घर घरमा दशैं शुरु, थारु समुदायका सदस्यले किन लाउँछन् सेतो टीका ?


लक्की चौधरी
काठमाडौं, कात्तिक ७ गते । कोरोना कहरकाबीच घरघरमा दशैंको रमझम शुरुभएको छ । काठमाडौं उपत्यकासहित देशभर यस वर्ष दशैंको खासै आकर्षण नदेखिए पनि परम्परागतरुपमा चाडपर्व मनाउन सुरक्षित तरिका अपनाइएको छ । गाउँमा यसवर्ष थारु सखिया नाचको रौनक खासै देख्न नपाइने भएको छ ।

सरकारले यस वर्ष सामुहिकरुपमा दशैं नमनाउन उर्दी जारी गरेको छ । एक ठाउँमा बढीमा २५ जनाभन्दा बढी जम्मा नहुन भनिएपछि प्रायः थारु गाउँमा हरेक वर्षजस्तो रमाइलो दशैं नहुने भएको छ । सखिया नाच र दिननचुवा नाचले गाउँ गुन्जयमान हुने बेलामा यसपल्ट गाउँघर सुनसान हुने देखिएको छ । यद्यपि परम्परागत रुपले दशैं मनाउने तयारी भने सबैले गरेका छन् ।

सेतो टीका

‘सेतो टीका कहिलेदेखि कसले लगाउन शुरु गरेको हो’ खोज अन्वेषण गरेको पाइँदैन । अक्सर आदिबासी जनजातिहरुको चाड–तिहारमा लगाइने गरेको सेतो टीकालाई कहिलेकाँही विशेष परिस्थितिमा बाहुनक्षेत्रीले पनि लगाएको देखिन्छ । तर बाहुन क्षेत्रीले लगाउने सेतो टीका शुद्धीको रुपमा होइन प्रायः अशुद्धी प्रतीकको रुपमा लगाएको देखिन्छ । अधिकांश आदिबासी जनजातिले प्रयोगमा ल्याउने सेतो टीकालाई यहाँका भूमिपुत्र आदिमबासी थारुहरुले दशैं, तिहार तथा अन्यबेला देवीदेवतालाई लगाइदिने गर्छन् । पौराणिककालदेखि थारुले सेतो टीकालाई प्रयोगमा ल्याउँदैआएका छन् । अहिले फाट्टफुट्ट रुपमा देखासिखीमा रातो टीका प्रयोगमा आएको छ । तर सेतो टीका नै थारु समुदायको प्राचीन सभ्यता र प्रचलन हो । आदिबासी जनजातिभित्र पर्ने थारु, नेवार, मगर, गुरुङलगायतका सबै आदिबासीले सेतो टीका अङ्गिकार गरेको पाइन्छ ।

उसो त आदिबासीहरु पृथ्वीमा पहिलो पटक आँखा उघार्दा यहाँ कुनै रङको विकास भइसकेको थिएन । मात्र एउटा सेतो रङ थियो । जुन प्रकृतिको उपहार थियोे । चाहे पानीको फोहरा होस् । माटो होस्, धुलो होस् या हिमाल सबै सेतै उत्पत्ति भएका हुन् । अद्यापि छँदैछन् । सेतो रङ प्राकृतिक रङ हो । धेरैपछि विकास भएका अन्य रातो, खैरो, निलो, पहेलो, हरियो रङहरु कृत्रिम रङ हुन् । सेतो रङमा यिनीहरुलाई मिसाउँदा अन्य रङको निर्माण हुनेगर्छ । सेतो रङ चोखो र प्राकृतिक रङ मानिन्छ । यही चोखो रङको प्रभाव आदिबासीमा परेको हो । त्यसैले थारु जातिको पुरानो पहिरन पनि सेतो नै छ । चाहे विवाह गर्दाहोस् । मृत्यु हुँदा होस् या अन्य बेलामा । महिला तथा पुरुषले लुङ्गी, लङ्गौटी, धोटी या चोलो सबै सेतो नै लगाउने गर्दछन् । थारु समाजमा विशेष चाडवाडमा सेतो पहिरनमै महिला पुरुषहरु सजिने गरेका हुन्छन् ।
हिन्दूधर्म मान्नेहरुले सेतो टीकालाई अशुद्धिको रुपमा प्रयोग गर्छन् । चाडवाडमा जाँड, रक्सी, सुंगुर छुनु पनि हुँदैन, भन्छन् । तर आदिबासी जनजातिहरुलाई ती चिज नभई हुँदैन । आदिबासी जनजातिहरु हिन्दू हुन् त ? प्रसङ्ग मननयोग्य हुन सक्ला ।

यद्यपि थारु लगायतका आदिबासीहरु अझ हिन्दू र बौद्ध दुवै धर्म मान्दै आएका छन् । कतिपयले सेतो टीकालाई शान्तिको प्रतीक मान्छन् । जुन टीका गौतमबुद्धले पनि ग्रहण गर्दैआएका थिए । तथापि गौतमबुद्धले कहींकतै सेतो टीकाको महिमाबारे प्रष्ट्याएका छैनन् । निधारमा लाउने टीकाले मन शुद्ध हुन्छ । वीरताको संकेत गर्छ अर्थले हेरिन्छ । मानिस विजय प्राप्त गर्दा होस् या नयाँ कामको शुरुवात गर्न टीका लगाउने गर्छन् । लामो यात्रामा जाँदाहोस् या भगवानको पूजागरी प्रसादीको रुपमा प्रायः टीका लगाइन्छ ।

थारु अगुवाहरुको धारणा

अशोक थारु (दाङ)
प्रकृति र आदिमजातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारुहरुको प्यारो रङ सेतो बन्यो । देवीदेवताको पूजा गर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारुको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारु लगायतका आदिबासीहरु सेतो रङको प्रयोग गर्ने गर्दछन् ।

थारु समाजका महिला–पुरुषले लगाउने सबै पोशाक शुरुमा सेतो थियो । अहिले अन्य रङको विकाससँगै थरिथरिका कपडाहरुको विकास भएपछि युवापीढीले अन्य रङको पोशाक लगाउन शुरु गरे । विशेष चाडवाडमा अझै पनि थारुले सेतो पोशाक र टीकालाई महत्व दिने गर्छन् । यसलाई कायम राख्नु हाम्रो प्रकृतिसँगको सम्बन्ध र आफ्नो विरासतलाई कायम राख्नु हो । सृष्टिकर्ता जाति भएका नाताले पनि प्रकृतिसँग रमाउनु र नजिक हुनु स्वभाविक हो ।

हुन त आजभोलि सेतो रङलाई गौतमबुद्धको प्रतीक, शान्तिको प्रतीकको रुपमा मात्रै सीमित गरेर हेर्ने गरिएको छ । प्रकृतिपूजक आफैपनि शान्तिका प्रतीक हुन् । गौतमबुद्धको इतिहास त २६ सय वर्षमात्रै भयाृ । थारु जातिको इतिहासलाई त्यसमा सीमित गर्नु असान्दर्भिक हुन्छ । थारु समुदायभित्रका एक सदस्य गौतमबुद्ध थिए । उनले सेतो रङलाई अङ्गिकार गर्नु उनको कर्तव्य थियो । तर थारु इतिहास उनको शान्तिकामी अभियानमै सीमित गरिनु इतिहास मार्नु सरह हो । सेतो रङको सान्दर्भिकता र महत्व हिजो जति थियो, आज पनि उत्तिकै छ । यसलाई निरन्तरता दिनु नै थारुको पहिचान र महत्व कायम रहन्छ ।

सुशील चौधरी (वर्दिया)
सेतो रङ शान्तिको प्रतीक हो । थारु जाति शान्तिकामी जाती हुन् । लडाई झगडा र छलछाममा विश्वास गर्दैन । प्राचीनकालदेखि थारु जातिले आफ्नो देवी देवतालाई गाईको दुधले पूजा गर्ने गर्दथे । गाईको दुध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन थियो । देवताका लागि गाईको दुध र स्वच्छ पानी सबैभन्दा पवित्र मानिने हुनाले थारुले त्यसको उपयोग गर्दैआए । यद्यपि थारु जातिले गाईलाई माताको सङ्ज्ञा दिएनन् । गाईको दुध सेवन पनि गरेनन् । देवतालाई मात्रै चढाउने काम गरे । सायद त्यही भएर होला गाईको दुध सेवनभन्दा पनि गाईको बाच्छालाई हुर्काइबढाई खेत जोत्ने काममा उपयोग गर्दै आए । जुन अद्यापि जारी छ । थारुको देवता गुर्वावा पनि गाईबाट जन्मेको विश्वास गरिन्छ ।

थारुहरुको इतिहास बुद्धसँग पनि जोडिएको छ । बुद्ध स्वयम् थारु थिए भन्ने इतिहासकारले चर्चा गरेका छन् । थारु भएकैकारण बुद्धले शान्ति फैलाउने काम गरे । सेतो रङको उपयोग गरे । थारुको इतिहास बुद्धकालदेखि शुरु नभई बुद्ध पनि थारुको एक सदस्य थिए भनेर बुझ्दा इतिहास बुझेको मानिन्छ । सेतो टीका प्राचीनकालदेखि उपयोग भएकै कारण दशैं, तिहार तथा देवतालाई अन्यबेला पनि सेतो रङले पूजागर्ने प्रचलन कायम छ । थारु सदस्यको नाताले बुद्धले पनि सेतो टीकाको अनुशरण गरे । उनले नै सेतो टीका चलनचल्तीमा ल्याएका होइनन् ।

लाहुराम चौधरी (कैलाली)
सेतो रङको महत्व भनेको छलछाम नगर्नु, पक्षपातपूर्ण काम नगर्नु, इमान्दार तथा सहयोगी र परोपकारी हुनुसँग जोडिएको छ । थारु जातिको दिमागमा दायाँबायाँ गर्ने कुनै ज्ञानै थिएन । प्रकृतिले दिएको ज्ञानरुपी उपहारलाई उनीहरुले प्रयोग गरे । समय परिवर्तन भैसक्दा समेत त्यही बाटोलाई अँगालेका छन् । पछिबाट आएका जातजाति प्रकृतिको विरोधी देखिए । छलछाम र कपटपूर्ण काम गरे । थारुको सोझोपन र इमान्दारीको फाइदा उठाई उनीहरुलाई विस्थापन गरे । उनीहरुको श्रीसम्पत्तिमा हैकम जमाए । अनेक जालझेल र षडयन्त्रमा पारी थारुलाई फँसाए ।

आदिमकालदेखि शुरु भएको सेतो रङलाई थारुले अहिले पनि उपयोग गर्छन् । स्वच्छ, सफा र चोखोपनको महत्व बोकेको सेतो रङलाई आदिम जाति थारुले उपयोगमा ल्याउनु स्वभाविक थियो । अहिले वीरताको संकेतको रुपमा रातो रङलाई टीकाको रुपमा ल्याउने गरे पनि त्यो थारुको प्राचीन रङ होइन । समाज परिवर्तन हुँदैगएपछि अन्य जातजाति तथा समुदायसँग घुलमिल हुँदै गएपछि अन्य रङको महत्व बढ्दै   गयो ।

तपाईको प्रतिक्रिया