बाँकेमा १७ प्रतिशतले धान उत्पादन घट्यो


Dhan

विश्वराज पछलडंग्या
नेपालगन्ज, मंसिर २४ गते । सुख्खा र खडेरीको बारेमा जिल्लाहरुले यथार्थ विवरण नपठाएका कारण राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समस्या भएको कृषि विभागले जनाएको छ ।

बाँकेको खजुरामा भएको मध्यपश्चिमाञ्चल क्षेत्रको चौमासिक प्रगति समिक्षा गोष्ठीमा बोल्दै कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले धानबाली खडेरीबाट सखाप भएको सम्बन्धमा जिल्लाहरुले यथार्थ जानकारी केन्द्रमा नपठाउँदा राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समस्या भएको बताउनुभयो । जिल्लाहरुले समयमा यथार्थ विवरण नपठाउँदा धान तथा मकैको उत्पादन घटेको बारेमा कृषि विभाग नै अनविज्ञ हुनपरेको उहाँले बताउनुभयो ।

जिल्लाहरुले यथार्थ विवरण कृषि विभागमा नपठाएका कारण खडेरीको कारण धानबाली सखाप भएकोबारे आफु अनविज्ञ रहेको महानिर्देशक जिसीले बताउनुभयो । उहाँकोअनुसार खडेरीको कारण धानबाली सखाप भएका जिल्लाका लागि राहतको समेत व्यवस्था भएको छ । महानिर्देशक जिसीले कामको लागि खाद्यान्न कार्यक्रमलाई समेत पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

यसबर्ष खडेरीको कारण मध्यपश्चिममा धान, मकैको उत्पादनमा ठूलो गिरावट आएको छ । सिचाई र रासायनियक मलको अभावले बाँकेमा मात्रै गतबर्ष १७ हजार मेट्रिक टन धान उत्पादन घटेको छ । त्यस्तै ४ हजार मेट्रिक टन मकै उत्पादन घटेको छ । गतबर्ष भन्दा १७ प्रतिशतले बाँकेमा धानको उत्पादन घटेको छ भने २१ प्रतिशत मकैको उत्पादन घटेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्णबहादुर बस्नेतले २०७१÷०७२ मा ७ हजार मेट्रिक टन खाद्यान्न बचत भएकोमा यसबर्ष ६ हजार मेट्रिक टन भन्दा कम बचत हुने सम्भावना रहेको बताउनुभयो । बाँकेमा २९ प्रतिशत मात्रै सिञ्चित खेतीयोग्य जमिन रहेको छ । बाँकीमा आकासे पानीमा नै भर पर्नुपर्ने अवस्था छ ।

उहाँकोअनुसार बाँके जिल्ला धान विउमा भने आत्मनिर्भर रहेको जानकारी दिनुभयो । बाँकेमा बाली÷बस्तु विमाको अवस्था समेत सन्तोषजनक छैन । गतबर्ष ११३ जनाले विमा गरेकामा यसबर्ष ४ जना कृषकले मात्र विमा गरेका छन् । माछामा गतबर्ष ९ जना कृषकले विमा गरेका थिए । यसबर्ष हालसम्म २ जनाले मात्र बिमा गरेका छन । भने, धानबालीको लागि २ जना किसानले विमा गरेका छन् ।

त्यस्तै गत १०४ कृषकले तरकारीको विमा गरेका थिए तर यस आर्थिक बर्षमा हालसम्म १ जनाले पनि विमागरेका छैनन् । बाँकेमा दुइजना किसानले विमा वापतको क्षतिपूर्ति पाएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख वस्नेतले जानकारी दिनुभयो । बाँकेमा लक्षित मौरीपालन र च्याउ उत्पादन एवम् कृषक परिचय–पत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइनु पर्ने वस्नेतको सुझाव छ । सुख्खा सिरिज र राधा–४ जात धानको विउ उत्पादनमा बृद्धि गर्नुपर्ने सुझाव समेत वस्नेतको छ ।

रासायनिक मल अभाव र खडेरीले मध्यपश्चिमका अधिकांश जिल्लामा यसबर्ष उत्पादन घटेको छ । तीन दिनसम्म चल्ने समिक्षा गोष्ठीमा मध्यपश्चिमका १५ वटै जिल्लाका जिल्ला कृषि कार्यालयका प्रमुखको उपस्थिति रहेको क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक अच्युत ढकालले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक बर्षको पहिलो ४ महिनामा लक्ष्य र प्रगतिको बारेमा समिक्षा भएको बताउनुभयो ।

समिक्षा गोष्ठीमा अहिलेसम्म बजेटको अख्तियार समेत प्राप्त नभएको गुनासो जिल्लाहरुले गरेका छन् । धान र गहुँ सिजनमा मल अभाव भएको, इन्धनको समस्या भएको, कृषि क्षेत्रलाई बैंक मार्फत दिइने भनेको ६ प्रतिशतमा ऋण नदिइएको लगायत समस्या गोष्ठीमा राखिएको थियो ।

माछापालन व्यवसायलाई विद्युत प्राधिकरणले उद्योग सरह मानेर कृषि मिटर जडान नगरेको, सिचाई कार्यालयले माछापालनलाई बाली नमानेर नहरबाट पानी नदिने समस्या समेत रहँदै आएको छ । मध्यपश्चिमका १५ वटै जिल्लामा जनशक्ति अभावमा रहेको जानकारी गराइएको छ ।

गोष्ठीमा कृषि मन्त्रालयका सह–सचिव डा. श्यामकिशोर शाह, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका क्षेत्रीय निर्देशक डा. इश्वरीप्रसाद गौतम, क्षेत्रीय माटो परिक्षण प्रयोगशालाका प्रमुख टंक कार्की लगायतको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया