नेपालगन्जमा थारु गुरही पर्व २०७६ भव्यका साथ मनाउने तयारी


भगतराम थारु
नेपालगन्ज, साउन १८ गते । थारु समुदायको पहिलो चाड गुरही पर्व २०७६ नेपालगन्जका थारुले भव्य रुपमा मनाउने निर्णय गरेका छन् । साउन २० गते थारु समुदायले बिशेष पर्वको रुपमा गुरही मनाउने तयारी गरेका हुन् ।

थारु समुदायको पहिलो पर्व भएको हुनाले तामझामका साथ यो पर्व मनाउने थारु अगुवा बुद्धिजिवीले बताएका छन् । थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ नेपाल बाँके, थारु विद्यार्थी परिवार बाँके र थारु कलाकार मञ्च बाँकेको संयुक्त आयोजनामा हुने गुरही पर्वमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुती गरिने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरीले जानकारी दिनुभयो ।

यस पर्वलाई भव्य र सभ्य बनाउन विभिन्न जिल्लाबाट नेपालगन्जलाई कर्मथलो बनाएका थारु समुदायका युवायुवती, अगुवा, बुद्धिजिवी, कर्मचारी, नेताहरुलाई समेत उपस्थिति गराएर गुरही पर्व मनाउने तयारी भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

थारु समुदायको पर्व मनाउने शुरुवात गुरहीबाट हुने भएकाले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने योजना रहेको अध्यक्ष चौधरीले भन्नुभयो । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहेको थारु अगुवाहरुको भनाई छ ।

मनको शान्ति र उच्च विचारले मनाउने पर्वले मनको शान्ति र अमनचयन दिने अध्यक्ष चौधरीले बताउनुभयो । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उहाँको भनाई छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ ।

गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । यस पर्वलाई एकताको सन्देशको रुपमा मनाउन सक्नुपर्ने धारणा थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष भगतराम थारुले बताउनुभयो ।

गुरही पर्वलाई भव्य बनाउन थारु पहिरनमा सजिएर सांस्कृतिक कार्यक्रमलाई समेत जोड दिने अध्यक्ष थारुले भन्नुभयो । गुरही पर्वमा विशेष सम्मानका साथ विभिन्न परिकार खुवाएर पर्व मनाउने चलन छ ।

तपाईको प्रतिक्रिया