गीता चौधरी
काठमाडौं, माघ २४ गते । मन्त्रिपरिषदको माघ २० गतेको निर्णयअनुसार सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा स्थायी बसोबास गर्ने रानाथारु समुदायलाई आदिबासी जनजातिको हैसियतले थारुभन्दा अलग सूचीकरण सरकारले गरेपछि थारु कल्याणकारिणी सभा (थाकस) ले आपत्ति जनाएको छ ।
राना थारु समुदायले लामो समयदेखि अलग सूचीकरणको माग सरकारसँग गर्दै आएपनि सरकारले माघ २० गते निर्णय गरेर २३ गते निर्णय सार्वजनिक गरेको हो । सोपछि विहिबार थाकसले विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको विरोध गरेको हो । थाकसका महामन्त्री प्रेमीलाल चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “रानाथारुलाई थारु समुदायबाट छुट्याई अलग्गै आदिबासी जनजाति सूचीमा सूचीकृत गर्ने निर्णय फुटाउ र शासन गर हो ।” यो निर्णयले थारु समुदायलाई आन्तरिक उपनिवेश, दाश, कमैया र कमलहरी बनाई राख्ने रणनीति भएको थाकसले आरोप लगाएको छ ।
थारु समुदायको छाता संस्थाकोरुपमा रहेको थाकसले रानाथारु समुदायलाई अलग सूचीकरण गरेको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । तर उता रानाथारु समुदयाले अलग सूचीकरणा पाएकोभन्दै कैलाली र कञ्चनपुरमा विहिबार साँझ दीपावली मनाएका छन् । अलग सूचीकरण आफूहरुको जित भएको बुझाई सो समुदायको छ ।
रानाथारु समुदाय अलग सूचीकरण भएपछि सिङ्गो थारु समुदायको जनसंख्या र प्रतिशतमा फरक आउने भएको छ । २०७८ को जनगणनाको तयारी भइरहँदा मूल थारु समुदायबाट रानाथारु समुदायको संख्या अलग गणना हुने भएपछि त्यसको असर आरक्षणमा प्रत्यक्ष अप्रत्यक्ष पर्ने देखिएको छ ।
सरकारको सो निर्णयले रानाथारु समुदाय खुशीयाली मनाइरहेका छन् भने थारु समुदायमा यसले ठूलो वहस सिर्जना गरिदिएको छ । रानाथारु समुदायलाई थारुबाट अलग सूचीकरण गर्नु थारु समुदाय र तिनको आन्दोलनलाई कमजोर पार्ने प्रयास भएको बुझाई थारुहरुको छ । तर राना थारु समुदायले लामो समयदेखि सो माग राखेर आन्दोलन गरिरहेकाले सम्मानकालागि अलग सूचीकरण गरिएको सरकारको भनाई छ ।