले अब गति लिन्छ जलमार्ग अध्ययन गर्न बनेको समितिका संयोजक सहसचिव माधव वेल्वासले बताउनुभयो ।
बेल्वासेकाअनुसार कोसी र गण्डकीमा पानीजहाज चलाउनेबारे थप अध्ययन र छलफल गर्न भारतीय प्राविधिकको टोली काठमाडौं आउने भएको छ । मार्च ३ देखि ९ सम्म दुवै देशका अधिकारीबीच छलफल हुने बेल्वासेले बताउनुभयो । उहाँले सुस्ता आसपासमा नेपाली टर्मिनल बनाउन अध्ययन शुरु गरिने बताउनुभयो ।
ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताउनुभयो । कार्यालया सहसचिव नै रजिष्ट्रार रहने व्यवस्था गरिएको छ ।
नेपालले गत जेठ तेस्रो साता जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेको संयोजकत्वमा उर्जा तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, उद्योग बाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य रहनेगरी समिति गठन गरेको थियो ।
समितिमा गोपाल सिग्देल, प्रविणराज अर्याल, तर्कराज भट्ट, रिता धिताल र महेश्वर श्रेष्ठ सदस्य छन् । नेपालले तेस्रो मुलुकबाट सामान ओसारपसार गर्न अहिले कलकत्ताको हल्दिया बन्दरगाह प्रयोग गर्दैआएको छ । हल्दिया बनारस जलमार्गको कटिया भन्ने ठाउँमा नेपालको कोशी नदी मिसिन्छ । विहारमा पर्ने कटिहार नेपाली सीमाबाट करिब १५० किलोमिटर टाढा छ । त्यस्तै, नारायणी नदी पटना नजिकै पुगेर गंगा नदीमा मिसिन्छ ।