‘हाँस्यव्यङ्ग्य’ विधामा थारु

विचार

लक्की चौधरी

समाजको गतिशीलता र व्यक्तिको गतिविधिसँगै हाँस्यव्यङ्ग्य विधा सिर्जना भएको मान्न सकिन्छ । मानवीय स्वभावका अनेक पक्षहरु हुन्छन् । समाजमा अथाह खुशी र मनोरञ्जन मात्र छैन । दुःख छ, वेदना छ । तनाव र गरिबी छ । बेरोजगारी, जातीय विद्वेसदेखि अनेक विकृति र विसङ्गति विद्यमान छ । त्यस्तोबेलामा मानिस राहतको ‘सास’ फेर्न चाहन्छ । तनाव र पीडालाई कम गर्ने उपायको खोजीमा लाग्छ । अनेक चुनौतिबीच मुटुमाथि ढुङ्गा राखी हाँस्छ । हाँस्नु र हँसाउनु परेको हुन्छ । यही विधा नै ‘हाँस्यव्यङ्ग्य’ हो । यो विधाले अब नेपाली संस्कृतिको रुप लिइसकेको छ । समाज, देश र गाउँ तनाव र विसङ्गतिमा आहाल भएकाबेला जनभावना बुझ्ने एउटा ‘थर्मोमिटर’को काम गर्ने विधा हो, ‘हाँस्यव्यङ्ग्य’ । मानिसको दुःखमा साथ दिने ‘अक्सिजन’को काम यसले गर्छ । व्यक्तिको तनाव एक छिनका लागि भएपनि ‘दूर’ गर्छ । राहत भएको महुशस गराउँछ । बुझ्नेले यो विधालाई विभिन्न कोणबाट बुझ्छन् । तथापि अशिष्ट, असभ्य, अश्लील, अभद्र गालीगलौज गर्ने विधा होइन, हाँस्यव्यङ्ग्य । यो त शिष्ट, सभ्य, शालीन र भद्र आलोचना गर्ने विधा हो । यसको मक्सद् समाजलाई सकारात्मक रुपान्तरण गर्नु हो । यसले व्यक्ति र समाजलाई व्यङ्ग्य गरी सुध्रन दवाव दिन्छ । यसले वैचारिक स्वतन्त्रताको चेत बोक्छ । विकृति विसङ्गति विरुद्धको चेतना दर्ज गर्छ । एकातिर सकारात्मक परिवर्तनको दवाव सिर्जना गर्छ, अर्कोतिर मानिसलाई हसाउँछ, मनोरञ्जन प्रदान गर्छ । त्यसैले त यो विधाको नाम ‘हाँस्यव्यङ्ग्य’ रहन गयो ।

नाटक–कथामा हाँस्यव्यङ्ग्य
थारु समाजमा विधागतरुपमा हाँस्यव्यङ्ग्यको विकास अझै भएको छैन । तर त्यसको चेत अवश्य छ । थारु पूर्खाहरुले आफ्नो समयमा मनोरन्जनका लागि विभिन्न नाटकहरु रच्थे । त्यसको मञ्चन गर्थे । नाटक मार्फत् समाजको कुरीति र कुप्रथाप्रति कडा व्यङ्ग्य गर्थे । शासक प्रशासकहरुलाई व्यङ्ग्य गर्थे । ठ्याक्कै त्यही शैलीको नाटक मञ्चन अहिले नभए पनि परिवर्तित अवस्थाका नाटक मञ्चन भएकै छन् । समाजमा हिजो पनि विकृति विसङ्गति, अन्धविश्वास थियो । आज पनि छ । हिजोका नाटक समाजप्रति लक्षित थिए । सामाजिक कुसंस्कारप्रति लक्षित थिए । समाजका राम्रा पक्षको प्रचार गर्नेतर्फ केन्द्रित हुन्थे । तर आज समय बदलिएको छ । अहिलेका नाटकमा सामाजिक, सांस्कृतिक सँगसँगै राजनीतिक विषय बढी जोडिएर आउँछन् । समाज रुपान्तरणका लागि शैक्षिक विषय पनि नाटकमा जोडिएर आइरहेका छन् । यसले एकातिर चेतनाको सन्देश प्रवाह गर्ने काम गरेको छ, अर्कोतिर मनोरञ्जन पनि प्रदान गरिरहेको छ ।

अशिष्ट, असभ्य, अश्लील, अभद्र गालीगलौज गर्ने विधा होइन, हाँस्यव्यङ्ग्य । यो त शिष्ट, सभ्य, शालीन र भद्र आलोचना गर्ने विधा हो ।

थारुहरुले मन्चन गर्ने नाटकमा ‘जोकर’ पात्र अनिवार्य हुन्छ । जसलाई थारुमा ‘सोङ्या’ भनिन्छ । त्यही पात्र मार्फत मनोरन्जन र ‘व्यङ्ग्य गरेको’ सन्देश दिने प्रयास गरिन्छ । नाटकको कथाले एक किसिमको सन्देश दिइनै रहेको हुन्छ । त्यसको अलावा नाटकको कथावस्तुलाई चोटिलो बनाउने र दर्शकको ध्यान आफूतिर तान्ने काम जोकर (सोङ्या) ले गरिरहेको हुन्छ । ‘जोकर’ हेर्दा उतपट्याङ खालको हुन्छ । उसको पोशाक अनौठा हुन्छ । उसको साजसज्जा र शैली अरुभन्दा फरक हुन्छ । नाटकमा मन्चन हुने अन्य पात्रभन्दा ऊ भिन्न देखिन्छ । नाटकमा मात्र होइन, थारुको संस्कृतिजन्य नृत्य, नाचगानमा समेत जोकर पात्र सिर्जना गरिएको हुन्छ । त्यही जोकरले दर्शकको ध्यान आफूतिर आकर्षित गर्छ । अर्थात् सोङ्याले कुनै पनि नाटकमा ‘चट्नी’को काम गर्छ । भोजनसँग जसरी ‘चटनी’ नहुँदा खल्लो लाग्छ । चटनी भएमा भोजन मीठो बन्छ । त्यसरी नै कुनै पनि लोककथा, नाटक तथा अन्य प्रस्तुतीमा ‘सोङ्या’को भूमिका चटनीको रुपमा हुन्छ ।
थारु हुर्दङ्वा नाच, झुम्रा, सखिया, मुङ्ग्रहवा, धुम्रा, बर्कानाच होस् कि बैठक्की या दिननचुवा, सबै नृत्यमा जोकर (सोङ्या) अनिवार्यजस्तै हुन्छ । त्यसले दर्शकलाई आफ्नो कला र प्रस्तुतीले मनोरन्जन प्रदान गर्छ । सँगसँगै कथावस्तुले दिन खोजेको व्यङ्ग्यात्मक सन्देश पस्किरहेको हुन्छ । त्यसैले जोकरको भूमिका निर्वाह गर्ने पात्र राम्रो चेत भएको, ‘समाज बुझेको’ हुनुपर्छ ।

साहित्य लेखनमा हाँस्यव्यङ्ग्य
हाँस्यव्यङ्ग्य विधालाई थारु समुदायले विधाकोरुपमा विकास गरिसकेको त छैन । फुटकर रुपमा साहित्यिक रचनाहरु प्रकाशित हुने गरेपनि विधागत रुप यसले लिइसकेको छैन । मान्छेलाई हँसाउनु र व्यङ्ग्यसहित सन्देश प्रवाह गर्नु फरक विषय हो । हँसाउनु मात्र हाँस्यव्यङ्ग्य होइन । यस विधामा केही न केही परिवर्तनको चेत मिश्रित हुनैपर्छ । पङ्तिकारले थारु चुटकिलाको पुस्तक ‘हँसौनी’ (२०७२) प्रकाशित ग¥यो । थारु समुदायमा थारु भषामा प्रकाशित भएको पहिलो चुटकिला संग्रह बन्यो । तर त्यसमा विशुद्ध थारु जनजीवनका चुटकिला छन् । थारु भाषामा चुटकिलालाई ‘हँसौनी’ भनिन्छ । तर यो शब्द धेरे कम थारुलाई जानकारी छ । अधिकांशले चुटकिला नै बुझ्छन् ।
त्यसैगरी साहित्यकार कृष्णराज सर्वहारीले ‘धोंधोंपोंपों’ कृति प्रकाशित गरी त्यसलाई हाँस्यव्यङ्ग्य कृति भनेर नाम दिएका छन् । तर त्यसमा हाँस्य रस छ, व्यंङ्ग्य छैन । हाँस्य पनि अश्लील र विकृत छ । जोकि हाँस्यव्यङ्ग्य विधा समाजको विकृति र विसङ्गति हटाउने वकालत गर्छ । सकारात्मक परिवर्तनको बहस गर्छ । यसअर्थमा सर्वहारीको कृति ‘हाँस्यव्यङ्ग्य भन्न नमिल्ला’ थारु साहित्यकारको बुझाई छ । अझ सर्वहारीले त चुटकिलालाई नेपाली साहित्यको ‘अंश’ समेत स्वीकार गर्दैनन् । थारु उखान (कहकुट), फोक्रामा पनि हाँस्यव्यङ्ग्य पाइन्छ ।
त्यसैगरी साहित्यकार चित्रबहादुर चौधरी, सुशील चौधरी, छविलाल कोपिला, अशोक थारु, बमबहादुर थारु, गोपाल दहित, महेश चौधरी, पुल्कित चौधरी, बुद्धसेन चौधरी, सियाराम चौधरी, रमानन्द लेखी, रामलगन चौधरी, प्रकाशनाथ चौधरी, दिलबहादुर चौधरी, मनिराम थारु लगायतले आफ्नो फुटकर रचनामा व्यंङ्ग्यात्मक चेत राखेको देखिन्छ । तर हाँस्यव्यङ्ग्यलाई विधाकोरुपमा लेखेको पाइएको छैन । अहिले थारु साहित्यमा युवा साहित्यकारको ठूलो जमात छ । तिनका कथा, कविता, गीत, गजल, मुक्तक, हाइकुमा व्यङ्ग्यात्मक चेत झल्किन्छ । तर विशुद्ध हाँस्यव्यङ्ग्यकै रुपमा लेखिएको रचना थोरै मात्र भेटिन्छ । ठ्याक्कै भन्नुपर्दा थारु साहित्यमा हाँस्यव्यङ्ग्यले आफ्नो स्थान बनाइसकेको छैन । हाँस्यव्यङ्ग्य नेपाली साहित्यको एउटा ‘रुप’ बनिसकेको अहिलेको अवस्थामा थारु साहित्यमा यसले विशिष्ट स्थान बनाउन बाँकी छ ।

हाँस्यव्यङ्ग्यमा राजनीतिक चेत
राजनीतिक विषयवस्तु समेटेर लेख्ने लेखकले हाँस्यव्यङ्ग्य विधालाई जोड दिएर छिटफुट लेख रचना लेखेको पाइन्छ । मेला, महोत्सवका स्टेजमा गरिने प्रस्तुतीमा अहिले हाँस्यव्यङ्ग्यले स्थान पाउन थालेको छ । राजनीति गर्ने थारु अगुवाहरुले राजनीतिमा व्यंङ्ग्यात्मक भाषण गरेको पनि देखिन्छ । तर धेरै कम मात्रामा । थारु लेखकमा पङ्तिकार स्वयम्, सुुशील चौधरी, एकराज चौधरी, कृष्णराज सर्वहारी, छविलाल कोपिला, महेश चौधरी, महेश्वरप्रसाद चौधरी, फनिश्याम थारु, निरा भगत, गोपाल दहित, राजकुमार लेखी, चन्द्रनारायण चौधरी, शैलेन्द्र चौधरी, लक्षण थारु, रेशम चौधरी, सीताराम थारु लगायतले कलम चलाएको देखिन्छ । यी लेखकका रचनामा, सिर्जनामा राजनीतिक हाँस्यव्यङ्ग्य चेत स्पष्ट रुपमा आएको पाइन्छ । तर यसलाई पर्याप्त मान्नसक्ने आधार भने छैन । उसैपनि नेपाली राजनीतिमा थारुको स्थान उच्च छैन । पञ्चायतकालदेखि राजनीतिमा छिटफुट थारुको संलग्नता भेटिए पनि मूलधारको राजनीतिमा उनीहरु स्थापित भइसकेका छैनन् । ‘मन्त्री’ पदसम्मको जिम्मेवारीमा धेरै थारु पुगे । तर राजनीतिमा टिकिरहन सकेनन् । मन्त्री भइसकेका थारु अहिले गुमनाम छन् । राजनीतिमा सक्रिय छैनन् । न त उनीहरु लेखन सिर्जनामा नै सक्रिय देखिए । त्यसैले हाँस्यव्यङ्ग्यमा राजनीतिक सन्देश प्रवाह गर्ने रचना उतिसाह्रो प्रस्फुटन हुन नसकेको सत्य हो ।

मेला, महोत्सवका स्टेजमा गरिने प्रस्तुतीमा अहिले हाँस्यव्यङ्ग्यले स्थान पाउन थालेको छ ।

सञ्चारमाध्यममा हाँस्यव्यङ्ग्य
थारु समुदायले आफ्नै मातृभाषामा सञ्चालन गरेका सञ्चार माध्यम तथा नेपाली भाषामा सञ्चालित थारुका सञ्चार माध्यममा पनि केही रुपमा हाँस्यव्यङ्ग्य रचनाले स्थान पाउँदैआएको छ । त्यस्तै, थारु भाषाका चलचित्रमा समेत हाँस्यव्यङ्ग्यको स्थान देखिन्छ । पङ्क्तिकार स्वयम्ले आफ्नै प्रकाशन तथा सम्पादनमा प्रकाशित गरेको ‘पहुरा’ साप्ताहिक, ‘हमार पहुरा’ अर्धसाप्ताहिक, ‘हमार पहुरा’ दैनिक पत्रिका तथा अहिले ‘हमार पहुरा डट कम’ न्यूज पोर्टलमा समेत हाँस्यव्यङ्ग्यले भरिएका केही रचनाहरु प्रकाशित तथा सम्प्रेषित छन् । साहित्यिक फुटकर रचनालाई समेत स्थान दिइने गरेको छ । त्यसबाहेक अहिले पहुरा दैनिकसहित थारु भाषाका अन्य अनलाइन न्यूज पोर्टलमा पनि केही रचनाहरु हाँस्यव्यङ्ग्य सन्देश बोकेका भेटिन्छन् । यसअघि थारु कल्याणकारिणी सभाले प्रकाशन गरेको ‘संस्कृति’ नामक पत्रिकामा पनि हाँस्यव्यङ्ग्यका फुटकर रचनाहरु प्रकाशित थिए ।

निस्कर्ष
हाँस्यव्यङ्ग्य अहिले साहित्यिक विधाको रुप लिइसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि यो विधाको स्थान उच्च छ । नेपाली समाजमा विद्यमान विकृति, विसंगति, भेदभाव, अराजकताको अन्त्य गर्ने हेतुले विभिन्न कलाकारले आफ्नो कला मार्फत् प्रस्तुति दिइरहेको हामी देख्छौं । अहिले राजनीतिक घटनाक्रम अझ धेरै हाँस्यव्यङ्ग्यका खुराक बनेको हामी पाउँछौं । कारण– राजनीति नै यस्तो माध्यम हो, जसको पहलमा सबै ऐन कानून, नीति नियम निर्माण हुन्छन् । मूल नीति नै गलत बाटोमा समाहित भयो भने देशको शासन प्रशासन नै गलत दिशामा जान्छ भनेर कलाकार, लेखक तथा साहित्यकारले निरन्तर हाँस्यव्यङ्ग्य मार्फत् खवरदारी गरेको हामी पाउँछौं । यसर्थ, यो विधा समाज रुपान्तरणका लागि हो । सही, सभ्य र भद्र समाज निर्माणका लागि हो । थारु समुदायमा विद्यमान रहेका गुरुवाको तन्त्रमन्त्र होस् कि जाँड रक्सी बनाउने, पिउने र पिलाउने परम्परा होस् । त्यसको अति प्रयोग गर्दा समाज नै समस्यामा परेको व्यङ्ग्य चेत थारु लेखक तथा स्रष्टाका रचनामा भेटिन्छ । अशिक्षित समाजका कारण कमैया, कमलरी रुपी दासदासी जीवन जिउनुपरेको शिक्षामुलक सन्देश पनि हाँस्यव्यङ्ग्य सिर्जनामा पाइन्छ । थारु समुदायलाई जागरुक बनाउन, गलत कामको खवरदारी गर्न र सकारात्मक पक्षको प्रचारका लागि पनि केही थारु लेखकहरुले हाँस्यव्यङ्ग्य विधालाई रोजेको पाइन्छ । जुन सकारात्मक पक्ष हो । तथापि यो विधाको श्रीबृद्धिमा अझै थारु लेखक, कलाकार, स्रष्टा तथा बुद्धिजिवीले ध्यान दिनुपर्ने देखिन्छ ।
इमेल– lucky2035@gmail.com

तपाईको प्रतिक्रिया