के हो थारु भुत्वा ? के छ रहस्य

संस्कार-संस्कृति

लक्की चौधरी

थारु समुदायमा देवतालाई बोलीचोलीको भाषामा ‘भुत्वा’ भनिन्छ । अर्थात् थारुको लालनकर्ता, पालनकर्ता, संरक्षणकर्तादेखि संहारकर्ता लाई समेत भुत्वा नामले सम्बोधन गरिन्छ । तर देवता र पिसाच (वैरी मृतात्मा) बीच भिन्नता भने छ । देवता भनेका मानव जातिका संरक्षणकर्ता रुप हुन् । तर पनि भुत्वा नै भनिन्छ । भुत्वाको नकारात्मक अर्थ भनेका मानव जातिका विनाश गर्ने रुप हो । तथापि थारुले सम्बोधनमा दुवै कोटीकालाई भुत्वा भन्दा देवता पक्षलाई अन्याय हुनजान्छ । त्यसैले युवा पिढीका थारुले भुत्वाको रुपलाई पर्गेल्ने प्रयासमा छन् । घर, समाज र गाउँका सदस्यको संरक्षण गर्नेलाई देउँता र मृतआत्माको सहायताले गाउँघरका सदस्यलाई विनाकारण दुःख दिनेलाई भुत्वा भन्न थालिएको छ । घरका सदस्यको संरक्षण र गाउँघरलाई रोगव्याधी, महामारीबाट बचाउने थारु गाउँमा सामुहिक देउता (ग्राम देवता) अर्थात् देउथानमा बस्ने देवता हुन्छन् । जसले अन्य दुःख दिने भुत्वाबाट समेत थारुको संरक्षण गर्छन् । त्यही भएर देउतालाई खुशी पार्न थारु समुदायमा महिनैपिच्छे ठूला पूजापाठको आयोजना गरिन्छ । परापूर्वकालमा औषधि उपचार, चिकित्सकको व्यवस्था नहुँदा थारु समुदायमा यिनै देउताको पूजापाठ गरी गुरुवा (गाउँका पुरोहित) को मन्त्रजपले उपचार गर्ने गर्थे । त्यही परम्परा अद्यापि छ । तर त्यसमै अन्धभक्त समाज भने अहिले छैन । थारु समुदायका देवता (भुत्वा) के के छन् यसबारेमा यहाँ चर्चा गरिएको छ ।

मैयाँ
थारु घरको सबैभन्दा महत्वपूर्ण देउताको रुपमा मैयालाई लिइन्छ । यिनको स्थान अन्य देउता (देवता) को बीचमा हुन्छ । मैयाँलाई पार्वतीकोरुपमा चिनिन्छ । यसको आकार त्रिशुलकोरुपमा फलामले निर्माण गरिएको हुन्छ । थारुको देवतामध्ये बढी शक्ति भएकी देवताकोरुपमा मैयाँलाई मानिन्छ । मैयाँलाई थारु घरको उत्तर–पुर्वी कोठा (देहुरार) पाटामा राख्ने गरिन्छ । थारुको घर उत्तर–दक्षिण लामो आकारमा हुन्छ । प्रमुख संरक्षणकर्ताकोरुपमा यो देवीको पूजा गरिन्छ । खासगरी दशैंमा मैयाँको पूजा हुन्छ ।

लटौ महादेव
जटाधारी महादेवलाई थारु समुदायले लटौ महादेवकोरुपमा पुज्छन् । यी देवताको स्थान थारुको देहुरार पाटामा हुन्छ । यी देवतालाई मयुरको प्वाँखकोरुपमा पनि राख्ने गरिन्छ । गुरुवाले मयुरको प्वाँखलाई मन्त्रले जपेर लटौ महादेवको रुप दिएको हुन्छ । घरका सदस्यको संरक्षण नै लटौ महादेवको मुख्य जिम्मेवारी हुन्छ ।

गुर्बाबा
थारु धर्मका प्रवर्तककोरुपमा यी देवतालाई लिइन्छ । थारु धार्मिक सम्प्रदायका प्रणेताको प्रतिक पनि यिनै देवता हुन् । थारु धर्मका व्याख्याता, थारु तन्त्रमन्त्रका मुल पुरुष, थारु सन्त महात्मा, आध्यात्मिक सिद्धि प्राप्त पुरुषकोरुपमा गुर्बाबालाई लिइन्छ । थारु पुराणअनुसार गुर्बाबालाई सृष्टिकर्ताकोरुपमा पनि पूजिन्छ । यी देवताको आसन पनि देहुरार कोठाको पाटामा हुन्छ ।

खेखरी
देहुरार पाटामै आसन रहने खेखरी देवता पनि मैयाँकै वरिपरि रहने गर्छन् । फलामकै चारपाटामा निर्माण गरिएको खेखरीको माथि गोलाकार रिङ आकारका फलामका टुक्रा राखिएका हुन्छन् जसलाई थारुले झुन्झुनियाँ भन्छन् । यी देवताको पनि विशेष पूजा दशैंमा हुने गरेपनि अन्य बेला पनि गर्ने प्रचलन छ ।

सौंरा
शिव र पार्वतीको पुत्र गणेशको प्रतिककोरुपमा सौंरालाई चिनिन्छ । कुनै पनि पूजापाठ गर्दा पहिले सौंराको पूजा गर्ने प्रचलन छ । सौंराको बास पनि देहुरार कोठामै हुन्छ । दशैंमा पितृ श्राद्ध गर्दा सौंराको पूजा अनिवार्य रुपमा गरिन्छ । घरका सदस्यको संरक्षण र विघ्नबाधाबाट बचावटको भाकलसहित सौंरालाई पुजिन्छ ।

भें¥वा
घरको पूर्वी ढोकाअगाडि निर्माण गरिने मर्वा (देवताको घर) मा भें¥वा देवताको आसन हुन्छ । सँगसँगै देवता कोठा देहुरार पनि यो देवताको आसन हुन्छ । माटोको घोडा आकारको बनाइएको भे¥वालाई हरेक वर्ष दशैंको अस्टमीमा नयाँ रुपमा फेर्नुपर्ने हुन्छ । थारु घरको पूर्वी द्वारमा ढोका लगाइएको हुँदैन । खुला हुन्छ । चोर, दुश्मन तथा अन्य दृषित मृतात्मा घरमा प्रवेश गर्नबाट रोक्ने काम यो देवताले गर्छ । थारु घरका देवताको शक्तिले होला सायद द्वारमा ढोका हाल्ने प्रचलन नरहेपनि घरमा चोरी भएको सुनिदैन । यो देवताको पूजा हरेक नयाँ कामको शुरुवात गर्दा वा घरका सदस्य दुःख विमार पर्दा पूजापाठ गर्ने गरिन्छ ।

घोर्वा
यो देवताको आसन पनि देहुरार नै हुन्छ । यसलाई कुल पुरोहित देवताकोरुपमा चिनिन्छ । यो देवतालाई पाँच इन्द्रिय भएको देवताकोरुपमा पनि चिनिन्छ । थारु घरका सदस्यको संरक्षण तथा दुःख विमारबाट छुटकारा दिलाउने देवताकोरुपमा यसलाई मान्ने गरिन्छ । देहुरार पाटामा बस्ने सबै देवताको पूजापाठ सामुहिकरुपमा हुनेगर्छ ।

डहरचण्डी
देवी पार्वतीको अर्को रुपर्लाइ डहरचण्डी भनिन्छ । यी देवीको बास थारु गाउँभरिको सामुहिक देवता रहने ठाउँ देवथानमा डहरचण्डीको आसन हुन्छ । थारु गाउँका सदस्यलाई रोगब्याधीबाट जोगाउने तथा घरका पशु चौपायाको संरक्षणकालागि पनि यी देवीको पूजा गर्ने गरिन्छ । हरेक वर्ष देवथानमा वार्षिक ठूलो पूजा हुन्छ । अन्यबेला नयाँ बाली रोप्नेबेला र गाउँका सदस्यको विवाहबारीका बेला पनि देवीको पूजा गरिन्छ । डहरचण्डीको फेरा लिएर मात्र नयाँ दुलहादुलही घरमा प्रवेश गर्ने प्रचलन छ । यसो गर्दा दाम्पत्य जीवन सुखी र सफल हुने विश्वास गरिन्छ ।

चतुर्वाहु
चारवता हात भएका ब्रह्माको प्रतिककोरुपमा यी देवताको पूजा गरिन्छ । देउथान (ग्रामथान) मा यी देवताको आसन हुन्छ । गाउँको खेतमा लगाइएका बालीको संरक्षण तथा सम्बद्र्धनका लागि चतुर्वाहु पुजिन्छन् । खेतमा किरा फट्याङ्ग्रा लाग्न नपाऊन् र विभिन्न किरा लागी बाली नष्ट नहोस् भनेर यी देवताको पूजा गरिन्छ । चारवटा चारै दिशामा रहेको हातले सबै दिशाबाट आउने समस्यालाई रोक्ने काम यी देवताले गर्ने गरेको विश्वास गरिन्छ ।

जगन्नठ्या
पछल्डंग्या थर रहेका थारुको घरमा यी देवताको विशेष पूजा हुन्छ । गाउँको साझा देवतामध्ये सर्वश्रेष्ठ देवताकोरुपमा जगन्नठ्यालाई लिने गरिन्छ । यिनको आसन ग्रामथान (देवथान) मा हुन्छ । वार्षिक तथा आवश्यक परेका बेला यी देवताको पूजा गरिन्छ ।

धमरज्वा
थारु घरका सदस्यहरु कालगतिले मृत्युवरण गरेपछि स्वर्गमा वा नर्कमा कहाँ स्थान रहने भन्ने निक्र्यौल धमरज्वा देवताले गर्ने गरेको विश्वास छ । पुराणअनुसार सूर्य भगवानकी पत्नीकोरुपमा यी देवतालाई चिनिन्छ । घरको मूल प्रवेश कक्ष तथा पशु चौपाया बस्ने गोठ (घारी) को मुल खम्बामा स्थापित रहने यी देवताले घरका सदस्यसहित पशु चौपायाको रक्षा गर्ने भूमिकामा पनि पुजिन्छन् ।

धनचोर्वा
अरु घरको धान चोर्ने देवताकोरुपमा यसलाई पूजिन्छ । त्यसैले यिनलाई धानधन्यको प्रतिककोरुपमा पनि चिनिन्छ । यी देवता सबै थारुको घरमा रहँदैनन् । जुन घरमा यी देवताको स्थान हुन्छ, त्यो घरमा कहिल्यै भोकमरी नहुने विश्वास गरिन्छ । घरमा अन्नबाली सकिएका बेला यी देवताले अरु घरबाट धान, अन्न बाली चोरेर ल्याइदिने गर्छन् । तर चोरी भएको कुरा गाउँमा कसैलाई थाहा हुँदैन । धान र अन्नबाली चोरी नहोस् भनेर थारु अन्य घरमा देवताको पूजा गर्ने गरिन्छ ।

ग्रामदेवता
कुनै सिद्धहस्त सिद्धलाई थारुहरुले ग्रामदेवता भन्छन् । ग्रामदेवतालाई विभिन्न नाथकोरुपमा पुजिन्छ । थान वा मन्दिरभित्र कुनै मूर्तिको सट्टा माटोको ढिस्को बनाइएको हुन्छ । त्यसलाई नाथको प्रतिक मानिन्छ । खासगरी पूर्वीया थारु समुदायमो नाथलाई विशेष देवताकोरुपमा पुजिन्छ । गोरखनाथ, रतननाथ, भस्मनाथ, आदि नामले यी देवतालाई पूजिन्छ ।

गणदेवता
स्थानपिच्छे थारुका गणदेवतामा विभिन्नता छ । ग्राम देवता र गणदेवता फरक हुन् । ग्रामदेवता खास गाउँका मात्र देवता हुन् भने गण देवता भनेका सबैका साझा देवता हुन् । पूर्वको सुनसरी जिल्लामा गण देवताकोरुपमा विच्छु देवतालाई पूज्ने गरिन्छ । हरेक वर्षको वैशाख १ गतेदेखि सामुहिक पूजा आरम्भ गरिन्छ । थारु समाजमा विच्छु थारु एक प्रकाण्ड तन्त्रमन्त्रबेत्ता थिए । जसले थारु घरका सदस्यलाई मृत्युपर्यन्त पनि संकटबाट संरक्षण गर्छन् । विच्छु पूर्वी खडहर थारु जातिका सन्तान रहेको विश्वास गरिन्छ ।

चुरिन्या
पैतला पछाडि फर्किएको खासगरी स्त्रीको रुपधारण गर्ने प्रेतात्मालाई चुरिन्या भनिन्छ । आकालमा (जवानीमै) मृत्युवरण गर्ने स्त्रीहरु चुरिन्याको रुप धारण गर्ने विश्वास थारुमा छ । जसलाई किचकन्नी र चुडेल पनि भनिन्छ । चुरिन्या सबै थारुको घरमा बास पाउँदैनन् । कुनै दैवी विपत्ति परेका बेला परिवारका सदस्यलाई बचाउन गुरुवाको सल्लाह अनुसार चुरिन्याको स्थापना गर्ने गरिन्छ । यी देवी पल्केको पुरुष सुकेनास लागेजस्तै सुकेर मर्ने गर्छन् ।

अन्य देवता
अन्य देवतामा राजाजी, वनदेवता (वनसप्टी), मड्वा, मुराहा, तेज गुनी, झुत्रा गुनी आदि हुन्छन् । यिनको पूजापाठ पनि सामुहिकरुपमा हुनेगर्छ ।

तपाईको प्रतिक्रिया