थाकसको मानक भाषा वहस ७ सम्पन्न, प्राविधिक समिति गठन गरेर काम थाल्न सुझाव


हमार पहुरा डट कम
काठमाडौं, असोज १७ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को थारु मानक भाषा वहस भाग ७ आज शनिबार सम्पन्न भएको छ । वहसमा बोल्ने वक्ताहरुले वहस सँगसँगै विज्ञहरु सहभागी रहेको प्राविधिक समिति गठन गरेर काम थाल्न सुझाव दिएका छन् ।

थारु भाषा विज्ञ तथा साहित्यकार मानबहादुर पन्ना थारु (सुर्खेत) ले मानक भाषा वहस सँगसँगै प्राविधिक समिति तथा उपसमिति गठन गरेर यसको कार्यान्वयन पक्षमा जोड दिन थाकसलाई सुझाव दिनुभयो । मानक भाषालाई जटिल होइन, सहज बनाउनमा ध्यान दिनुपर्ने भन्दै उहाँले एउटा मानक बनाउन समय बढी लाग्ने हुनाले काम थाल्न ढिलाई गर्न नहुने बताउनुभयो ।

भाषा साहित्यका विज्ञ महेश चौधरी (सप्तरी) ले भाषा वहसमा धेरै विज्ञ व्यक्तित्वहरुले आआफ्ना धारणा वहस र लेख रचना मार्फत राखिसक्नु भएकाले अब समस्याको पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । काम नथालेसम्म समस्याको पहिचान नहुने भन्दै उहाँले काम चाँडै अगाडि बढाउनुपर्ने बताउनुभो । एउटा मानक भाषा बनाउन अप्ठेरो नरहेको तर कामको शुरुवात ढिलो गर्दा मानक बन्न पनि ढिलाई हुने उहाँले बताउनुभयो ।

साहित्यकार सोम डेमनडौरा (वर्दिया) ले थारु भाषामा जिल्लाअनुसार लवज फरक भएपनि त्यसबाट आत्तिन नहुने बताउनुभयो । थारुको लवज नै भाषाको सुन्दरता भएको बताउँदै उहाँले विभिन्न समिति र उपसमिति गठन गरेर कामको जिम्मेवारी दिन ढिलाई नगर्न थाकसलाई उहाँले सुझाव दिनुभयो । कोही समितिले शब्दकोष बनाउने र कोही समितिले व्याकरण बनाउनमा लाग्न र त्यसको अगुवाई थाकसले गर्न उहाँले सुझाउनुभयो ।

भाषा विज्ञ गिर्धारी चौधरी (बारा) ले थारुको ठाउँअनुसार बोली, भाषा, संस्कृति फरक भएपनि त्यसलाई जोड्न मानक भाषाले काम गर्ने बताउनुभयो । बोल्ने भाषाको लवज फरक फरक भएपनि पूर्वका थारुले पश्चिमको भाषा मजाले बुझ्ने र पश्चिमका थारुले पूर्वका भाषा सजिलैसँग बुझ्ने हुनाले मानक बनाउन सहज हुने बताउनुभयो । एउटा मानक भाषा बनाउँदा अरु मौलिक भाषिका मर्न नहुनेमा ख्याल गर्नुपर्ने उहाँले सुझाउनुभयो ।

युवा साहित्यकार पवनकुमार चौधरी (बाँके) ले भाषाका विविध पक्षमा धारणा राख्दै देसाउरी थारु भाषाको पनि आफ्नो ठाउँमा योगदान रहेको बताउनुभयो । थाकस, थारु आयोग लगायतका संस्थाले मानक भाषा बनाउनेमा नेतृत्व गर्न उहाँले सुझाव दिनुभयो ।

भाषा विज्ञ तथा साहित्यकार भुलाई चौधरीले भाषा वहसले थारु विज्ञको पहिचान गराएको बताउँदै यसको निरन्तरताको आवश्यकता औल्याउनुभयो । वहसमा बोल्ने वक्ताहरुको सुझाव मननयोग्य भएको बताउँदै उहाँले सुझावलाई मनन गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । मानक भाषा बनाउन चुनौति र अवसर दुवै भएको बताउँदै उहाँले सबैजना लागेमा मानक बनाउन कुनै समस्या नआउने बताउनुभयो ।

जुम बैठकमा लेखक सोभितलाल चौधरी (सप्तरी), थारु आयोगका जागुराम चौधरी (सुर्खेत) लगायतले सुझाव दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया