दिवंगत मन्त्री रविन्द्र अधिकारीसहितको श्रद्धाञ्जलि सभा शुक्रबार विहान


काठमाडौं, फागुन १६ गते । शवको पहिचान र पोष्टमार्टममा ढिलाइ भएपछि दिवंगत मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार विहानलाई सरेको छ ।

चिकित्सकले पोष्टमार्टम रिपोर्ट आउन केही समय विलम्ब हुने बताएपछि बिहीबारको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको र शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अनुसार श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सैनिक मञ्च आउने कार्यक्रम छ । मन्त्री अधिकारीको शुक्रबार नै गृहनगर पोखरामा दाहसंस्कार गरिने नेकपाले बताएको छ ।

बुधबार ताप्लेजुङ, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको थियो ।

 

प्रेस विज्ञप्ति

हिजो २०७५ फागुन १५ गते ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका – १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा दिवंगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी लगायत ७ जनाको पोष्टमार्टम शिक्षण अस्पताल महारजगञ्जमा भईरहेको छ । डाक्टरहरुका अनुसार पोष्टमार्टम सम्पन्न गर्न अझै केही समय लाग्ने हुनाले आज अपरान्ह ३ बजेदेखि शुरु हुने गरि निर्धारण गरिएको श्रद्धाञ्जली भोली बिहान ८ देखि ११ बजे सम्मका लागि सारिएको छ । यसबाट पर्न गएको असुविधाका लागि क्षमा चाहन्छौं ।

विष्णुप्रसाद पौडेल
महासचिव

तपाईको प्रतिक्रिया