‘सुप्पो ठटाएर अलच्छिन भगाउने’ थारु देवारी

लक्की चौधरी

उज्यालो पर्व हो दीपावली । दीपावलीलाई थारुमा ‘देवारी’ भनिन्छ । उज्यालोको अर्थ खुशीयाली र अमनचयन हो । घरमा जगमग उज्यालो छाएजस्तै सबै नेपालीको मुहारमा उज्यालो छायो भने बल्ल उज्यालोको अर्थ सार्थक हुन्छ । उज्यालो र खुशीको चाड हो थारु जातिको देवारी पनि । सबैले घरमा बत्ती बालेर उज्यालो बनाएजस्तै थारु जातिले पनि बत्ती बालेर नै यो चाड मनाउँछन् । बत्ती बालेर सबैले तिहार मनाउँछन् । लक्ष्मी भगवानको स्मरणमा पूजा गर्छन् । धनधान्यकी खानी भगवान लक्ष्मीको पूजा गरिने हुनाले सबैको मन खुशी हुन्छ । लक्ष्मी भनेकै धन पैसा, सम्पत्ति भनेर जानिन्छ । घरमा मनग्य धन छ, सम्पत्ति छ भने सबैको मनमा एक किसिमको सन्तुष्टि हुन्छ । मन रमाउँछ । तर सबैचिज धन हैन । यस चाडले भगवान लक्ष्मीको आफ्नो घरमा स्वागत गर्ने र सबै आफन्तजनसँग संगै बसेर मीठो खाने अवसर प्रदान गर्छ । दाजुभाइ, दिदीवहिनीबीचको गहिरो प्रेम र सद्भावलाई झन दह्रो बनाउँछ । भ्रातृत्वको विकास गर्छ । दाजुबैनी दिदी भाइबीचमा अटुट सम्बन्ध कायम  गर्छ । वर्षौसम्म भेटघाट नभएका आफन्त, दाजु–भाइबीच मेलमिलाप र भेट गर्ने अवसर प्रदान गर्छ । थारु समाजमा अरु चाड जत्तिकै हर्सोल्लासका साथ त यो पर्वलाई मनाइदैन । एक दिन लक्ष्मी भगवानको सम्झनामा बत्ती बालेर पूजापाठ जसले पनि गर्छ । देवारीलाई थारु समुदायले केही फरक किसिमले मनाउँछन् ।

सुप्पो ठटाउँदा दुःख विमार, वैरी, दुश्मन, प्रेतत्मा घरबाहिर भाग्छन् भन्ने विश्वास  गरिन्छ ।

हिन्दूहरुको दीपावली खासगरी काग तिहारबाट सुरु हुन्छ । कागले खवर आदान प्रदान गर्ने सन्देशबाहकको रुपमा काम गर्ने हुनाले दीपावलीमा पूजिन्छ । कसैको घरमा पाहुना आउँदैछन् भने अथवा नराम्रो कुनै घटना घट्नेवाला छ भने कागले पहिलै संकेत गर्छ । घरको आँगनमा, घरको छतमा, छेउकै रुखमा बसेर का का कराउँछ । यसरी काग करायो भने हाम्रा बाजे बराजुहरु ‘आज केही हुनेवाला छ या पाहुना आउँदैछन्’ भनेर अड्कल गर्छन् । सन्देशबाहकको काम गरेकोले कागको पूजा गर्ने र मीठो खानेकुरा दिन्छन् । काग तिहारपछि कुकुर तिहार मनाइन्छ । कुकरले घरको रेखदेख गर्ने र चोरी हुनबाट घरलाई जोगाउँछ । राती घरको पहरा गर्ने हुनाले घरको चौकीदारको रुपमा कुकुरलाई लिइन्छ । त्यसैले कुकुर पनि पुजिन्छ । त्यसपछि लक्ष्मीपूजा, गोवद्र्धनपूजा र भाइटीका आउँछ । थारु समुदायका लागि काग तिहार, कुकुर तिहारको खासै अर्थ राख्दैन । खाली लक्ष्मीपूजा र सामान्य भाइटीका लगाईने गरिन्छ । भाइटीका पनि थारु समुदायको चलन होइन । अरुको देखासिकीमा आएको हो ।

थारु समाजमा दीपावली लक्ष्मीपूजाको दिनलाई मानिन्छ । लक्ष्मीपूजाको विहानैदेखि माटोको दियो बनाउने काम हुन्छ । दिनभरी लगाएर बनाएको माटाका दियो साँझ भएपछि त्यसैमा तेल र बाटी हालेर बालिन्छ । सबैको घरमा गाई गोरुहरु भिœयाइसकेपछि घर आँगन सफा सुग्घर बनाएर दियो बाल्ने काम हुन्छ । थारुहरुको देवारी उज्यालो चाड भएकाले घर सफा सुग्घर गरी उज्यालो बनाइन्छ । आ–आफ्ना घरहरु लिपोट गरेर देवारी आउनुभन्दा अगावै सफा सुग्घर बनाइन्छ । घर वातावरण जत्ति सफा सुग्घर गर्न सक्यो त्यति लक्ष्मीको बास हुन्छ भन्ने विश्वास गरिन्छ ।

घर वातावरण जत्ति सफा सुग्घर गर्न सक्यो त्यति लक्ष्मीको बास हुन्छ भन्ने विश्वास गरिन्छ ।

देवारीको दिन घरको चारैतिर सफा सुग्घर गरेर गोवर पानीले लिपपोट गरिन्छ । घरको चारैतिर माटाका दियोमा खाने तेल हालेर साना रुईको बाटी राखेर जलाइन्छ । चारैतिर उज्यालो पारिन्छ । यसरी चारैतिर उज्यालो पार्नाले लक्ष्मी खुशी हुन्छिन् भन्ने विश्वास गरिन्छ । दियो बाल्दा सबभन्दा पहिला देवता बस्ने कोठा (देहुरार) बाट दियो बाल्ने काम सुरु गरिन्छ । घरमुलीले दियो बाल्दै जाने र अर्को एक जनाले सुप्पो ठटाउने गर्छन् । मादल ठोकेजस्तै गरेर सुप्पोलाई ठटाउँदै ‘भाग दलिदरी ओत्ती जा लक्ष्मी घरम आ’ (भाग अलिच्छीन टाढा जा लक्ष्मी घरमा आउनु) नारा भट्याइन्छ । सुप्पो ठटाउने मान्छेले सुप्पो ठटाउँदै त्यही नारा घरीघरी दोहो¥याई तेहे¥याई उच्चारण गर्छ । जबसम्म बत्ती घरको चारैतिर बालेर सकिदैन । तवसम्म सुप्पो ठटाउने काम रोकिदैन । सबै कोठाका ढोका, झ्याल र भित्र दियो बालिन्छ र घरको कुना कुनामा सुप्पो ठटाउने र अलच्छिनलाई भगाउने काम गरिन्छ । यसरी सुप्पो ठटाउँदा दुःख विमार, वैरी, दुश्मन, प्रेतत्मा घरबाहिर भाग्छन् भन्ने विश्वास   गरिन्छ । घरको भित्र सबै ठाउँमा बत्ती बालिसकेपछि घर बाहिर चारैतिर बाल्ने काम हुन्छ । थारुहरुको घरको पूर्वपट्टिको द्वार अगाडि मरुवा बनाइएको हुन्छ । जसमा घर संरक्षक देवता बस्नछन् । मरुवाको चारैतिर दियो बालिन्छ । गाई गोठ, धारा पँधेरा, आँगन, कौसी सबैतिर दियो बालेर उज्यालो पारिन्छ । सुप्पो ठटाउने मान्छे नुहाएर सफा हुनुपर्छ । त्यसैगरी बत्ती बाल्ने घरमुली पनि नुहाएर सफा हुनुपर्छ । सुप्पो ठटाएर अलिच्छिनलाई बाहिर निकाल्यो भने एक वर्षसम्म घरमा दुःख विमार र चिन्ता रहँदैन भन्ने विश्वास गरिन्छ । थारुहरुको पनि ठाउँ र स्थानअनुसार दीपावली मनाउने फरक फरक चलन छ ।

घरको कुना कुनामा सुप्पो ठटाउने र अलच्छिनलाई भगाउने काम गरिन्छ ।

देवारीमा थारुहरुले पृथक किसिमको परिकार खान्छन् । चामलको पीठोबाट बनाइएको ‘ढीक्रि’ थारु समुदायको प्रमुख परिकार हो । ढीक्रि देवारीजस्तै माघी, दशै र अन्य बेला पनि बनाइन्छ । दीपावलीमा ढीक्रिसँग माछाको सुकुटी, गंगटाको तरकारी खाने प्रचलन छ । दीपावलीको दिन विहानदेखि माटाका दियो बनाउने र घरका अन्य सदस्यहरु खोला तलाउमा गएर माछा मार्ने र गगंटा खोज्ने गर्छन् । यसरी मारेको माछा र गंगटाहरु साँझ ढीक्रिसँगै खाने गरिन्छ । चारैतिर दियो बालीसकेपछि सबै घरका सदस्यहरु देवताको कोठामा संगै बसेर खानेकुरा खाने र आवश्यक छलफल गर्ने गरिन्छ । एउटै कोठामा घरका सबै सदस्य संगै बसेर खानु थारुहरुको मेलमिलाप र सामुहिकतालाई जनाउँछ । एक आपसमा मिलेर बस्ने, मिलेर खाने हुनाले थारु जाति सामुहिक परिवारमा बस्न रुचाउँछन् । परिकारमा ढीक्रिसँगै विभिन्न परिकार सागसब्जी, पिडालु, सिन्की लगायतका अन्य तरकारी पनि बनाइएको हुन्छ । त्यससँगै घरैमै तयार पारेको रक्सी र जाँडको परिकार पनि खान दिने प्रचलन छ । घरका सदस्यसँगै पाहुना तथा गाउँका अन्य आफन्तजनहरु पनि चाडमा रमाइलो गर्न आएका हुन्छन् ।

खानुभन्दा पहिले पूजा पाठ गरी घरका देवतालाई तातो ढीक्रि चढाइन्छ । घरमुलीले त्यो काम गर्छन् । ढीक्रिसँगै रक्सी र शुद्ध जल पनि चढाउने गर्छन् । उता केटाकेटीहरुले खाना खाईसकेपछि देउँसी र भैली खेल्छन् । पहिले थारु गाउँमा थारु सदस्यले देउँसी भैली खेल्दैनथे । देउँसी र भैली खेल्ने प्रचलन पनि अरु समाजका मानिससँग केटाकेटीहरु सिकेका हुन् । थारु समुदायको चलन नभए पनि आजकल अधिकांश गाउँमा देउँसी र भैली खेलेर रमाइलो गर्ने गरिन्छ । तर यस वर्ष कोभिड १९ का कारण देउसी भैली कम खेल्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले त्यसमा रोक लगाएको समाचार आइरहेका छन् ।

भाइटीका थारु समाजको आफ्नै चलन हैन ।

देवारीको अन्तिम दिन भाइटीका पर्छ । भाइटीका थारु समाजको आफ्नै चलन हैन । यो चलन पनि अरु समुदायबाट देखासिखी गरेर चलाईको हो । केही केही गाउँमा यो प्रचलन छ, सबैतिर भाइटीका लगाइने गरिदैन । भाइटीका लगाइनाले दाजु भाइ र दिदी वहिनीको बीचमा आत्मीय सम्बन्ध र भ्रातृत्वप्रेम बढ्ने हुनाले यसको अनुशरण गरिएको केही थारुले तर्क गर्छन् । तर पूर्खाले यसको विरोध जनाउँछन् । केही युवाहरुले भाइटीकालाई संस्कृतिको नाममा कलङ्क भन्छन् । टीका लगाउने दिदी वहिनीले दाजु भाइको दीर्घायुको कामना गर्छन् । हिन्दूहरुको विश्वास अनुसार एउटा मान्छेको आयू सिद्धिए पनि बैनीले टीका र सुपारी मखमली र दुवोको माला लगाई दिएको हुनाले यमराजले पनि त्यसलाई लग्न नसकेको, जबसम्म भाइको घाँटीमा लगाएको माला ओइलाउँदैन तवसम्म यमराजलाई नलग्ने अनुरोध गरेकोले यमराजले पनि बहिनीको भनाईलाई मानेर उसको दाजुलाई टपक्क टिपेर नलगेको किंवदन्ती सुनिन्छ । यसैकारण दिदिवहिनीहरुले आफ्नो दाजु भाइको घाँटीमा चाँडै नओइलिने फूलको माला र दुवोको माला लगाउने गर्छन् ।

तपाईको प्रतिक्रिया