युवा विद्यार्थी तथा अभिभावकलाई साइवरक्राइमबारे सचेतना


सुनिल चौधरी
झुम्का, जेठ १९ गते । थारु महिला उत्थान समाजको आयोजनामा डुम्राहामा एकदिने “साईबर क्राईम” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामधुनी ८ वडा कार्यलयको सहयोगमा “साईबर क्राईम” हुने अवस्थाको पहिचान गरी कानुनी उपचारको बारेमा जानकारी गराइएको छ ।

“साईबर क्राईम” अभियान कार्यक्रमको उदघाटनमा शनिबार वडा अध्यक्ष रुद्र बस्नेतले समाजमा नयाँ अपराधको रुपमा सिर्जना भइरहेकोले वडाका सबै युवा तथा अभिभावकहरुमा समयमै जागरुक बनाउन तालिम आयोजना गरिएको बताउनुभयो । प्रशिक्षणबाट वडामा हुने सम्भावित अपराधका घटनामा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

समाजमा बिकृतिको रुपमा रहेको “साईबर क्राईम” जन्य अपराधलाई कानुनी रुपमा निरुपण गर्ने विषयमा अधिबक्ता सारदा अधिकारी र सुकदेव चौधरीले प्रशिक्षण दिनुभयो । बिधुतिय ऐन अन्तर्गत साईबर क्राईमको आरोपितलाई हुने कारवाही र यसका कानुनी उपचारका बारेमा सहजिकरण गर्दै त्यसबारेमा युवा विद्यार्थीहरु सचेत हुनुपर्ने धारणा उहाँहरुको थियो ।

यसैगरी ईलाका प्रहरी कार्यालय पकलीको समन्बयमा भएको सो कार्यक्रममा ईन्सपेक्टर जितेस दाहालले अपराधका बारेमा बिस्तृत जानकारी दिनुभएको थियो । सामाजिक तवरमा सचेतना अभियान थालेको थारु महिला उत्थान समाजले जल्दोबल्दो बिषयमा प्रमुख मुद्दा उठान गरेको दाहालले बताउनुभयो । साईबर क्रार्ईम न्युनिकरणका लागि उत्थान समाजले समाजमा गरेको काम उपलब्धिमुलक भएको दाहालले बताउनुभयो ।

वडा ९ का वडा अध्यक्ष घनश्याम चौधरीले थारु महिला उत्थान समाजले रामधुनी नगरका लागि उदाहरणीय कार्यक्रम गर्दैआएको बताउनुभयो । नगरको पर्यटन बिकास, महिला शसक्तिकरण, पीडितलाई न्याय दिलाउने काम, बाढीपीडित, आगलागी पीडित, रोगि पीडितलाई गरेको सहयोग उदाहरणीय रहको उहाँले चर्चा गर्नुभयो ।

साईबर क्राईम युवाहरुको माझ विकृतिकोरुपमा रहेकाले यसबाट बच्नका लागि आवश्यक जानकारी लिन नितान्त आवश्यक रहेकोले अभिभावक समेतको चासो हुनुपर्ने चौधरीले सुझाव दिनुभयो ।

उत्थान समाजकी अध्यक्ष सीता चौधरी थरुनीको सभापतित्वमा भएको कार्यक्रममा युवा विद्यार्थी, अभिभावकहरु गरी करिब एकसय १५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी, वडा सदस्य जगतलाल चौधरी, वडा कार्यलयका कर्मचारी महेश आचार्य, महिला समुहका अध्यक्ष पार्वति कोईराला, समाजसेवी सुरेन्द्र शाह, भाग्यनारयण चौधरी लगायतको उपस्थिती थियो ।

साईबर क्राईम कार्यक्रमको आयोजनाको उधेश्यका बारेमा उत्थान समाजकी सल्लाहकार रामकुमारी चौधरीले प्रष्ट पार्नुभयो । कार्यक्रममा सहभागीहरुलाई संस्थाकी सदस्य भगवती चौधरीले स्वागत गर्नुभएको थियो । कार्यक्रम संस्थाकी सचिव रन्जिता चौधरीले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया