प्रधानमन्त्री ओली र प्रचण्डबीच मुलुकको समस्या समाधान विषयमा छलफल


KP+Prachanda

काठमाडौं, पुस १२ गते । विद्यमान राजनीतिक र मुलुकको समस्याबारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले आइतबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मधेसी मोर्चाको आन्दोलन, व्यवस्थापिका संसद सुचारु तथा विद्यमान समस्या समाधानमा छलफल केन्द्रीत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

एमाओवादीका अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक समितिका संंयोजकका हैसियतले विभिन्न राजनीतिक दलहरुसँग भएको छलफल, खासगरी मधेस केन्द्रित दलहरुले उठाएका मागहरुका सम्बन्धमा नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको वार्ताकाबारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो ।

यसैगरी, प्रधानमन्त्री र फोरम (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रायबीच मधेस केन्द्रित आन्दोलन र समस्या समाधानका सम्बन्धमा छलफल भएको थियो । वरिष्ठ उपाध्यक्ष रायले तराई मधेसका अहिलेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विद्यमान समस्या समाधानका लागि आफु गम्भीरतापूर्वक लागिपरेको बताउनु भएको थियो । सबै समस्याहरुलाई वार्ता र संवादकै माध्यमबाट समाधान खोज्नुपर्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई आन्दोलन छाडेर संवादमा आउन नेता राय मार्फत् आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया