वियोण्ड टीकापुरः थारु पहिचान

विश्लेषण

सीएन थारु

थारु बसोबास गर्दै आएको भूक्षेत्र थरुहट जहाँ उनीहरु शताब्दीयौं विताए । डोरबहादुर विष्टका अनुसार थारुहरु आफ्नो माटोसँग छुटिन नसक्ने गरी गाँसिएका छन् । आजसम्म कुनै पनि थारुले न सीमापारीको भारतलाई नजिक ठान्छ न पहाड उक्लेर आफ्नो भाग्य अजमाउन नै खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी र वरिपरिको जंगलसँग नङ र मासु जस्तैगरी गाँसिएको जीवन अरु कुनै पनि जातिको छैन होला (विष्ट, सन् २००५ः४९) । थारु बारे बुझ्न यसले नयाँ धारको खोजी गर्न प्रेरित गरेको छ । हुन त थारुको ऐतिहासिकता र वस्तुवादिता परिभाषित गर्दा जहिले पनि पूर्वाग्रही र एकाङ्की हुने गरेको छ । हालपर्यन्त थारुलाई बुझ्ने एक पक्षीय ढाँचामा परिवर्तन हुन सकेको पाईदैन । यस लेखमा निम्न तीन खण्ड यो सम्बन्धि चर्चा गर्न छुट्याइएको छ ।

(क) पूर्वआधुनिक कालः
थरुहट सम्बन्धि त्यस बखतको बुझाई सटीक थियो । गैरथारुहरु भन्द थे कि ‘मत डुब पानी में, मत जहर खा ! मरे के होखे त थरुहट जा !!’ थारुको वैभव र सेकुलरिष्ट चरित्र विद्यमान रहेको पूर्वआधुनिक कालमा मानव सभ्यता निर्माणका खातिर थारुले विशेष योगदान दिएको प्रमाणीत हुन्छ । जीवन र जगतलाई हेर्ने दृष्टीकोण सम्भावनात्मक रहेको थियो । सामाजिक परिवेश कष्टप्रद र सामुहिक जिम्मेवारी बमोजिम सञ्चालित रहे पनि प्रकृतिसँग सामञ्जस्य कायम गर्दै जीवन सन्तुलित बनाएको स्थिति थियो । विषम परिस्थिति रहेको थरुहटमा जो आश्रय लिन आउँथे, उनीहरु सहज रुपमा नै घुलमिल हुन सके । थारु समाजको नेतृत्वदायी संस्था मौजा, प्रगन्ना तथा गादी (चौरासी) ले नै पूर्व आधुनिककालमा शासन कला कायम गरेको थियो । कुटनैतिक हिसावले त्यस समयमा थारुको आफ्नै परम्परा थियो । वलशाली र होनहार युवा गैरथारु भए पनि यदि उसको सामथ्र्यलाई थारु समाजको समृद्धिको लागि उपयोग गर्नुपरेको खण्डमा छोरी दिएर अथवा सहभोजको आयोजना गर्दै थारु बनाएको गौरवमय इतिहास छ । त्यसलाई पतिया सिष्टम बुझ्ने गरेको थियो । थारुको उक्त कुटनीतिक सम्बन्ध र योजनाले नयाँ वंश जन्माउँदै ल्याए । तर छुवाछुतको व्यवहार कहिलेदेखि थारु समाजमा प्रवेश भयो त्यसको खोजी विशेष ढंगले हुनु जरुरी छ ।

सामुहिक वसाई सराई थरुहटमा हुने प्रचलन दक्षिणबाट नै शुरु भएको बुझ्न सकिन्छ । शुरुमा यसखाले वसाई सराई थरुहटमा सहज थिएन । किनकि एक त विषम परिवेश र दोश्रो मारन, मोहन, भेदन र उच्चाटनको प्रभाव । पछि मगर र तामाङको झुण्ड देखा पर्न थाले । उनीहरुको सुगौली सन्धि पश्चात लाहुर जाने प्रवृतिले थरुहटमा बसाई सराई गर्न सहज बनायो । यसरी प्रथम चरणको अन्तरघुलन र अन्तर संघर्षबाट थारु लगायत अन्य समेत दक्षिणको प्रभावबाट मुक्त हुन सकेनन् । भाषिक र साँस्कृतिक हिसावले थारु अब दक्षिणका छिमेकीसँग नजिक ठहरिए भने मनोवैज्ञानिक रुपले विशिष्ट नै रहौं भन्नेमा जोडवल गरिरहे । सप्तरीका जमिनदार हेम चौधरीका सन्तानहरु गोर्खा र अंग्रेजवीचको लडाई भइरहेको समयमा नेपाल पक्ष भएर सघाएको इतिहास छ । तर सन् १८१६ को सुगौली सन्धि पश्चात थारुहरु सैनिक—जमीन सम्बन्धको कारण सर्वहाराकरणतिर उन्मुख हुन थालेको देखियो । थारुको पहिचान शुद्र सरहको मासिने मतवाली कायम हुन पुग्यो । राजनीतिक हिसावले थारुको प्रतिनिधित्व र पहुँचलाई शंका गर्ने चलन शुरु भएकै कारण वीर शम्सेर जवरा सप्तरीका भोलानाथ सुब्बा थारुलाई सन् १८८९ मा फाँसीको सजाय सुनाए । यो घटना नै थारुको पहिलो वलिदानी दावी गरिएको छ ।

सप्तरीकै स्वरुपसिंह कार्की दरबारको खिंचातानी प्रति विमति जनाउँदै प्र.म.पदबाट राजिनामा दिएर गोर्खा राज्यको दवदवा विरुद्ध प्रतिरोध गर्दा थारुको दरिलो साथ पाएका थिए । यसले के सावित गर्छ कि थारु पूर्वआधुनिक कालमा सामाजिक प्रतिरोधी क्षमताले लैस जनसमूह थिए । विषम प्राकृतिक परिवेशसँग पैठेजोरी खेल्दै सामाजिक—राजनीतिक धारको नेतृत्व गरेको हालको परम्परागत संस्थाको अस्तित्वबाट बुझ्न सकिन्छ ।

(ख) आधुनिक कालः
जब अंग्रेज शासक भारतमा आधुनिक शिक्षाको शुरुवात गरे । पछिल्लो समयमा सप्तरीका हरिहरप्रसाद चौधरी, महिकरदेव नारायण सिंह, रौतहटका केवल चौधरी, बाराका रामप्रसाद गवैया, देऊखुरीका परशुनारायण चौधरी आदि थारु युवाहरु भारतको विभिन्न शहरमा गई विश्वविद्यालय शिक्षा हासिल गरे । आफूलाई यी अगुवाहरु लवजुगिया भन्न मन पराउँथे । पुरनजुगिया र लवजुगियावीच थारु समाज विभाजित भए । त्यसपश्चात नारा बन्यो (१) कन्यौती प्रथा अन्त्य करें । (२) वालविवाह में रोक लगावें । (३) हाँस, मुर्गा, सुँगुर न पालें । (४) वाल बच्चाके स्कूल पठावें । (५ं) पेशा विविधीकरण में जोड लगावें । (६) अनावश्यक मरजादी, घरदेख, श्राद्धी भोज बन्द करें । (७) अन्तर जिल्ला विवाह प्रोत्साहन करें । यस अवधिमा एउटा सशक्त सामाजिक संगठनको तयारीका लागि थारु कल्याणकारी सभा गठन भयो । नेतृत्वमा उही लवजुगीया भनाउदा युवा अग्रसर हुनपुगे । आफ्नो स्तरबाट जाँगर देखाए पछि पुरनजुगिया परम्परागत संस्थालाई निरन्तरता दिन कठीन भएको महसुस गरिरहे । उक्त समय लोकतन्त्रको लहर चलेकोले नेपालमा राजनीतिक फेरवदलको चक्र घुमेको अनुभूति सवैले गरेको हुनु पर्दछ । अंग्रेजी र हिन्दी भाषामा दखल राखेको लवजुगीयाहरु पूर्वदेखि पश्चिमका थारु जोड्न हिन्दी भाषा सम्पर्क भाषा बनाए । पक्कै पनि यो व्यक्तिको आत्मसम्मान र स्वायत्ततासँग जोडिने माध्यम बन्दैजाँदा सन् १९६० मा निर्दलीय व्यवस्था स्थापना गर्न पुगे राजा महेन्द्र । यसको सोझो असर थरुहटमा पर्यो । सन् १९६१ देखि ७१, दश वर्षमा आप्रवासनको चपेटामा लाखौंको संख्यामा हुनपुग्यो । राज्यको यसखाले गलत नीतिको विरोध कतै पनि हुन सकेन । राष्ट्र निर्माणको नाममा एक भाषा एक भेष, हिन्दु अधिराज्य नेपाल संवैधानिक बनाउने काम गरेसँगै थारुहरुले हामी पनि नेपाली भन्ने नारा घन्काउन पुगे । राणा शाह शासन कालमा रैतीको रुपमा रहेका थारु नागरिक बन्ने चाहना प्रदर्शन गरिरहे । तर उनीहरुको नेपाली पहिचानमा वैधताको संकट थियो ।

थारु कल्याणकारी सभाका अगुवाहरु पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु हामी एउटै हौं भन्दै पञ्चै पिच्छे भाषण दिने गरेको पाइन्छ । सवाल उठछ किन अगुवाहरुले निरन्तर यिनै पक्षलाई जोडका साथ उठाउने गरेका छन् ? कहीं थारुहरु आधुनिक बन्दैगर्दा आफ्नो मूलतर्फ फर्कन शुरु भएको छैनन् ? अथवा के पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारुहरु एक्कै मूलका भएको बुझ्न सकिन्छ ? थारुका अगुवाहरु आधुनिक कालमा अलमल देखिए । किनकी उनीहरुले उठाउँदै गरेको सरोकारको विषय कुनै मुल्यमा आधारित थियो भन्ने लागेको छ त ? थारु सम्बन्धि अध्येता अर्जुन गुणरत्ने आफ्नो पुस्तक ‘अनेक भाषा, एक जातिः थारु पहिचान सम्बन्धि खोज’ मा यो सवालको जवाफ निम्न अनुसारले प्रस्तुत गर्न पुगे । गुणरत्ने लेख्छन्—

“थारुहरु एउटै नुजातीयका सदस्य हुन भन्ने मनोविज्ञान साझा देखिन्छ । कुनै ऐतिहासिक अनुभव अथवा अनुभूति मार्फत नृजातीयताको यो जोड हो र सम्भ्रान्त थारुका ती अनूभुतिहरुको प्रकटीकरण मार्फत वर्तमान स्वरुप ग्रहन गर्न पुगेको छ ।”
उनी थप जोड दिन्छन् कि “थारुहरु समथर मैदानी भागमा पूर्वदेखि पश्चिम महाकालीसम्म लामो समय देखि बस्दै आएको हो तर विशौं शताब्दीको मध्यतिर पहाडबाट बसाई सरेका उच्च जातका पहाडिको जालझेलबाट जमीन खोसिए पछि प्राप्त अनूभुतिले उपरोक्त मनोविज्ञान निर्माण हुन पुगे । मलेरिया उन्मुलन परियोजना तथा भूमिसुधार कार्यक्रमले थारुको जमीनउपरको स्वामित्व गुम्यो ।”
अर्जुन गुणरत्नेको उपरोक्त मतबाट के निष्कर्षमा पुग्न सकिन्छ भने थारु आधुनिक कालमा आएर एउटा नृजातीयताको पहिचान बोकेको समूह हो । भाषा तथा संस्कार संस्कृति अलग भए पनि मनोविज्ञान साझा भएका कारण अरुभन्दा पृथक बुझाउन र पूर्वदेखि पश्चिमसम्म हामी एउटै जाति हौं भन्ने गरेका छन् । हाल उनीहरु सडक मार्गबाट जोडिइसकेको कारण भाषा र संस्कृतिको साझेदारी गर्न थालेको देखिन्छ । युवा विद्यार्थीहरुको भूमिका थप वलियो गरी उठान भएको छ । थारुको आत्मनिर्णयको अधिकार बारे वहस चल्दैगर्दा नेपालको अखण्डता र सार्वभौमिकतालाई अक्षुण राखी सैद्धान्तिकरण गरेको पाइन्छ । तसर्थ, आधुनिककालमा व्यक्तिको सार्वभौमिकता र स्वयत्तता कुण्ठित नगरीकन थारु जातिको पहिचान परिभाषित गर्ने गरेको कारण एनजीओ चेतना हावी भएको छ ।

(ग) उत्तरआधुनिक कालः
थारुलाई उत्तरआधुनिक कालमा कसरी बुझ्ने ? यो उदेकलाग्दो प्रश्न फेरि तेर्सिन पुग्यो । संसारभरी नै एउटै राज्यभित्र राजकीय राष्ट्रियता र राज्यविहिन राष्ट्रियताको विभाजन हुनपुग्यो । नेपालमा समेत राजकीय राष्ट्रियता कथन हिन्दु उच्च जात आर्यखसको वर्चश्व कायम रहेको राष्ट्रियता र अन्य सिमान्तीकरणको चपेटामा परेका मधेसी, आदिवासी प्रथम राष्ट्र लगायत मुसलमानको पहिचानयुक्त राष्ट्रियता जसलाई अर्को अर्थमा राज्यविहिन राष्ट्रियता भन्ने गरेको छ । यसखाले परिभाषालाई थप सार पक्ष केलाएर हेर्ने हो भने हामी र अन्यकोवीच विशिष्टीकरण हुँदैजाने छ । तथापी परिभाषित गर्ने आधार भनेको राष्ट्रिय चेतना किटान गर्न सक्नुपर्छ । ‘अबको अन्तर्राष्ट्रिय व्यवस्थाको आधारभूत तत्व हाल अस्तित्व वान राष्ट्र राज्यहरु हुने छैनन् , बरु स्वघोषित जातीय समूह हुनेछन् ।’ ग्राह्म ई. फुलरको यो निष्कर्षबाट के प्रमाणीत हुन्छ भने वर्तमान अस्तित्वमा रहेका राज्य सिमारेखाहरु सहितको अन्तर्राष्ट्रिय व्यवस्था जुन मुलतः त्यहाँका आदिवासी वासिन्दाको जातीय तथा साँस्कृतिक चाहनालाई किंचित वास्ता नगरी खिंचिएका थिए । ती (सिमारेखाहरु) सारमा अप्रचलित भइसकेका छन् । उदयमान राष्ट्रवादी शक्तिहरु तथा साँस्कृतिक पुनःउत्थानहरु आफैं नयाँ व्यवस्था दावी गर्न तयार देखिएका छन् ।

अहिले उपनिवेश विरुद्धको लहर संसारभरी चल्दैछ । थारुको नेपाल राज्यप्रतिको धारणा दुरुस्त छ । आन्तरिक उपनिवेशबाट सताइएका थारु जाति राष्ट्रिय मुक्ति आन्दोलन सशक्त बनाउन अग्रसर देखिन्छ । त्यसको तयारीको क्रममा अहिलेसम्म संगठनात्मक र संघर्षबारे मात्रै केन्द्रित रहे । त्यसैले पहिचान बारे अलमलको स्थिति कायमै देखियो । नेपाल राज्यको औपनिवेशिक चरित्र बदल्ने काम किन कठीन सावित भयो भने यहाँ राजकीय राष्ट्रियता र राज्यविहिन राष्ट्रियताको निर्माणको आधार बुझ्न सकेन । दाश्रो, राष्ट्रिय पहिचानको खोजीसँगै विश्वभरी फष्टाउन खोजेको फाँसीवाद कसरी वाधक बन्दैछ र वायोपोलिटिक्स हावी हुँदैछ ? तेश्रो, नवउदारवादले मानिसको चरित्रमा ल्याएको मनोवैज्ञानिक असरबाट सामाजिक प्रतिरोधी क्षमतामा ह्रास हुँदैगरेको वेला विकल्प के छ ? संगठनात्मक सिद्धान्त के अपनाउने ? आदी अनेकौं प्रश्न अनुत्तरित रहेका छन् । यी प्रश्नहरु कुनै व्यक्तिको सफलता अथवा असफलतासँग जोडिएर आएको होइन् । कुनै नेताको पदलोलुप्ता, अवसरवादी चरित्र र संकुचित मनोविज्ञानसँग मात्रै केन्द्रित छैन् । विशुद्ध रुपमा यी प्रश्नहरु क्रान्तिको वैकल्पिक धार बनाउने तिर केन्द्रित छन् । त्यसैले दार्शनिक सवाल मान्न सकिन्छ । थारु पहिचानको ठीक तवरले परिभाषित गर्न भाव र चेतनाको सही व्यख्या बुझ्न जरुरी छ । एनजीओ चेतना एउटा भाव हो, जसले हामी एउटै नृजातीयताका सदस्यहरु भएको बोध गराउँछ ।

आधुनिक कालमा नृजातीयताको पहिचान बनाएका थारु अब उत्तरआधुनिक कालमा कसरी स्वतन्त्र राष्ट्रियता दावी गर्न सक्ला ? राष्ट्रियताको दावी आफैंमा राजनीतिक परियोजना हुन । तसर्थ, करिब एक दशक देखि उठान गरेको थारु पहिचानको आन्दोलन टीकापुर विद्रोह पश्चात परिभाषित गर्न थप जटील बन्दैछ । टीकापुर विद्रोह एक हिसावले भावमा आधारित रहेकोले एनजीओ चेतना हावी रह्यो । यसलाई पपुलर अथवा मास मुभमेन्ट भन्न सकिन्छ । लोकतन्त्रवादी शासक रहेको देशमा पपुलर अथवा मास मुभमेन्टको दवाव मार्फत गलत काम रोक्न सकिने तथ्यहरु पाइन्छन् । नेपाल त राष्ट्र बन्न नसकेको अवस्थामा अलमलिएको छ । यो परिवेश अधिनायकवादी शासकको लागि उपयुक्त हुने र फासीवादको अभ्यास सजिलै गर्न सक्ने भएकोले नै वियोण्ड टीकापुरः थारुको राजनीतिक पहिचान खोजी गर्ने कुरो हो । अहिले एकल जातीय सर्वसत्तावाद आमने सामने छ । संघीय लोकतान्त्रिक गणतन्त्रको खोल ओढी सर्वसत्तावादी चरित्र ढाकछोप गर्ने र त्रासको मनोविज्ञानबाट मुक्ति पाउन षडयन्त्रहरु एकपछि अर्को गर्दैछन् । एक हिसावले चम्चा युगको शुरुवात पनि भएकोले उदार लोकतन्त्र माथि अनेकौं प्रश्नहरु उठेको छ । यथार्थमा थारु आन्दोलन पनि लोकतन्त्रलाई वृहत्तर बनाउनका लागि हुँदै आएकोले स्वतन्त्रताको मुल्य र मान्यता टेकी हामीले पहिचानको परिभाषा ठोस गर्नुको विकल्प छैन । स्वतन्त्रताको मूल्य मानव केन्द्रवादको जगमा खोजी गर्न जरुरी रहेन, न त साम्यवादको सपना मार्फत द्वन्द्वात्मकताको सिद्धान्त बोकेर । त्यसैले साँस्कृतिक सापेक्षवादको जगमा थारुको विशिष्ट पहिचानको परिभाषा खोजी गर्दा वर्णाश्रम धर्म विधानको केन्द्रमा प्रहार गर्न सक्नुपर्छ । वियोण्ड टीकापुरः थारु पहिचानको राजनीतिक पाराडाइम उपरोक्त मुल्यको आधारमा वदलेको कारण विमर्शको लामो श्रृङ्खला पार गर्नुपर्छ । त्यसले मात्र अबको बाटो निर्धारण गर्छ ।

तपाईको प्रतिक्रिया