काठमाडौंमा मनाइने माघी महोत्सव २०७२ को तयारी तिव्ररुपमा

यसपालीको माघी महोत्सव दशरथ रंगशालामा


Maghi

काठमाडौं, पुस १० गते । हरेक वर्षजस्तै यससाल पनि काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले माघी महोत्सव २०७२ भव्यताकासाथ मनाउने तयारी गरेका छन् । यसअघिसम्म टुँडीखेलमा मनाइने महोत्सव यसवर्ष दशरथ रंगशालामा महोत्सव हुने आयोजकले बताएको छ ।

मगर समुदायले माघे संक्रान्ति मनाउनका लागि थारु समुदायभन्दा अगाडि टुँडीखेल बुकिङ गरेपछि थारुको महोत्सव दशरथ रंगशालामा हुने भएको हो । माघी महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारु कल्याणकारिणीसभा उपत्यका समितिका अध्यक्ष सुमन चौधरीका अनुसार महोत्सव भव्यताकासाथ सफल पार्न तिब्ररुपमा तयारीको काम भइरहेको छ ।

Maghi1

भारतीय नाकाबन्दी र मधेसमा भएको बन्दकाकारण महोत्सवमा प्रत्यक्ष अप्रत्यक्ष पर्ने बुझाई थारु समुदायको छ । महोत्सवकालागि सबै कच्चापदार्थहरु तराई र मधेसबाट काठमाडौं ल्याइने हुनाले पनि महोत्सवमा त्यसको असरपर्ने बुझाई आयोजकको छ । थारु समुदायको प्रचलित खाना घोङ्घी, गंगटा, सिपी, अनडीको जाँड, रोटी, घरैया दारुलगायतका सामानहरु तराईबाट तयार भएर आउने गरेको छन् ।

महोत्सव तयारी स्वरुप मूल आयोजक समितिले विभिन्न दर्जनजति अन्य समिति तथा उपसमिति निर्माण गरी तयारीको काम गरिरहेको स्टेज तथा टेन्ट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म आर्थिक समिति, स्टेज तथा टेन्ट व्यवस्थापन समिति, स्टल व्यवस्थापन, प्रचार प्रसार समिति, सांस्कृतिक व्यवस्थापन, अतिथि सत्कार, झाँकी ¥याली, स्वयम्सेवक व्यवस्थापन समिति आदि गठन गरी जिम्मेवारी दिइएको चौधरीले बताउनुभयो ।

SAM_6679

करिब ८० स्टल रहने महोत्सवका लागि यसवर्ष रु. ५०।– टिकट शुल्क लाग्ने निर्णय मूल आयोजक समितिले गरेको छ । त्यस्तै स्टल राखेबापत प्रति स्टल ३५ सयदेखि चार हजारसम्म शुल्क लिइने तयारी भएको महोत्सव समितिका संयोजक चौधरीले बताउनुभयो ।

थारु माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने तयारी भएको आयोजकले बताए पनि अहिलेसम्म प्रधानमन्त्री आउने नआउने विषयको टुंगो लागिसकेको छैन । तर सरकार प्रमुखले नै महोत्सवको उद्घाटन गर्ने अहिलेसम्मको परिपाटी रहँदैआएको छ । उहाँको समय लिने प्रयास भइरहेको आयोजकले बताएको छ ।

SAM_6678

माघी महोत्सवमा थारुको सखिया, झुम्रा, दिननचुवा, अन्य थारु गीतको नृत्य प्रस्तुत हुने आयोजकको भनाई छ । त्यस्तै, थारुको विशेष परिकार मुसाको चटनी, घोङ्घी, गंगटा, ढिक्री, अनडीको भात, जाँड र चामल र महुवाबाट बनाइएको विशेष घरेलु रक्सीहरु महोत्सवमा राख्ने तयारी गरिएको छ । त्यससँगै थारु गरगहना, हस्तकलाका सामग्री, थारु पत्रपत्रिका तथा थारुको अन्य सामग्रीहरु महोत्सवमा प्रदर्शन गर्ने तयारी आयोजकले गरेको छ ।

तपाईको प्रतिक्रिया