थारु समुदायको एक महत्वपूर्ण चंलावत पूजा


राम अवतार चौधरी
कपिलवस्तु, जेठ ७ गते । थारु समुदाय नेपालमै सबैभन्दा बढी साँस्कृतिक मूल्य मान्यताको इतिहास बोकेको समुदायमा पर्छ । हरेरी पूजा, बैशाखी पुजा लगायत अन्य पुजा जस्तै चंलावत पूजा पनि थारु समुदायको एक महत्पूर्ण पूजामा पर्छ ।

यो पुजा हरेक बर्षको बैशाख महिनामा गर्ने गरिन्छ । यस चंलावत पुजाबाट आफ्नो समुदायमा सुख, शान्ति, समृद्धि र रोगब्याधी लाग्नबाट सुरक्षित रहने पूर्व थारु अगुवा समाजसेवी गंगाराम थारुले विश्वास व्यक्त गर्नुभयो ।

पूजा सामग्री

यस पुजामा माटाका एक वटा हात्ति, सात वटा घोडा, आठ वटा दिया बनाएर गाउँको पश्चिम पट्टि हात्तिलाई अगाडि र घोडालाई पछाडी राखेर दियामा (छाकी) दारु, कपुर र अगरबत्ती चढाईन्छ । साथै निमको पात, बेसार र पानी घोलेर बनाइएको पदार्थ (ढरकावन), एक वटा माटाको कराहीमा घ्यु, नरिवल छुवारा मिसाएर बनाएको एक प्रकारको वस्तु (होम) लाई चुलो बनाएर (गुरुवा) झाँक्रीले चढाउने र गाउँको चारै कुनामा बाँसको हाँगमा ध्वजा (तुल) बाँधी गाड्ने साथै गाउँभरिका मानिस एक ठाउँ जम्मा भई पुजा गर्ने गरेका शिवराज नगरपालिका–­३, भितरियाका समाजसेवी हर्जु थारुले बताउनुभयो ।

त्यसैगरी भितरिया गाँउका अगुवा समाजसेवी रामबहादुर थारुले थारु समुदायमा यो चलन अहिलेको नभएर आजापूर्खा देखि मान्दै आएका परम्परागत चालचलन भएको बताउनुभयो । तर अहिले सो चलनमा विकृति भित्रिएको उहाँको भनाई छ । राम्रो संस्कारलाई अवलम्वन गर्नुपर्छ अनि मात्र थारु समुदायको मुहारमा सकरात्मक परिवर्तन देख्न सकिन्छ उहाँले भन्नुभयो ।

थारु समुदायमा नयाँ पुस्तालाई पुराना संस्कृति हस्तान्तरण गर्न नसकिएकाले केही असल परम्परा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै युवा पुस्ताले पनि उत्तम संस्कारलाई सकरात्मक रुपले ग्रहण गर्नुपर्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया