दंगीशरण गौशालामा गाईगोरुसगैं रमाउँछन् दाङका मर्थरे चौधरी


दिप्तीशिखा चौधरी
दंगीशरण (दाङ) जेठ २९ गते । दंगीशरण गाउँपालिका ६ स्थित एक गौशालामा मर्थरे चौधरी गोवर सोहोरिरहेका थिए । आखाँले भ्याउन नसकिने गाईहरुको मलमुत्र सोहोर्न एकदमै गाह्रो छ उनलाई । तर पनि बिदेशमा गएर मान्छेको दिशा पुछ्नुभन्दा यहि ठीक छ भन्दै उनी चित्त बुझाउँछन् ।

मर्थरे चौधरीकोे गाईगोरुसँग रमाउँदै दिन विताउन लागेको करिव एक बर्ष बित्यो । “पहिले यो जंगलमा बस्न गाह्रो हुन्थ्यो, अव बानी परिसक्यो यती धेरै साथी छन्” चौधरी भन्छन् । सामुदायिक वनको बीच भागमा गाईगोरुको टहरा र आफनो सानो टहरा उनको लागि थाई बसोबासजस्तै भएको छ ।

उनी कहिँकतै घुम्न पाउँदैनन् । गाईको रेखदेख स्याहार सुसारमा रात दिन खटिन्छन् । उनी भन्छन् —“कहिलेकाहि त सपना पनि यीनै गाईगोरुकै देख्छु । राती झस्कन्छु छुटेर कतै गए कि ?” दशैँ तिहार जस्ता सबैजसो चाडपर्व त्यहि गौशालामा मनाउने गर्छन् चौधरी । गाउँपालिकाले खाने ब्यवस्था गरेको छ, हप्तामा मासु खान्छौँ । काम अनुसार खान पाएकै छौँ, चौधरी भन्छन् ।

गौशालामा अहिले ५ जना कामदार छन् । चौधरी भन्छन् “कामदारलाई घर बिदामा पठाएर चाडपर्व यहि गौँशालामा नै मनाउँछु ।” काम गर्न एकदमै गाह्रो भएकाले आफु लगायत कामदारको उचित पारीश्रमिक बृद्धि गरिदिन उनले वडा कार्यालयसंग माग गरे । यता वडाका अध्यक्ष टंकबहादुर वलीले खाना संगसगैं पहिले ५ हजार तलव दिदै आएको र चैत महिनाबाट तलवमा बृद्धि भएको बताए ।

अध्यक्ष वलीले भने, “गाउँपालिका बाट पारिश्रमीक त दिन्छ नै, तर तपाईहरु गाईगोरुको मलमुत्र विक्री गरेर आयस्रोत बढाउनतर्फ लाग्नुस् र आफैँले उपभोग गर्नुस् ।” यता गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गौशालाका कामदारका लागि गाउँपालिकाबाट ५ लाख रुपियाँ छुट्याइएको बताए ।

२०७५ चैत्र महिनादेखि प्रतिब्यक्ति ८ हजारका दरले तलव खुवाउने निर्णय भइसकेको बताए । पछिल्लो समय दिनप्रतिदिन गाई बढ्न थालेपछि गौशालामा गाई राख्नका लागि ठाउँ साघुँरो हुदैँगएको गौशालाका अध्यक्ष मर्थरे चौधरी बताउँछन् ।

अहिले सोहि गौशालामा ४ सय ९० गाईहरु छन् । दिनदिनै बढ्नेक्रम जारीरहेको भन्दै चौधरीले गौशालामा अव ५ वटा टहरा र पर्खालको आवश्यक रहेको बताए । चौधरीले बर्खा सिजनमा टहरा नभएपछि समस्या हुने बताए । गौशालामा दैनीक १० वटा गाई आउने गरेका छन् ।
गाईगोरुका लागि दैनीक ५ देखि ७ हजार सम्मको पराल खुवाईदै आएको उनले बताए । दंगीशरण गाउँपालिकामा छाडा पशु चौपाया बढ्न थालेपछि चिसापानी सामुदायीक वनमा गौशाला निर्माण गरी गत साल असारदेखि गाई राख्न शुरु गरिएको हो ।

गत बर्ष ५ लाख ७० हजारमा गौशाला निर्माण गरी छाडा पशु चौपायालाई ब्यवस्थापन गरिएको थियो । यो बर्ष गाउँपालिकाको १० लाखको लागतममा पशु चौपायालाई ब्यवस्थित गराइएको छ । गौशाला सामुदायीक वनको ४ बिघा क्षेत्रफलमा निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया