हमार पहुरा डट कम
काठमाडौं, कात्तिक २ गते । थारु कल्याणकारिणी सभा (थाकस) को मानक भाषा वहस ९ सम्पन्न भएको छ । शनिबार थाकसको नवौं भागमा छलफल र वहस भएको हो । बहसमा थारु विज्ञहरुले एक जिल्लाका थारुले बोलेको भाषा अर्को जिल्लाका थारुले सहिजलैसँग बुझ्ने र केही बोल्न पनि सक्ने हुनाले एउटा मानक बनाएर अघि बढ्दा उचित हुने सुझाव दिनुभयो ।
आजको वहसमा थारु भाषा र संस्कृतिका विज्ञ तथा अधिकारकर्मी सुशील थारुले आफू कञ्चनपुरदेखि झापासम्मको थारुले बोलेको भाषा सहजरुपमा बुझ्ने र बोल्न सक्ने बताउनुभयो । सबै जिल्लाको थारु भाषा सबैले सहजरुपमा बोल्न नसके पनि बुझ्नमा कठिनाई नरहेको उहाँले बताउनुभयो । भाषा समृद्ध बनाउन एउटा मानक बनाएर त्यसको अभ्यासमा लाग्दा नै उचित हुने बताउनुभयो ।
जुन भाषा बढी लेखिन्छ, बोलिन्छ त्यही भाषा मानकताको रुप पाउन सहज हुनेभन्दै विज्ञ चौधरीले सबैलाई लेख्ने अभियानमा लाग्न सुझाव दिनुभयो । मानक बनाउँदा सरकारी निकायसँग सहकार्य गरेर जानुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो । थाकसले मानक भाषा वहसको नेतृत्व लिएर राम्रो काम गरेको उहाँले बताउनुभयो । भाषाको विकास गर्न मानकता अनिवार्य रहेको उहाँले सुझाउनुभयो । एउटा मानक बनाएर थारु विश्व विद्यालयको पहल गर्न ढिलाई गर्न नहुने उहाँले बताउनुभयो ।
साहित्यकार तुलसीदास चौधरीले आफ्नो आफ्नो धारणा र तर्क जे जस्तो भएपनि मानक बनाउनमा सबै थारु विज्ञको एकमत देखिनु खुशीको कुरा भएको बताउनुभयो । काम गर्दैजाँदा तर्क, वितर्क र वहस हुनु स्वभाविक भएको बताउँदै उहाँले सबै विचार र भावनालाई सम्मान गर्दै प्रक्रियागतरुपमा मानक बनाउन सकिने बताउनुभयो । मानक बनाउने प्राविधिक समिति गठन गरेर काम शुरु गर्न उहाँले थाकसलाई सुझाव दिनुभयो ।
पश्चिमदेखि पूर्वसम्म थारु समुदायका अनेक भाषिका भएकाले भाषिकालाई बलियो बनाएर समग्ररुपमा त्यसलाई जोडेर संयुक्त मानक बन्नसक्ने सुझाव ।
भाषा विज्ञ तथा अध्यापक अनिलदत्त चौधरीेले मानक बनाउने प्रक्रिया र सिद्धान्त हुने भएकाले प्रक्रियामा गएरै मानक बनाउनु पर्ने सुझाव दिनुभयो । भाषाले समाजमा एकता गर्ने हुनाले जातीय एकताका लागि पनि भाषिक एकता अनिवार्य रहेको बताउनुभयो । पश्चिमदेखि पूर्वसम्म थारु समुदायका अनेक भाषिका भएकाले भाषिकालाई बलियो बनाएर समग्ररुपमा त्यसलाई जोडेर संयुक्त मानक बन्नसक्ने सुझाव दिनुभयो ।
पूर्वका थारु समुदायका अगुवाले त्यहाँको शब्द शब्दावली समेटेर शब्दकोष निर्माण गरेको र भाषा शुद्धताकालागि व्याकरण समेत निर्माण गरिसकेको अवस्थामा पश्चिममा पनि सोहीअनुसार अभ्यास गरेर भाषिक एकताको प्रक्रियामा जाँदा उपयुक्त हुने विचार राख्नुभयो ।
थारु संस्कृतिविद भुलाई चौधरीले साझा थारु मानक भाषा बनाउने अभियानमा थाकस भएकाले वर्णमा विवाद गर्नु गलत भएको बताउनुभयो । पश्चिममा ट, ठ, ड, ढ बोलिन्छ भने पूर्वमा त, थ, द, ध पनि बोलिने हुनाले वर्ण कायमै राख्न अनिवार्य रहेको बताउनुभयो । थारु साझा वर्णमाला बनाउँदा सबै वर्ण राख्न आवश्यक हुने र आगन्तुक शब्दको प्रयोग गरेरै थारु मानक बन्ने बताउनुभयो । आगन्तुक लिने हो भने सबै वर्ण नलिएर सुख छैन, यसमा विवाद गर्नुहुन्न उहाँले भन्नुभयो ।
छलफल कार्यक्रममा राकेश सिंह, वुद्धसेन चौधरी, प्रेमीलाल चौधरी लगायतले धारणा राख्नुभएको थियो । थाकसले गत साउन ३१ गतेदेखि थारु मानक भाषाबारे भर्चुवल वहस चलाउँदैआएको छ । सो वहसमा अहिलेसम्म करिब ४० जना विज्ञले आफ्नो धारणा र सुझाव राखिसक्नुभएको छ ।