थारु पत्रकार संघमा दहित सर्वसम्मत, चितवन घोषणापत्र जारी


काठमाडौं, भदौ २३ गते । थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशनले पत्रकार सन्तोष दहितको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । चितवनको सौराहामा शनिबार सम्पन्न महाधिवेशनले पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा उन्नति चौधरी (कैलाली), महासचिवमा सन्तकुमार चौधरी (चितवन), सचिवमा कमल चौधरी (रुपन्देही), कोषाध्यक्षमा दुष्यन्त चौधरी (बारा) सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, सदस्यहरुमा हेमन्त चौधरी (बाँके), दिप्ती शिखा चौधरी (दाङ), श्रीराम दहित (दाङ), मधुरानी चौधरी (बाँके), रेनु चौधरी (बारा), शम्भुप्रसाद थारु (बाँके), राजु चौधरी (चितवन), रामअवतार चौधरी (कपिलवस्तु), रामचन्द्र कुश्मी (कञ्चनपुर) र चन्द्रिका चौधरी (कञ्चनपुर) रहेका छन् ।

संघको निर्वाचनका लागि लक्की चौधरीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो । समिति सदस्यमा कृष्णराज सर्वहारी र ठाकुरसिंह थारु हुनुहुन्थ्यो । दुई दिनको लामो प्रयासपछि संघको नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । यद्यपि केही पत्रकारको असन्तुष्टि देखिए पनि लोकतान्त्रिक प्रक्रिया र विधिसम्मत ढंगले महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनको उदघाटन कृषि तथा पशुपन्छि राज्यमन्त्री रामकुमारी चौधरीले गर्नुभएको थियो । कार्यक्रममा संघीय सांसदहरु शान्ता चौधरी, तेजुलाल चौधरी, गंगा सत्गौंवा थारु, लक्ष्मी चौधरी, प्रदेश ३ का प्रदेश सदस्य रामलाल महतो, अन्य नेताहरुमा राजकुमार लेखी, लक्ष्मण थारु लगायतको पनि सहभागिता थियो । उपत्यकासहित देशभर १७ शाखा रहेको संघमा करिब अढाईसय पत्रकार आवद्ध छन् । २०६७ चैत १६ गते विधिवत दर्ताभई संघको स्थापना भएको थियो ।

कसले के बोल्यो
कार्यक्रममा राज्यमन्त्री रामकुमारी चौधरीले संविधानले दिएको अधिकारलाई सुरक्षित गर्दै थप अधिकारका लागि लाग्न थारु समुदायलाई सुझाव दिनुभयो । थारु एकताले मात्र अधिकार सुनिश्चित हुने उहाँले बताउनुभयो । थारु नेताहरु निश्चित भुगोलमाको नेतृत्वमा सीमित नभई सिंगो राष्ट्रको नेतृत्व गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।

सांसद शान्ता चौधरीले थारुको मात्र मुद्दा उठाएर थारुहर कहिल्यै देशको नेतृत्वमा पुग्न नसक्ने भन्दै सबै नेपालीको पक्षमा लाग्न आग्रह गर्नुभयो । थारुको हकहितमा ध्यान दिंदै देशकै पक्षमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

सांसद तेजुलाल चौधरीले पत्रकारमा अझै अध्ययनको कमी देखिएकाले अध्ययन बढाउन सुझाव दिनुभयो । पत्रकारको भूमिका थारु एकता बनाउनमा हुनुपर्ने भन्दै उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा सांसद गंगा थारु सत्गौंवा, लक्ष्मी चौधरी, प्रदेश सदस्य रामलाल महतो, नेताहरु राजकुमार लेखी, लक्ष्मण थारु, थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरी, थाकस चितवनका अध्यक्ष ललित चौधरी, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, पत्रकार लक्की चौधरी, कारी महतो लगायतले धारणा राख्नुभएको थियो । संघले ९ बुँदे चितवन घोषणापत्र सार्वजनिक गरेको छ ।

हेर्नुहोस् घोषणापत्र

थारु पत्रकार संघ, नेपाल
चौथो राष्ट्रिय महाधिवेशन
सौराहा, चितवन
मिति २०७६ भदौं २२

घोषणापत्र
सञ्चारमा समावेशिता, कार्यान्वयनमा अनिवार्यता’ मूल नाराका साथ थारु पत्रकार संघ नेपालको आठौं वार्षिक साधारणसभा तथा चौथो महाधिवेशन चितवनको सौराहामा मिति २०७६ भदौ २०, २१ र २२ गते सम्पन्न भयो । महाधिवेशनले ९ बुँदे सौराहा घोषणापत्र जारी गरेको छ ।

१. थारु पत्रकार संघ नेपालको चौथौ महाधिवेशन ‘सञ्चारमा समावेशिता, कार्यान्वयनमा अनिवार्यता’ मूल नाराका साथ सम्पन्न भएको छ । यही नारालाई कार्यन्वयन गराउन जोड गर्दछौं ।

२ सञ्चारकर्मीको विरुद्धमा रहेको मिडिया विधेयकको असमावेशी बुँदा खारेज गर्न माग गर्दछौं ।

३ थारु बाहुल क्षेत्र रहेको स्थानीय तहहरुमा थारु मातृभाषालाई कामकाजी भाषा बनाउन माग गर्दछौं ।

४ चितवनको पर्यटकीय नगरी सौराहामा प्रस्तुत गरिने थारु सँस्कृति तथा परम्परागत चिजबिजको ‘प्याटेन्ट राइट’ स्थानीय थारु समुदायमा रहने हुँदा सम्बन्धित निकायसँग वैधानिकताको माग गर्दछौं ।

५ नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरेकाले सोहीअनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटाको छुट्टै व्यवस्था गर्न माग गर्दछौं ।

६ थारु कलस्टर छिन्न भिन्न बनाइएकाले थारु पहिचान खुल्नेगरी छुट्टै प्रदेश र संविधानले व्यवस्था गरेको विशेष क्षेत्र र संरक्षित क्षेत्र निर्माणको माग गर्दछौं ।

७ नेपाल सरकार (संघ, प्रदेश र स्थानीय तह) ले पत्रकारिताको विकासका लागि प्रदान गर्ने अनुदान सहयोग थारु पत्रकार संघलाई पनि उपलब्ध गराउन माग गर्दछौं ।

८ मूलधारका मिडियामा थारु समुदायका सबाल प्रकाशन तथा प्रसारण सन्तोषजनक नभएकाले त्यसमा ध्यान दिन सम्बन्धित पक्षसँग माग गर्दछौं ।

९ थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशन सम्पन्न गराउने चितवन शाखासहित निर्वतमान कार्यसमिति, सल्लाहकार समिति, स्थानीय तह, स्थानीय संघसंस्था, सौराहा होटल व्यवसायी संघ, प्रहरी, स्थानीय प्रशासन लगायत सम्पूर्णलाई हार्दिक आभार ब्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया