मनुस्मृतिले विवाह (भोज) लाई दुई आत्माबीचको पवित्र मिलन भनेका छन् । अर्थात् विवाह दुईजनाबीचको सम्झौता हो । एउटी स्त्री र एउटा पुरुषबीच सँगै जीवनयापन गर्ने सम्झौता भयो भने त्यसलाई विधि पु¥याएर विवाहको रुप दिइन्छ । विवाह भन्ने चिज कुनै एकजनाले चाहेर मात्र हुँदैन । केटा र केटी दुवैबीचको चाहना हुनुपर्छ । त्यसैले भन्ने गरिन्छ ‘विवाहका लागि सूर्य भगवानले नै तोकिदिएका हुन्छन् ।’ स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यसलाई समर्थन गरेको छ । जङ्गली युगमा मानिस पासविक थिए । जीव जनावर र मानिसमा खासै भेद थिएन । जब सो युगबाट मानिसहरु क्रमशः घरव्यवहारमा आए, अनि पासविक व्यवहारमा परिमार्जन गर्दैआए । एउटी केटीमाथि धेरैजना पुरुषको तानातान भएमा वा एउटा केटामाथि धेरैजना केटीको आशक्ति भएमा समाज विकृत हुनजान्छ । झैझगडा, लडाई र दुश्मनी हुनजान्छ । त्यसैले समाजलाई अराजकताबाट जोगाउन र सभ्य समाजको निर्माण गर्न एउटा पुरुषका लागि एउटी स्त्री र एउटी स्त्रीकालागि एकजना पुरुषको व्यवस्था गर्ने संस्कार शुरुभयो । यही संस्कार नै पछि गएर विवाहको रुप लियो । विवाह गर्ने प्रचलन र संस्कार जाती, समुदायसँगै फरक फरक प्रकृतिको छ । धर्मशास्त्रले पुत्र–पुत्री प्राप्तिलाई विवाहको उद्देश्य मान्छ । गृहस्थानमा प्रवेश गर्ने द्वारका रुपमा पनि विवाहलाई हेरिन्छ । हरेकको जीवनमा रतिसुख आवश्यक भएकाले त्यसको विधि पु¥याउन पनि विवाह गरेको मानिन्छ ।
थारु भोज
थारु समाजमा विवाहलाई सामाजिक बन्धनकोरुपमा लिइन्छ । कन्या केटा र केटीबीच जीवनका सबै दुःखसुख एकसाथ साटासाट गर्ने, जीवन गुजारा गर्ने पवित्र सम्झौता भयो भनेमात्र विवाह (भोज) सम्भव हुन्छ । विवाहले जिम्मेवारी बढाउँछ । विवाह पछि मानिस वयस्क भएको मानिन्छ । तथापि थारु समाजमा उहिले सानै उमेरमा केटाको विवाह गर्ने प्रचलन थियो । कारण– पहिले थारुका धेरै जग्गा जमिन थिए । घरमा काम गर्ने धेरै सदस्यको आवश्यकता थियो । त्यसैले छोरा सानो छँदै उमेर पुगेकी बुहारी (पतोहिया) घरमा भित्र्याइन्थ्यो । तर अहिले त्यो प्रचलन हराइसकेको छ । केटाकेटीको उमेर पुगेपछि मात्र अहिले विवाह गरिदिने गरिन्छ । थारु समुदायमा विवाहका लागि कुनै जातपात हेरिदैन । गोत्र (गोतियार) बाहेक सबैसँग विवाह गर्ने छुटहुन्छ । हाडनाता सम्बन्ध (रक्त सम्बन्ध) मा विवाह गर्ने कुरै भएन । थारु समुदायले केटाकेटीको विवाह गर्न कुनै ब्राह्मण, ज्योतिषलाई देखाउने, कुण्डली बनाउने पनि गरिदैन । विवाहका लागि साइत जुराउनु पनि पर्दैन । शनिबार बाहेक साताको सबै बारलाई उपयुक्त मानिन्छ । त्यसमध्ये पनि सोमबारदेखि बुधबारसम्मको समयलाई अझ उत्तम मानिन्छ । यो समुदायले प्रायः माघ, फागुन र वैशाखमा विवाह गर्छन् । त्यसमध्ये सबैभन्दा बढी विवाहका लागि उपयुक्त महिना फागुन हो । घरको काम सकाएर अन्नहरु घरमा भित्र्याइएको महिना भएकाले फागुन महिना उपयुक्त भएको हुनुपर्छ । यद्यपि अहिले समाजको देखासेकीले ब्राह्मण बोलाएर साइत हेराएर पनि केही थारुले पूजापाठसहित विवाह गर्न थालेका छन् । थारु समुदायमा विवाह कसरी गरिन्छ केही चरणका बारेमा संक्षिप्त चर्चा हेरौं–
दुलहा–दुलही हेर्ने
केटालाई थारुहरुले ‘दुल्हा’ र केटीलाई ‘दुल्ही’ भन्छन् । माघ या फागुनमा विवाह जुराउनु छ भने कात्तिक, मंसिरतिरै दुल्हा दुल्ही खोज्ने काम शुरु हुन्छ । आफन्तजन र नाताकुटुम्बको सहायताले वा गाउँ गाउँ खोजेर भएपनि दुल्हाका लागि दुल्ही र दुल्हीका लागि दुल्हा खोजिन्छ । त्यसकालागि एकजना ‘अगुवा–अग्वा’ (लमी) नियुक्त गरिन्छ । त्यसकै नेतृत्वमा केटाकालागि उपयुक्त केटी र केटीका लागि उपयुक्त केटा जुराइन्छ । केटा वा केटी फेला परेमा त्यसबारे परामर्श गरिन्छ । त्यसको आनीबानी, व्यवहार, शिक्षादिक्षा, करकमाईदेखि जीवनका महत्वपूर्ण पाटाका बारेमा सोधनी हुन्छ । दुवै तर्फबाट सोबारे सोधनी भएपछि कुरा मिलेमा प्रक्रिया अगाडि बढ्छ ।
दुना उठाउने
नियुक्त गरिएको अग्वा (लमी) ले केटा वा केटी खोज्न सफल भएमा सोबारे नाताकुटुम्ब, घरका सदस्य सबैसँग परामर्श शूरु हुन्छ । केटाले केटी हेर्ने र केटीले केटा हेर्ने देखभेट पनि गराइन्छ । दुना उठाउनु भनेको केटापक्ष र केटीपक्षबीचको सम्झौता हो । केटापक्षले केटीलाई स्वीकार गर्ने र केटीपक्षकाले केटाबारेमा सहमति जनाउने कसम खुवाउने प्रक्रिया नै ‘दुना उठाउने’ पद्धति हो । मालु (नेम्ह्रैन) पातको पुच्छर निस्केको दुना तयार गरिन्छ । दुई–दुईवटा दुना दुवैपक्षबीच साटासाट हुन्छ । दुल्हाका बुवाले आफ्नो छोराका लागि फलानेको छोरी फलानीलाई बुहारीकोरुपमा स्वीकार्छु भन्दै कसम खान्छन् । त्यस्तै, दुल्हीका बाबाले पनि आफ्नो छोरीलाई फलानेको छोरा फलानालाई दिन मञ्जुर गर्छु भनेर दुई दुई पटक वाक्य दोहो¥याउँछन् । सो कसमसँगै दुना उठाउने प्रक्रिया सकिन्छ । नयाँ नाता त्यहीबाट आरम्भ हुन्छ । सोबेला आफन्तजन, गाउँका सदस्य तथा नाताकुटुम्ब पनि आमन्त्रित हुन्छन् ।
पक्कापोह्री खाने
पक्कापोह्रीलाई थारुहरुले ठोकठाक पनि भन्छन् । अर्थात् इङ्गेजमेन्टलाई नै थारुहरुले ठोकठाक या ठोकौनी उच्चारण गर्छन् । विवाहका लागि दुवै पक्ष मञ्जुर भएपछि त्यसलाई औपचारिक रुप दिइन्छ । त्यसैलाई पक्कापोह्री या ठोकठाक भनिन्छ । त्यसकालागि दुवै पक्षको परामर्शमा महिना गते र दिन एकीन गरी केटाको घरमा जम्मा हुन्छन् । पाहुनाको स्वागत्मा केटापक्षकाले सुंगुर काट्नुपर्छ । सुँगुरको फिला उपहारस्वरुप केटीपक्षकालाई सिङ्गै पठाउने प्रचलन छ । आजभोलि केटीको घरमा गएर पनि पक्कापा्ेह्री गर्ने चलन देखिन्छ । त्यसकालागि गाउँभरीका सदस्य, आफन्तहरु आमन्त्रित हुन्छन् । दुलहीपक्षकाहरु दुलहाको घरमा जाँदा वा दुलहा पक्षकाले दुलहीको घरमा जाँदा सगुनस्वरुप रक्सी, जाँर लिएर जानुपर्छ । पक्कापोह्री गर्दा केटीका बुवाले दुल्हालाई टीका माला लगाइदिने गर्छन् । उपहारस्वरुप एकजोर लुगा र केही नगदसमेत दिने गर्छन् । दुलहा र दुलही दुवैले एकअर्कालाई टीका लगाइदिन्छन् । टीकाटालो भएपछि अतिथिसत्कार गराइन्छ । अतिथिकालागि सुंगुरको मासु, जाँर र रक्सी अनिवार्य हुन्छ । दुवै पक्षकाबीच परिचय गराइन्छ । नयाँ नाताहरु तय गरिन्छ । सोहीबेला विवाहको मिति पनि तय हुन्छ ।
निम्ता बाँड्ने
थारुहरुले विवाहको निम्ता बाँड्ने कामलाई ‘निउँटा बँट्ना’ भन्छन् । आफन्तजन, नाताकुटुम्ब तथा गाउँका सबै घरधुरीमा विवाहको निम्ता पु¥याइन्छ । थारुहरुले निम्ताकोरुपमा हल्दी, सुपारीको दाना दिने गर्छन् । उहिले काँचो हल्दीको टुक्रा निम्ताकोरुपमा दिँदा विवाहको मिति र स्थान घरको भित्तामा लेख्ने गरिन्थ्यो । अद्यापि त्यो प्रचलन छ । तर आजभोलिका केटाकेटीहरु निम्ताकोरुपमा प्रेसमा छापिएका कागजको निम्ता पठाउन थालेका छन् । कोही सुपारीको टुक्रा त कोही चकलेट पनि निम्ताकोरुपमा पठाउँछन् । तर थारुको परम्परागत निम्ता चाहिँ हल्दीको टुक्रा नै हो । निम्ता पु¥याउने प्रतिनिधि पनि गाउँमा तय गरिएका हुन्छन् । गाउँको भलमन्सा (बरघर) को नेतृत्वमा सबै कामको व्यवस्थापन गरिन्छ । विवाहको एकसाता अघि नै निम्ता वितरण गरिसक्नु पर्ने हुन्छ ।
विवाह तयारी
विवाह गर्दा धेरै खर्च र तयारी गर्नुपर्ने हुन्छ । त्यसैले विवाहका लागि घरका सदस्यले मात्र तयारी गरेर पुग्दैन । गाउँका सदस्य तथा आफन्तलाई पनि विवाहको तयारीको जिम्मेवारी दिइएको हुन्छ । विवाह अघि घरलाई लिपपोट गर्ने, शृङ्गार्ने, सरसफाई गर्ने काम हुन्छ । जाँर रक्सीको तयारीका लागि आफन्त र गाउँका अन्य सदस्यलाई पनि जिम्मेवारी दिइन्छ । जङ्गलबाट पात टिपी दुना टपरी बनाउने, दाउरा संकलन गर्ने, नयाँ कपडाहरु किन्ने, मासुकालागि जिता (संगुर, बंगुर, खसी आदि) खोज्ने काम हुन्छ । विवाह सम्पन्न गर्नकालागि विभिन्न समूहहरु बनाइन्छ । जुन समूहको जिम्मेवारी जे हो त्यही काम इमान्दारितापूर्वक गर्नुपर्ने हुन्छ । त्यो कामको बाँडफाँट बरघरकै नेतृत्वमा हुनेगर्छ । निम्ता बाँड्ने एउटा समूह हुन्छ, दाउरा खोज्ने अर्को समूह, मासुका लागि जिता खोज्ने अर्को समूह, दुल्हा दुल्ही बोक्ने डोला डोली बनाउने समूह, जन्ती जाने समूह, पानीको व्यवस्थापन गर्ने समूह, जाँर र रक्सी व्यवस्थापन गर्ने समूह, भान्साको काम गर्ने भान्से समूह, बत्तीको व्यवस्थापन गर्ने समूह, विवाह गीत (माङ्गर) गाउने समूह, स्वागत गर्ने समूह, विवाह गेट निर्माण गर्ने समूह आदि आदि । सबैले तोकेअनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्छ । त्यसका अतिरिक्त दुलहा दुलहीको तर्फबाट गर्नुपर्ने आवश्यक सबै तयारी गरिन्छ ।
चाउर पर्छना
दुलहाको बरियात जानु एकदिन अगाडि सगुनको रुपमा केटा पक्षको तर्फबाट केटी पक्षलाई चामल, दाल, नुन, तेल, बेसार, खुर्सानी र तरकारी पठाइने गरिन्छ । त्यसलाई चाउर पर्छना भनिन्छ । अग्वा (लमी) को नेतृत्वमा पाँचजना सदस्य सामान बोकेर केटीको घर जान्छन् । केटाका आमाले चामल पिठोको घोलमा पाँच औलाको छापसहित लमीको गालामा चिन्ह लगाएर पठाउँछिन् । सामान बोकेको भाँडामासमेत त्यो छाप लगाइएको हुन्छ । त्यो चिन्ह देखेर गाउँका सदस्यहरु विवाहको सगुन भनेर सजिलै चिन्छन् । अर्कोतिर दुलहाले दुलही लिएर घर प्रवेश गर्नेबेला पनि घरको द्वारमा केटा र केटीलाई एक ठाउँमा उभ्याएर चामलले छर्कने र टाउको ठोक्काउने चलन छ । टाउको ठोक्काउँदा तीन वा पाँच पटक ठोक्काइन्छ । ठोक्काउनुअघि चामल मुठ्ठीमा लिएर उल्टो सुल्टो टाउकोमा घुमाएर छर्कने गरिन्छ । त्यसलाई पनि चाउर पर्छना भनिन्छ ।
दिउली दर्ना
बरियात जानु या जन्ती जानुअघिको रात दिउली दर्ना काम गरिन्छ । दुलहा र दुलही दुवैको घरमा यो काम गरिन्छ । विवाहका लागि नियुक्त गरिएका भान्से या विवाह कामकालागि नियुक्त भएका भोजिन्या (महिला) हरुले विवाहका लागि दाल चकीमा पिँढ्नुपर्ने हुन्छ । घरमा राखेको चकीको बीँड घुमाउँदै दाल पिढ्ने बेलामा गाउँका पुरुष सदस्यले सो विँड समात्ने गर्छन् । जबसम्म भान्से–भोजिन्याहरुले विवाह गीत (माङ्गर) गाउँदैनन् तवसम्म पुरुषले चकीको बीँड छोड्दैनन् । अर्थात् चकी घुम्न दिंदैनन् । चकी नघुम्दासम्म दाल पिढिदैन । भोजिन्याहरुले गीत गाएपछि चकी घुम्न पाउँछ । गीत बन्द हुँदा चकी पनि बन्द हुन्छ । यो क्रम एक घण्टा बढी समयसम्म चल्छ । अर्थात् दिउली दर्ना थारु गीत त्यहाँ अनिवार्य प्रस्तुती गर्नुपर्ने हुन्छ । सोबेला गाउँघरका सदस्यहरु राम हेर्न भनी विवाह हुने गरमा जम्मा भएका हुन्छन् । सो बेला सगुनको रुपमा रक्सी खान दिनुपर्छ । अर्को विहान दाल पिँढेको चकी धुन भोजिन्याहरु नजिकको पानीघाट जान्छन् । त्यहाँ पनि सगुनकोरुपमा रक्सी, चामलको रोटी चाख्ने प्रचलन छ ।
दुलही ल्याउनु
दुलही लिन जानुलाई थारुमा बरात जानु भनिन्छ । दुलहालाई विशेष तरिकाले शृङ्गार गरी थारु परम्पराअनुसार तयार गरिएको हुन्छ । बरात जानुअघि दुलहालाई सफा पानीले स्नान गराइन्छ । सोपछि गाउँभरिका देवता बस्ने ठाउँ देउथानमा गएर पूजा गरिन्छ । घरको देवता बस्ने ठाउँ देहुरारको पनि पूजा गरिन्छ । थारु गुरुवाले दुल्हालाई आफ्नो तन्त्रमन्त्रले बाँध्ने गर्छन् । त्यसोगर्दा दुलहाको संरक्षण हुन्छ भन्ने विश्वास छ । दुलहाको पहिरनमा सेता पगिया, सेतो जामा, रातो रङ्को सप्की र अन्य गरगहना हुन्छन् । दुलहा तयार गर्दा पनि भोजिन्याहरुले विवाह गीत प्रस्तुत गर्ने गर्छन् । दुलहा दुलही लिन जाँदा बरातमा सँगै सानो भाइलाई पनि लिएर जानुपर्छ । डोलामा दुल्हासँगै भाइ (सइभल्वा) पनि हुन्छ । अर्थात् दुहलीलिन दुईजना दुलहाको भेषमा जान्छन् । कारण–बाटोमा कोही दुश्मन आएमा दुलहाको सुरक्षा गर्ने, दुलहालाई केही भइहालेमा दुलहाको स्थानमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । डोलामा बोकेर दुल्हा र सइभल्वालाई दुलहीको घरमा पु¥याइन्छ । दुलहासँगै विशेष सहयोगी एकजना गन्ज्वा हुन्छ । दुलहाको सामानहरु बोक्ने र सहयोगी भूमिका गन्ज्वाले गर्छ । दुलहाको बर्छी बोक्ने काम गन्ज्वाले नै गर्छन् । दुलहाले बर्छीलाई देवताकोठा देहुरार पातामा त्यसलाई नगाडुन्जेल वर्छीलाई भुइँ छुने अधिकार हुँदैन । त्यसको सुनिश्चित्ता गन्ज्वाले नै गर्छ । बरात जाँदा बर्छीमा माछा झुण्ड्याएर अनिवार्य लग्नुपर्ने हुन्छ । बरात जानुअघि दुल्हाले आफ्नो घरलाई तीन वा पाँच फेरा घुम्नुपर्छ । त्यसैगरी देउथानलाई पनि घुम्नुपर्छ । त्यसो गर्दा दुलहा सुरक्षित रहने विश्वास गरिन्छ । केटापक्ष केटीको घरमा पुगेपछि थारु प्रचलनअनुसार विशेष सत्कार गरिन्छ । अन्य विधिका काम हुन्छन् । केटाका बुवा र केटीका बुवालाई एउटै गम्छाले बाँधी सम्धासम्धी भनेर बाँध्ने गरिन्छ । त्यसमा पनि अनेक विधि पूरा गर्नुपर्ने हुन्छ । त्यहाँ पनि सम्धीसम्धा लाग्ने माङ्गर गीत प्रस्तुत हुन्छ ।
थारु प्रचलनअनुसार केटी पक्षकाले सबै विधि पु¥याएर बरात विदाई गर्नुपर्छ । विदाईका क्रममा विशेष किसिमको सेवा सत्कार गर्ने प्रचलन छ । विदाईगर्दा दुल्ही पनि दुल्हाको साथै जान्छिन् । तर उनी अर्कै डोलीमा बसेर जान्छिन् । गाउँका सदस्यहरुले दुलहा र दुलहीलाई अलग डोला डोलीमा बोक्नुपर्छ । दुलही डोलीमा बसेपछि दुलहाले डोलीमा लात्ती हान्ने प्रचलन छ । त्यसो गर्दा दुलहीको सुरक्षा हुन्छ भन्ने मान्यता छ । दुलही पठाउन दुलही पक्षका धेरै गाउँका सदस्य दुल्हाको घरमा सँगै जान्छन् । डल्लप, बयलगाडामा चढेर गाउँका सदस्य प्रतिनिधिकोरुपमा जानेगर्छन् । दुलहाको घर पुग्नुअघि देउथानको परिक्रमा गरेर पूजापाठ गरी घरमा दुलहीलाई लगिन्छ । त्यहाँ पनि घर प्रवेशअघि नै गर्नुपर्ने सबै विधि पु¥याएर घर प्रवेश गराउने गरिन्छ । दुलही भित्र्याएको अर्को दिन गाउँका सदस्यहरु, आफन्तजन तथा नाताकुटुम्बहरुसँग परिचय गराइन्छ । जसलाई थारुमा ‘पाई लगैना’ भनिन्छ । नयाँ दुलहीले सबै सदस्यहरुलाई नाताअनुसारको सेवाढोग गर्नुपर्ने हुन्छ । पाई लगाई गर्दा सबै सदस्यले गच्छअनुसारको दक्षिणा दुलहीलाई टक्र्याउँछन् । यसरी दुलही सदाकालागि दुलहाका हुन्छन् । त्यसपछिका अन्य विधि प्रक्रिया पनि धेरै छन् । जुन थारु प्रचलनअनुसार दुलहा दुलहीले गर्दै जान्छन् ।