थाकसको एकीकृत थरुहट राष्ट्रिय भेला शुरु, थारु एकतामा जोड


कारी महतो
चितवन, असार २१ गते । थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवालबारे छलफल गर्ने उद्देश्यले चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला आयोजना शुरु भएको छ ।

शनिबार र आइतबार दुईदिन सञ्चालन रहने भेलामा सहभागी हुन काठमाडौं उपत्यका लगायत तराईका जिल्लाबाट थारु अगुवाहरु चितवन पुगेका छन् । करिब २५ जिल्लाबाट २५० थारु नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको आयोजकले बताएको छ ।

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय समितिको आयोजनामा भएको भेलामा थाकसका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय पार्सदहरु, विभिन्न जिल्लाका सभापति लगायत प्रनिनिधिहरु थारुवान थरुहट आन्दोलनका अगुवा तथा कार्यकर्ताहरुको सहभागीता रहेको छ । भेला २२ गते सम्पन्न हुनेछ ।

थाकस केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरीको अध्यक्षतामा भएको भेलामा विभिन्न विषयहरुजस्तै थारु समुदाय वहिष्करणमा पर्नुका कारण, पहिचान भएका थारुहरुको साझा सवाल, थरुहट आन्दोलन सम्बन्धी उपलब्धि र मुद्दाहरुबारे बृहत छलफल गरी समाधानका उपायको पहिचान गरिने थाकस चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । भेलाले थाकसको आगामि कार्यदिशा तथा कार्यनीति पारीत गर्नेछ ।

विभिन्न जिल्लाका प्रतिनिधिहरुले रिपोर्टिङ गर्नेक्रममा झापा जिल्लाबाट पुष्पलाल चौधरी, मोरङका प्रदीप विश्वास, सुनसरीका दयानन्द चौधरी, सिराहाका वीरेन्द्रप्रसाद चौधरी, धनुषाका उत्तम चौधरी, महोत्तरीका चेतनारायण चौधरी, सर्लाहीका बलिराम चौधरी, रौतहटका अधिकलाल चौधरी, बाराका गिरीधारी चौधरीले प्रस्तुती गर्नुभयो ।

थरुहट आन्दोलन सम्बन्धी उपलब्धि र मुद्दाहरुबारे बृहत छलफल गरी समाधानका उपायको पहिचान गरिने थाकस चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । भेलाले थाकसको आगामि कार्यदिशा तथा कार्यनीति पारीत गर्नेछ ।

त्यस्तै, पर्साका वृजमोहन चौधरी, मकवानपुरका हरिलाल चौधरी, चितवनको तर्फबाट पूर्व न्यायाधीश नन्दलाल महतो, नवलपुरका रामप्रसाद चौधरी, परासीबाट मुन्द्रिकाप्रसाद चौधरी, कपिलवस्तुका जंजीर चौधरी, दाङका भुवन चौधरी लगायतले धारणा राख्नुभयो । विभिन्न जिल्लाहरुका तर्फबाट रिपोर्टिङ गर्ने क्रम जारी छ । अधिकांश वक्ताहरुले थारुहरु राज्यबाट अन्याय, अत्याचार, शोषण र दमनमा परेको हुँदा थारुका मुद्दा र सवालहरु स्थापित गर्न थारुहरु एकढिक्का भई संघर्ष गर्नुपर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया