कसरी जन्म्यो थारु पत्रकार संघ नेपाल ?

लक्की चौधरी

थारु पत्रकार संघ, नेपाल गठनको मुख्य जस स्वर्गीय पत्रकार जयप्रकाश चौधरीलाई जान्छ । उहाँले कार्यकाल पूरा गर्न त भ्याउनु भएन । तर शुरुवात राम्रो गर्नुभयो । २०६६ वैशाख १२ गते थारु पत्रकार संघ नेपालको पहिलो तदर्थ समिति गठन भएको थियो । नेपाल टेलिभिजनमा कार्यरत जयप्रकाश चौधरीको अध्यक्षतामा नौ सदस्यीय कमिटी बनेको थियो । जसको उपाध्यक्षमा विनिता चौधरी, सचिवमा कृष्णराज सर्वहारी, सहसचिव रेखा चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी थिए । त्यस्तै सदस्यमा शत्रुघन चौधरी, संजीव सत्गैयाँ थारु, तुला चौधरी र प्रदीप चौधरी थिए । तदर्थ समिति गठन भएको केही समयमा अध्यक्ष चौधरी गम्भीर विरामी हुनुभयो । विरामी भएको केही दिनमा उहाँको निधन भयो । संघ फेरि निस्क्रिय बन्यो ।

करिब सोह्र महिना पछि २०६७ भदौ २ गते थारु पत्रकारको जमघट सिंहदरवारस्थित रेडियो नेपालको प्राङ्गणमा भयो । संघलाई सक्रिय बनाउनु पर्ने प्रस्ताव थियो । सो भेलाले विनिता चौधरीको अध्यक्षतामा पुनः अर्को नौ सदस्यीय तदर्थ समिति गठन गर्यो । जसको उपाध्यक्षमा लक्की चौधरी, महासचिवमा कृष्णराज सर्वहारी, सचिवमा गीता चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी चुनिए । सदस्यमा सरला चौधरी, शत्रुघन चौधरी, चन्द्रप्रसाद चौधरी र प्रदीप चौधरी चयन भए । सोही तदर्थ समितिले संघको विधान तयार गर्यो । विधानको मस्यौदा गर्ने जिम्मा पङितकारलाई नै थियो । मस्यौदामाथि संघको छलफल बाट त्यसलाई पूर्णता दिई २०६७ चैत १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा संघ विधिवत दर्ता भयो । संघलाई दर्ता गरेको कार्य समिति नै कानूनीरुपमा संस्थापक हो ।

थारु पत्रकार संघ, नेपालको नेतृत्वमा रहँदा धेरै गैरथारु पत्रकारले थारु पत्रकारलाई जातीय पत्रकारिताको विल्ला    भिडाए ।

दर्ता भएकै दिनदेखि संघको स्थापना दिवस चैत १६ गते मनाउँदै आएका छौं । संघ दर्ता गर्ने क्रममा पत्रकार जम्मा गर्न निकै कठिन थियो । काठमाडौंको मूलधार मिडियामा एक त थारु पत्रकार नहुने, भएकालाई सक्रिय बनाउने कसरी ? संघ दर्ता भएपछि थारु पत्रकारबीच चिनाजानी शुरुभयो । कार्यक्रममा पत्रकार आउन थालेपछि एकअर्काबीच सम्पर्क बन्यो । त्यसैको परिणाम अहिले थारु पत्रकार संघमा लगभग अढाई सयको संख्यामा थारु पत्रकार आवद्ध छौं । करिब अठार जिल्लामा संघ विस्तार भएको छ । थारु पत्रकार संघ, नेपालको नेतृत्वमा रहँदा धेरै गैरथारु पत्रकारले थारु पत्रकारलाई जातीय पत्रकारिताको विल्ला भिडाए । गोरखापत्रजस्तो राष्ट्रिय मिडियामा काम गर्ने पत्रकार थारु पत्रकार संघमा बसेको भनेर हल्का टिप्पणी पनि पनि गरे । तर म वास्ता गरिनँ । आफ्नो काम गरि नै रहें । अद्यापि गरिरहेकै छुँ । यस्तो आरोप अरु थारु पत्रकारले पनि खेपेकै हुनुपर्छ ।

यसरी शुरुको तदर्थ समितिका अध्यक्ष जयप्रकाश चौधरी हुनुहुन्थ्यो । तर उहाँको कार्यकाल अधुरै रह्यो । त्यसपछि अर्को तदर्थ समितिका अध्यक्ष विनिता चौधरी हुनुभयो । उहाँकै नेतृत्वमा संघ दर्ता भयो । त्यसलाई उपलब्धीको रुपमा लिनुपर्छ । विनिता चौधरी अध्यक्ष भएकाबेला संघभित्र फेरि विवाद शुरुभयो । दुई वर्षे कार्यकाल रहेको संघमा विनिता चौधरी तीन वर्ष वढी अध्यक्ष रहनुभयो । संघको अधिवेशन गर्न तयार नहुँदा त्यो समस्या र विवाद बल्झेको थियो । निकै दवाव पछि २०७० भदौ २१ गते संघको प्रथम महाधिवेशन गर्ने मिति तोकियो । काठमाडौं हनुमानस्थान नजिक रहेको फोनिज हलमा कार्यक्रम भयो । तर उदघाटनसत्र सकाएर अध्यक्ष विनिताले बन्दसत्र स्थगित गरेर सबै फाइलको पोका पन्टुरा लिएर हलबाट एकाएक निस्किने प्रयास गर्नुभयो । सोहीबेला तत्कालिन महासचिव कृष्णराज सर्वहारीले उहाँको हातबाट फाइल खोस्नुभयो । अधिवेशन सम्पन्न गरेर मात्र निस्कनु पर्ने अडान सुनाउनुभयो । तर विनिता रोकिनु भएन । हलबाट बाहिर निस्किनुभयो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दर्ता गर्नुभयो । तर हामी अधिवेशन रोकेनौं । उपस्थित सबैको सल्लाहअनुसार लक्की चौधरीलाई अध्यक्ष बनाएर प्रथम अधिवेशन टुङ्गियो । अधिवेशन त सम्पन्न भयो । विनिताले संघको कुनै कागजात दिन तयार हुनुभएन । सर्वहारीले खोसेको फाइलमा लेटरप्याड र माइन्यूट बाहेक केही थिएन ।

धेरै प्रयास गर्दा पनि विनिताले संघको फाइल दिन तयार हुनु भएन । दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्रदेखि लिएर बैंकका भौजर, संघको छाप सबै उहाँसँगै थिए । अद्यापि छँदैछन् । संघको डकुमेन्ट दिनुको सट्टा संघ अवैधानिक भएको भन्दै उजुरी दिनुभयो । एक वर्षसम्म प्रशासनमा तारिख बोक्नु पर्यो । संघको विधान, दर्ता प्रमाणपत्रको प्रतिलिपि निकाल्दै एक वर्ष वित्यो । निकै चुनौतिबीच संघको विरासत कायमै राख्न सफल भइयो । संघ विघटन हुन्छ कि भन्ने चिन्ता थियो । हामी त्यसो हुन दिएनौं । आज चलिरहेको संघ त्यही दर्ता प्रतिलिपी प्रमाणपत्रले हो । जिल्ला प्रशासन कार्यालयले लक्की चौधरी नेतृत्वको संघलाई वैधानिकता दिएर विनिता चौधरी नेतृत्वको संघलाई खारेज गर्यो । सोपछि जिल्ला विस्तारको काम शुरुभयो । पहिलो जिल्ला शाखा कैलाली गठन भएको थियो । तर संघको विधानलाई फराकिलो पार्न सकिएको छैन ।

सुनसरीमा भएको तेस्रो महाधिवेशनलाई सर्वसम्मत बनाउन सकिएन । धेरै प्रयास गर्दा पनि भएन । पहिलो र दोस्रो महाधिवेशनले सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । यो चौथो महाधिवेशनबाट सर्वसम्मत नयाँ कार्य समिति चयन गरेर थारु एकताको सन्देश दिन सक्नुपर्छ ।

२०७५ मा दाङमा विधान सम्मेलन भएको थियो । यद्यपि विधानलाई अझ समयानुकुल परिमार्जन गर्नुपर्ने देखिन्छ । विधान सम्मेलनबाट पारित दफाहरु अझै स्थानीय प्रशासनबाट स्वीकृति लिने काम भएका छैन । त्यसलाई वैधानिकता दिनुपर्ने छ । थारु पत्रकारको गुणस्तर बढाउन सकिएको छैन । तालिम प्रशिक्षणको आवश्यकता खड्किएको छ । तुलनात्मकरुपमा थारु पत्रकारको संख्या र गुणस्तरीयता बढे पनि पर्याप्त छैन । अब आउने नयाँ नेतृत्वको काँधमा ठूलो जिम्मेवारी र कामको चुनाति छ । त्यसैले नेतृत्व सक्षम र राम्रो हुनु अनिवार्य छ । यसअघि सुनसरीमा भएको तेस्रो महाधिवेशनलाई सर्वसम्मत बनाउन सकिएन । धेरै प्रयास गर्दा पनि भएन । पहिलो र दोस्रो महाधिवेशनले सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । यो चौथो महाधिवेशनबाट सर्वसम्मत नयाँ कार्य समिति चयन गरेर थारु एकताको सन्देश दिन सक्नुपर्छ । पत्रकारहरु जिम्मेवार बनेमा त्यो सम्भव छ । पदमा जानकालागि सबै हौसिने तर काम नगर्ने प्रबृत्ति देखिएको छ । यसमा सुधार गर्न सक्यौं भने संघलाई फाइदा पुग्छ र पत्रकार पनि जिम्मेवार बन्दै जान्छन । शुभकामना छ, अवको नयाँ कार्यकाल सर्वसम्मत बनोस् ।

थारु संघ संगठनहरु विवादरहित छैनन् । पत्रकारको संघ पनि अछुतो रहने कुरै भएन । तथापि वादविवाद र समस्याकाबीच संघ कायम छ । थारु कल्याणकारिणीसभा (थाकस) पनि विवादकै बीचबाट अहिलेको अवस्थामा आइपुगेको छ । थारु पत्रकारको नाताले हामी सबैले आफ्नो ठाउँबाट थारु गतिविधिलाई पहिलो स्थान दिएका छौं नै । थाकस नितान्त सामाजिक संस्था हो । थारु समाजको सामाजिक, सांस्कृतिक विषयमा उसले वहस छलफल चलाउन सक्छ । थारु पत्रकारको नाताले हामीले आफ्नो समुदायको समाचारलाई प्राथमिकता दिनु पर्छ नै । यद्यपि कतिपय समाचार हामीले चाहेअनुसार प्रकाशन गर्न सक्दैनौं । आफू प्रकाशक सम्पादक रहेको मिडियामा जस्तो समाचार राखे पनिभयो । तर अरुको मातहतमा काम गरिएको मिडियामा चाहेकोजस्तो समाचार प्रकाशन प्रशारण सम्भव हुँदैन ।

तथापि हामी आफ्नो अभियानबाट विचलित छैनौं । थारु पत्रकारको संख्या बढाई संघलाई देशव्यापी फैलाउने मुख्य मिसन थियो । त्यो मिशन धेरै हदसम्म सफल छ । बाँकी काम गर्दैजानुपर्ने छ । अहिले धेरै थारु पत्रकार मुलधारका मिडियामा कार्यरत छौं । थारुको गतिविधि समाचार बनाउँदा धेरै समस्या र तनाव पनि भोगेका छौं । जातीय पत्रकारको विल्ला पनि भिर्नुपरेको छ । यत्ति हुँदा पनि हामी धेरै हदसम्म सफल छौं । हिजो कमिटी बनाउन पत्रकार जम्मा गर्न हम्मे थियो । आज संख्या बृद्धि भएको छ । गुणस्तर पनि बढ्दै गएको छ । यसलाई कायमै राखेर संघलाई अगामी दिनमा महासंघमा रुपान्तरण गरी यसको दायरा फराकिलो बनाउनुपर्छ । थारुको अधिकार अझै संविधानमा पूर्णतः सम्बोधन भएको छैन । समावेशीताको मुद्दा फराकिलो भएको छैन । यो लामो दौडको अभियान हो । मिसनमा निरन्तर लागिरह्यौं भने सफलता एकदिन हात लाग्छ ।

तपाईको प्रतिक्रिया