तरकारी खेतीबाट सञ्जिव चौधरीलाई भयो मनग्य आम्दानी


अविनाश चौधरी
धनगढी, वैशाख ७ गते । पैसा कमाउन धमाधम युवापुस्ता विदेशिने क्रम बढिरहेकोबेला कैलालीका एक युवा व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कैलाली गाउँपालिका वडा नम्बर ६ बेनौलीका २४ वर्षीय सञ्जिव चौधरीले व्यावसायिक तरकारीखेती गर्दै राम्रो आम्दानी गर्न थाल्नुभएको हो । वर्षमा चार लाख रुपियाँसम्म आम्दानी भइरहेको छ, उहाँले बताउनुभयो । चौधरीले काठमाडौँको एग्रो फार्ममा काम गर्दै तरकारीखेती गर्न सिक्नुभएको हो । उहाँले धनगढीमा भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गरिरहनु भएको छ ।
करेला, टमाटर, बोडी, काँक्रोको खेती गर्दै आउनुभएका चौधरीले भन्नुभयो, तरकारी त अरू पनि हुन्छ तर फाइदा करेला र काँक्रोमा बढी हुन्छ ।
अन्य किसानको बारीमा करेला भर्खर पलाइरहेको बेला चौधरीको बारीमा धमाधम उत्पादन भइरहेको छ । उहाँले फागुन महिनादेखि नै करेला बिक्री गर्न थालेको बताउनुभयो । १३ कट्ठा जमिनमा गरिएको करेलाखेतीबाट कुनै–कुनै दिन ५० किलोसम्म उत्पादन भइरहेको छ, उहाँले भन्नुभयो, अहिलेसम्म ६०,७० हजार रुपियाँको करेला बिक्री गरिसकेँ ।

यस वर्ष सुरुमा करेला प्रतिकिलो दुईसय रुपियाँमा पनि बिक्री भएको थियो । उत्पादन बढ्दै गएपछि बजारभाउ घट्दै गएको छ । हाल प्रतिकिलो ९० रुपियाँमा यो गइरहेको चौधरीले बताउनुभयो । उहाँले उत्पादन गरेको तरकारी धनगढीकै व्यापारीले थोकमा खरिद गर्दैआएका छन् । नजिक बजार भएकाले बिक्री गर्न समस्या छैन । अहिलेसम्म जुनसुकै तरकारीले राम्रो बजार पाएको उहाँले सुनाउनुभयो ।

पहिलो वर्ष धनगढीमा तरकारीखेती गर्दा उहाँले फाइदा लिन सक्नुभएन । उत्पादन राम्रो नहुँदा लगानी निकाल्न पनि समस्या भएको थियो । यहाँको माटो, वातावरण सबै बुझ्दै गएपछि अब तरकारीखेती सपिँ्रदै गएको उहाँ बताउनुहुन्छ ।

चौधरीले प्रतिकट्ठाको वार्षिक तीन हजारका दरले भाडा तिर्ने गरी जग्गा लिजमा लिनुभएको छ । उक्त जग्गामा उहाँसहित घरका अन्य सदस्यले पनि काम पाइरहेका छन् । तीन वर्षसम्म व्यावसायिक तरकारीखेती गरेर एउटा ट्रयाक्टर, एउटा मोटरसाइकल किनेको चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया