हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ४ गते । चन्द्रागिरी नगरपालिका वडा नं. १२ वडा कार्यालयले एकसय एघार जना जग्गाधनीलाई लालपूर्जा तथा ७७ जना स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ ।
गर्जुधाराको बलम्बुस्थित नेवार गाउँमा शुक्रबार आयोजित कार्यक्रममा काठमाडौं नापी शाखाका प्रमुख सुरेश जोशी तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरीले संयुक्तरुपमा लालपूर्जा वितरण गर्नुभयो । यसअघि २०२१ सालमा नापी गर्न छुट भई, घरजग्गा आफ्नै नाममा रहेको तर लालपूर्जा नरहेका बलम्बुबासीलाई पुनः जग्गा नापनक्सा गरी लालपूर्जा वितरण गरिएको नापी प्रमुख जोशीले बताउनुभयो ।
जग्गाको लालपूर्जा नहुँदा बैकिङ कामकाज गर्न कठिन भइरहेका बेला लालपूर्जा प्राप्त हुँदा स्थानीयलाई घरव्यवहार चलाउन सहज हुने विश्वास प्रमुख जोशीले गर्नुभयो । उहाँले लालपूर्जा प्राप्त गर्न छुट भएका चन्द्रागिरी, कीर्तिपुर तथा काठमाडौं महानगरपालिका भित्रका केही गाउँ ब्लकका जग्गाको पुनः नापजाँच गरी लालपूर्जा वितरणको अभियान शुरु गरिएको जानकारी दिनुभयो । सो काम बलम्बु गाउँबाटै शुरु गरिएकोमा स्थानीय जग्गाधनीलाई उहाँले बधाई ज्ञापन गर्नुभयो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरीको बलम्बुपछि सतुङ्गलबासीलाई लालपूर्जा वितरणको काम शुरु गरिने बताउनुभयो । बलम्बु नेवारी गाउँलाई सम्पदाभित्र पारेर त्यसको संरक्षण तथा प्रवद्र्धनकालागि निश्चित बजेट समेत निकासा भइसकेको बताउनुभयो । स्थानीय नेवारी कला, संस्कृतिक तथा संस्कारको जगेर्ना गरी नेवार समुदायको पहिचान तथा संस्कारको संरक्षणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
वडा अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा आयोजिक कार्यक्रममा बुद्ध महर्जन, धर्म महर्जन, रामचन्द्र महर्जन, प्रेमबहादुर महर्जनसहित १११ जनालाई जग्गाधनी लालपूर्जा वितरण गरिएको थियो । त्यस्तै, ८० वर्ष उमेर पूरा भएका ७७ जना ज्येष्ठनागरिकलाई वडा कार्यालययले न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ ।
चिसो मौसम शुरु भएसँगै न्यानो कपडा पाएपछि खुशी हुनुभएकी ज्येष्ठ नागरिक धनमाया श्रेष्ठ (८६) ले वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँसँगै ज्येष्ठनागरिक चरिमाया कुँवर, जीतबहादुर बानियाँ, जजुभाइ श्रेष्ठ, जोगमाया नकर्मी, धनबहादुर राउत, बलराम पौडेल, प्रेमकला भुषाल, मंगलदास महर्जन, महानन्द खनाल, माइला महर्जनलगायतलाई नगरप्रमुख गिरी तथा नापी प्रमुख जोशीले ज्याकेट वितरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठ, सचिव राजु बुढाथोकी, नेपाली काँग्रेसका स्थानीय नेता लोकनाथ भट्टराईसहितका स्थानीय नेताहरुले धारणा राख्नुभएको थियो ।