लक्की चौधरी
काठमाडौं, वैशाख १३ गते । संस्कृतिका विज्ञहरुले नेपाली मौलिक संस्कृति दिनप्रतिदिन लोप हुँदैगएकोप्रति चिन्ता व्यक्त गर्दै संस्कृति मरेमा नेपाली समाज मरेतुल्य हुने बताउनुभएको छ । नेपाली संस्कृतिलाई युवापुस्तामा हस्तान्तरणको चुनौति रहेको उहाँहरुको बुझाई छ ।
नलेज सोसाइटी नेटवर्क नेपाल तथा प्रसङ्ग राष्ट्रिय त्रैमासिक पत्रिकाले शुक्रबार यहाँ आयोजना गरेको ‘संस्कृति र यसका प्रभावहरु’ विषयक संवाद कार्यक्रममा विज्ञहरुले सो धारणा राख्नुभएको हो । समयानुकुल संस्कृति परिमार्जन हुने विषय भएपनि त्यसको मौलिकता मर्न नहुने विज्ञहरुले तर्क गर्नुभयो ।
संस्कृतिविद तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले अहिलेको संस्कृति वैदिक र पौराणिक दुवै नभई मिसमास भएको बताउनुभयो । नेपाली मौलिक संस्कृतिको जगेर्नाको चुनौति रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाली संस्कृतिको प्रकृति बढी समन्वयात्मक छ, यो अरुको संस्कृतिभन्दा भिन्न छ ।” नेपाली संस्कृतिलाई युवापुस्तामा हस्तान्तरणको आवश्यकता उहाँले औल्याउनुभयो ।
संस्कृतिविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति पहिचानसँग जोडिएको विषय भएकाले त्यसको संरक्षण अपरिहार्य रहेको बताउनुभयो । “हाम्रो संस्कृति म¥यो भने हामी मरेतुल्य हुन्छौं, यही हाम्रो पहिचान हो” उहाँले भन्नुभयो । संस्कृतिका पनि केही नराम्रा पक्ष रहने गरेको र त्यसलाई परिमार्जन गर्दै जानुपर्ने उहाँले बताउनुभयो । खुला स्थान पनि हाम्रो सांस्कृतिक पहिचान हो भन्दै उहाँले खुलामञ्च मासिनु संस्कृति मासिनु हो भन्नुभयो ।
प्रा.डा. भीमदेव भट्टले नेपालीको धर्म र संस्कृति दुवै खतरामा परेको बताउनुभयो । “हिजो हाम्रा पूर्खाहरु धोटी फेरेर खाना खानुहुन्थ्यो, अहिले हामी त्यो छाडेका छौं, समयले त्यसमा बदलाव ल्याएको छ” उहाँले थप्नुभयो, “हरेक कामको शुरुवात गर्दा हामी बत्ती बालेर गर्छौं तर त्यसको विपरित पश्चिमाहरु बत्ती निभाएर गर्छन्, जन्मोत्सव मनाउँदा अहिलेका बच्चाले त्यही सिकेका छन्, जुन गलत हो ।”
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले संस्कृतिलाई जोगाउन नसक्दा नेपाली राष्ट्र कायम नरहने बताउनुभयो । “नेपाल एउटा राज्य हो तर यहाँका भाषा संस्कृतिहरुले नेपाल राष्ट्र बनाएको छ, त्यसलाई जोगाउन नसक्ने हो भने हाम्रो राष्ट्र मर्छ” उहाँले भन्नुभयो । भाषा संस्कृतिको संरक्षणमा राज्यलाई गम्भीर हुन उहाँले आग्रह गर्नुभयो ।
प्रा.डा. जयराज आचार्यले बहुलता नै नेपाली संस्कृतिको विशेषता रहेकाले त्यसको संरक्षण अनिवार्य रहेको बताउनुभयो । “हाम्रो सानो भूगोलभित्र १२३ भाषा बोलिन्छन्, मान्छे मर्दा कहीं माटोमा गाड्ने चलन छ, कहीं जलाउने चलन छ” उहाँले भन्नुभयो । विज्ञान र प्रविधिको विकासले विश्वलाई नजिक ल्याए पनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. विणा पौडेल, डा. वद्री पोखरेल, प्राध्यापक दिव्यश्वरी जोशी लगायतले संस्कृति मानवको जीवन र जगतसँग जोडिएकाले त्यसको महत्व ठूलो रहेको चर्चा गर्नुभएको थियो । कार्यक्रममा धर्मानन्द अवस्थी, विष्णु अवस्थी लगायतले पनि बोल्नुभएको थियो ।