काठमाडौं, साउन ३ गते । इमरान खान पाकिस्तानी प्रधानमन्त्री बने यता धमाधम भ्रष्टाचार निर्मुल गर्ने अभियान चलाएका छन् । भ्रष्टाचारमा पूर्व प्रमुखहरु नै मुछिन थालेपछि इमरानको कामलाई विश्वभरबाट नियाल्नेको संख्या बढेको छ । पाकिस्तानी पूर्व प्रधानमन्त्री शाहिद खक्कान अब्बासी विहिबार मात्र भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् ।
यसअघि पनि अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको थियो । उनी पक्राउ परेको एक सातापछि अब्बासी पक्राउ परेका हुन् । अब्बासी प्रतिपक्षी दलका नेताहरुमध्ये प्रभावशाली नेता मानिन्छन् । अब्बासी सन् २०१७ अगष्टदेखि २०१८ मे सम्म प्रधानमन्त्रीको जिम्मेवारीमा थिए ।
अब्बासी सन् २०१७ अगष्टदेखि २०१८ मे सम्म प्रधानमन्त्रीको जिम्मेवारीमा थिए ।
त्यसैगरी पूर्व प्रधानमन्त्री नवाज सरिफलाई गत वर्ष नै भ्रष्टाचार गरेको आरोपमा पाकिस्तानी अदालतले जेल सजायको फैसला गरेको थियो । पाकिस्तानमा भ्रष्टाचार व्याप्त भएको भन्दै वर्तमान प्रधानमन्त्री खानले त्यसको न्यूनिकरणको अभियान चलाएका छन् । फरक यत्ति छ कि हाम्रो यहाँ साना माछामात्र हात लाग्ने गर्छन् तर पाकिस्तानी सरकारले ठूला माछालाई लक्षित गरी अभियान चलाएको छ ।