इटहरी, साउन ८ गते । सुनसरीको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ ।
जमिन्दारहरुले पचासौ बर्षदेखि भोगचलन गर्दैआएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको उपमहानगरपालिका कार्यालयले जानकारी दिएको छ । इटहरी ४ स्थित चौधरी टोलस्थित साढे पाँच कठ्ठाको पोखरीमा ९ पोका माछाका भुरा हालिएको छ ।
यसैगरी इटहरी १८ स्थित १० कठ्ठा क्षेत्रफलको डकाहा पोखरीमा १० पोका माछाका भुरा हालिएको छ । इटहरीको अन्य वडाका सार्वजनिक पोखरीहरुमा समेत माछाका भुरा हालिने उपहानगरले जनाएको छ । ती पोखरीहरुमा माछापालन गरी उपमहानगरको आन्तरिक आम्दानी वृद्धि गरिने मेयर चौधरीले वताउनुभयो ।
उपमहानगरले नगरभित्र रहेका सार्वजनिक जग्गा खोजि अभियानलाई तिव्र वनाउने क्रममा ब्यक्तिले बर्षौदेखि भोगचलन गर्दै आएका करौडौका पोखरीहरु उपमहानगर मातहत ल्याइएको मेयर चौधरीका प्रेस संयोजक लीलाराज भट्टराईले बताउनुभयो ।