सुनसरीको झुम्कामा एकदिने तिला संक्राइत महोत्सव सम्पन्न, दर्शक उत्साहित


सुनिल चौधरी
झुम्का, माघ १ गते । माघे संक्रान्ति र पर्यटन बर्ष सन् २०२० को अवसरमा मंगलबार रामधुनीको झुम्कामा तिलासंक्राईत माघ महोत्सव २०७६ सम्पन्न भएको छ । थारु महिला उत्थान समाज सुनसरीको आयोजनामा भएको कार्यक्रमको उदघाटन प्रदेश २ का प्रदेश सभा सदस्य नबोदिता चौधरीले गर्नुभयो ।

महिलाको नेतृत्वमा आयोजित महोत्सवले महिला शसक्तीकरणको सन्देश दिएको प्रदेश सभा सदस्य चौधरीले बताउनुभयो । महिलाहरु संस्कृति संरक्षणमा भुमिका बनाई रहेकाले महिलाको एकता अब राज्यबाट अधिकार प्राप्त गर्नेमा लगाउनु पर्ने धारणा ब्यक्त गर्नुभयो । राज्यले अझै थारु समुदायको प्रतिनिधित्वमा सकारात्मक हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

उत्थान समाजका अध्यक्ष सीता थरुनी चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उत्थान समाजले संक्रान्तिको बिशेषता भुजा र तिलको लड्डु ठूलो र आकर्षक बनाएका समुहलाई पुरस्कृत गरेको छ । पौराणीक मान्यताअनुसार जाडोमा उब्जनी भएका नयाँ अन्नबालीलाई सख्खरमा मिश्रितगरी खानाले शरीरलाई चिसोबाट बच्न सहयोग पुग्ने विश्वास गरिन्छ ।

प्रतियोगितामा रामधुनी १ सैनिमैनिका सरस्वती टोल बिकास संस्था पहिलो, वडा नं. ९ को थारु महिला सभा सितपुरटोल दोस्रो र सैनिमैनिकै जुराईधामी टोल बिकास संस्था तेस्रो भएको थियो । क्रमश पहिलो, दोस्रो र तेस्रोलाई नगद राशी पन्ध्रसय, एक हजार र सातसय रुपियाँ प्रदान गरिएको संस्थाका उपाध्यक्ष आशा चौधरीले बताउनुभयो ।

महोत्सवमा थारु समुदायले बिवाहमा प्रयोग गर्ने मरुवा, बैलगारी, च्युरा कुट्ने ढेकी लगायतका पौराणीक सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । थारु परिकारहरुको प्रदर्शसहित सांस्कृतिक झाँकी तथा प्रस्तुती पनि गरिएको थियो ।

कार्यक्रममा थारु संस्कृति झल्किने नृत्य, पर्वको महत्व दर्शाउन वडा ५ हसनपुरटोलबाट तिलारा र तिल्य नामक सचेतना नाटक, रक्सी र परस्त्रीमा लागेर भुमिहिन बनेकाहरुको बिषय उद्धृत गर्दै कुलदिप, जानकी र ललिता चौधरीले हाँस्य नाटक प्रस्तुत गरेका थिए ।

गायन तर्फबाट पनि दर्शकलाई नचाएर महोत्सव मनोरन्जक भएको थियो । गायक श्रीनिवास चौधरी, लोक गायिका गंगा गौतम, सुनिल, अनुमा, गिता चौधरी, निकिता मण्डल चौधरी, आदित्य मण्डल, उमेश मण्डल लगायतले प्रस्तुती गरेका थिए ।

उत्थान समाजकी अध्यक्ष सीता थरुनीले महोत्सवले थारु कला संस्कृतिको संरक्षण सँगै पर्यटन वर्ष २०२० प्रवद्र्धनमा समेत टेवा पुगेको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी पकली प्रमुख कैलाश अधिकारी, वडा नं. १ वडा अध्यक्ष महेश चौधरी, वडा नं. ९ का घनश्याम चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुसिला लेखी, सहसचिव ममता चौधरी लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया