फोनिज राष्ट्रिय भेला सम्पन्न, साना लगानीका मिडिया प्रवद्र्धनको माग

घोषणापत्रको पूर्णपाठ सहित


हमार पहुरा डट कम
सिन्धुली, पुस ८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । सिन्धुलीको खनियाँखर्कमा आयोजित भेलाले तेह्र बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

भेलाको उदघाटन प्रदेश ३ का कानून तथा आन्तरिक मामिला मन्त्री सालिकराम जमकट्टेलले गर्नुभएको थियो । भेलाले साना लगानीका मिडिया तथा मातृभाषी मिडियाको प्रवद्र्धनमा सहुलियतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । त्यस्तै, समानुपातिक विज्ञापन लागु गर्न, पत्रकारको पेशागत हकअधिकार सुनिश्चित् गर्न तथा सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न पनि मिडिया हाउससँग आग्रह गरेको छ ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०७६ पुस ६ र ७ गते प्रदेश नम्बर ३ सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी÷पर्यटकीय क्षेत्र खनियाखर्कमा सम्पन्न राष्ट्रिय भेलाले १३ बुँदे ‘नेवा– ताम्सालिङ समावेशी सञ्चार घोषणा पत्र–२०७६’ जारी गर्दछ,

१. ऐतिहासिक सिन्धुलीगढीका विजेता बङ्शु गुरुङको योगदानको उच्च सम्मानसहित उहाँको वीरतालाई आत्मसात गर्दै हामी आदिवासी, जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशा समेतलाई पहिचान, समावेशीतालाई थप कार्यन्वयन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई प्रदेश नम्बर ३ को नामाकरण ‘ताम्सालिङ–नेवा’ गरियोस् भनि यो भेला जोड्दार माग गर्दछ ।

२. राष्ट्रियसभामा छलफलका लागि प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक’ मा प्रेस स्तन्त्रतामाथि कुनै प्रकारको सङ्कुचन नआउनेगरी आवश्यक व्यवस्थाहरु गर्न माग गर्दै मिडिया काउन्सिललाई समावेशी चरित्रको बनाउन यो भेला संघीय सरकारसँग जोड्दार माग गर्दछ ।

३. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक सबै सञ्चारमाध्यममा लागु गराउन माग गर्दै साना लगानीका सञ्चारमाध्यमलाई सरकारका तर्फबाट आर्थिक सहुलीयतको व्यवस्था गर्न तीनै तहका सरकार समक्ष यो भेला माग गर्दछ ।

४. समाचार लेखेकै भरमा पत्रकारलाई कुटपिट गर्ने, धम्क्याउने, मानसिक तनाव दिने जस्ता गतिविधि तत्काल अन्त्य गर्दै पत्रकारको पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न तीनै तहका सरकारसँग यो भेला माग गर्दछ ।

५. मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चारमाध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् भनि यो भेला माग गर्दछ ।

६. राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा स्थानीयदेखि संघ तहसम्मका ठूला तथा साना लगानीका सञ्चारमाध्यमलाई समेत उपलब्ध गराउने कानूनी व्यवस्था गर्न यो भेला माग गर्दछ ।

७. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग यो भेला माग गर्दछ ।

८. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणका आधारमा पुष्टि भएकाले महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न नेपाल पत्रकार महासंघसँग यो भेला विशेष माग गर्दछ ।

९. नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसम्बद्ध संघसंस्थालाई वार्षिक रुपमा उपलब्ध गराउदै आएको अनुदान रकम फोनिजलाई हाल कटौती गरेकोले उक्त अनुदान उपलब्ध गराउन यो भेला माग गर्दछ ।

१०. नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत पत्रकारहरुलाई प्रदान गर्दै आएको पुरस्कार तथा प्रोत्सान समावेशीताका आधारमा प्रदान गर्न भेला माग गर्दछ ।

११. नेपालको जातीय चित्रअनुरुप राज्यव्यवस्थामा समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्दै नेपाली सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोहीअनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशीताका लागि यो भेला माग गर्दछ ।

१२. ऐतिहासिक सिन्धुलीगढीका भग्नावशेषहरुको संरक्षण, सम्बद्र्धन र विकासका पुर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न ‘भिजिट नेपाल–२०२०’ सफल बनाउन तीनै तहका सरकारसँग विशेष परियोजना र प्रवद्र्धनका लागि यो भेला माग गर्दछ ।

१३. नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को राष्ट्रिय भेलाका प्रमुख अतिथि प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री शालिकराम जम्कट्टेल, विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष श्री गोविन्द आचार्य, फोनिजका सल्लाहकार, सिन्धुलीका प्रदेशसभा सदस्य, यो भेला आयोजना गर्न सहकार्य तथा महत्वपूर्ण भूमिका निर्वाह गर्नहुने एशिया इण्डिजिनियस् पिपुल प्याक्ट (एआईपिपी), यसका उपमहासचिव चन्दा थापा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, मरिन गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार विशेष क्षेत्र सिन्धुली र चेतना भिलेज रिसोर्ट खनियाखर्क, फोनिज ३ नम्बर प्रदेश, सिन्धुली शाखा, नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय, कलाकार र स्थानीयवासीलाई यो राष्ट्रिय भेला विशेष धन्यवाद व्यक्त गर्दछ ।

२०७६ पुस ७ गते ।

तपाईको प्रतिक्रिया