उत्पादन बढाउन थारु ग्रामथानमा मङ्सिर पुर्णिमाको “नेमानी पूजा” सम्पन्न


सुनिल चौधरी
झुम्का, मंसिर २८ गते । नेपालीहरुको प्रमुख अन्नबालीको रुपमा रहेको धान अन्न मंसिर लागेपछी भित्रयाउने गरिन्छ । बर्षभरी खानलाई अन्न पुग्ने मान्यताअनुरुप असार देखिनै लगभग ५ महिनासम्म खेतमा संघर्ष गरेको फल प्राप्ती हुने अवसरमा यसरी नै हरेक वर्ष उब्जनी होस् भन्दै दही र नयाँ धानको च्युरा देवतालाई चढाएर थारु ग्रामथानमा मंसिर पुर्णिमाको “नेमानी पूजा” गर्ने परमपरा छ ।

असार महिनाबाट खेती लगाउने सुरुवातमा पनि “अखारी पूजा” गर्ने गरिन्छ । लगाउन लागेको अन्नबालिमा कुनै किसिमको रोगब्याधि नलागोस, खेती उठाउने कर्ता तथा हलो जोत्नेलाई धान रोप्ने र काट्ने अवधीसम्म कुनै किसिमको संकट नहोस् भन्ने कामना गर्दैै अन्नबाली भित्र्याउने बेलामा मंसिरको पुर्णिमामा नयाँ अन्नबाली सांकेतिक रुपमा प्रकृतिलाई चढाउदै “नेमानी पूजा” गर्ने थारु समुदायमा पौराणिक मान्यता रहिआएको छ । “अखारी पूजा” मा भने दुध, सख्र र चामल मिश्रित खिर प्रसादको रुपमा चढाउदै खेती उठाउने सुरुवात गरिन्छ ।

“नेमानी पूजा” बर्षमा एक पटक गर्ने गरिन्छ भने “अखारी पूजा” बर्षमा दुई पटक ग्रामथानमा पूजा गर्ने गरिन्छ । रामधुनी– १ नयाँटोल भादगाउँस्थित सौनधामी ग्रामथानमा भजन गर्दैआएका ७० बर्षीय गुजकलाल चौधरीकाअनुसार लगभग ४० बर्षदेखि ग्रामथान पूजामा पौराणिक गीत गाउँदै आइएको छ । गाउँटोलमा कुनै किसिमको दैबिक प्रकोप, संकट नआसोस् र बालबच्चामा सुखशान्ति होस् भन्ने मान्यता राख्निे गरिएको चौधरीले बताउनुभयो ।

नेमानी गर्दा बिहानै टोलका समुदायहरु भेला भएर ग्रामथानमा सरसफाई गर्छन् । थानको कुनामा धानका बालाहरु झुण्ड्याउने गरिन्छ । थानको वरिपरिरहेका बास रहेको ५६ करोड देबी देवताको स्थानमा समेत धानका बालाहरु झुण्ड्याउदै बेलुका भजन गाएर प्रसाद ग्रहण गरी पूजा सम्पन्न गर्ने गरिन्छ । प्रसाद ग्रहण गर्नुभन्दा अगाडि प्रत्येक घरबाट दियोबाली साँझ देवतालाई बत्ति बाली लडडु पान सुपारी चढाउने परम्परा छ ।

ग्रामथानमा पूजा हुनेबेला सम्बन्धित देबी देवतालाई स्मरण गर्दै भजन गर्ने परम्परा रहेको छ । “धामी धामी बरुभेल, बाघ बरद हर जोतन गेल, हे बामलेल बरद दहिनेलेल बाघ, उत्तर दक्षिण धामी धाईलेल चाल, खोलीलेल बरद हकाई देल बाध, चलि गेल सौन धामी बृजबन सिकार, हे हरिणोने मारे धामी सुगरोने मारे, बिछी बिछी सौन मारे धामी मेजुर झन्कार, हे मेजुर मारे धामी कैलक कोरा हार, छपन्न करोड देवता बैठल जमात हे” यसरी शब्द उचारण गरी थारु भाषामै सौनधामी भजन गाउने मान्यता छ । ग्रामथानमा राजाजि, बधेश्री, तुमलुंग मुखिया, सल्हेस लगायत ५६ करोड देबी देवताको बास रहेको हुन्छ भन्ने मान्यता छ ।

भजनका लागि ८४ बर्षिय भुटाई चौधरी, ७० बर्षिय गुजकलाल र ८१ बर्षिय भरतलाल चौधरीलाई जिम्म दिने गरिएको छ । उहाँहरुकै साथमा सोहीगाउँका डोकीलाल चौधरी, कुलाई चौधरी, हरी चौधरी, जदु चौधरीले पनि भजन गाउँदै आउनुभएको छ ।

भादगाउँ नयाँ टोलको पुर्व सौन धामी ग्रामथान छ । सो ग्रामथानमा भने युवाले पूजा गर्ने नेतृत्व लिएका छन् । अगुवाको रुपमा पूजा गर्दैआएका बुधनारायण चौधरीको निधन भएपछि उहाँको छोरा आलोक चौधरीले यस बर्षदेखि पूजा लिई नेतृत्व गरेका हुन् । पूजा अर्चना गर्दै गाँउटोलमा सुख समृद्धिको कामना गरेको पूजारी आलोक चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया