कमल चौधरी
कपिलबस्तु, पुस १८ गते । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगरस्तरिय माघी महोत्सव हुनेभएको छ । नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघीको अवसरमा महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारी सभा बाणगंगा नगर सभापति भग्गुप्रसाद थारुले बताउनुभयो ।
थारु समुदायको नववर्ष माघीलाई आफुहरुले कोविड–१९ को समयमा पनि स्वस्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु आपनाएर माघ २, ३ र ४ गते तेस्रो बाणगंगा नगरस्तरिय माघी महोत्सव शिवरात्री मेलास्थल हथौसामा मनाउन लागेको बताउनुभयो ।
त्यस्तै नगरस्तरीय माघी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न हथौसामा शनिबार बैठकबसी सभाका अध्यक्ष थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
त्यस्तै १२ वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसको आर्थिक व्यवस्थापन समितिको संयोजकमा नुमलाल थारु, माघी संस्कृति व्यवस्थापन समितिको संयोजकमा ऋषिराम थारु, मंञ्च व्यवस्थापन समितिको संयोजकमा भिखु थारु, अतिथि व्यवस्थापन समितिको संयोजकमा रामशंकर थारु, स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा दिनेश थारु, प्रचार–प्रसार व्यवस्थापन समितिको संयोजकमा सन्तराम थारु रहनुभएको छ ।
सोहीअनुसार संचार तथा मिडिया व्यवस्थापन समितिको संयोजकमा श्याम सि.टी, सचिवालय व्यवस्थापन समितिको संयोजकमा भग्गुप्रसाद थारु, सल्लाहकार व्यवस्थापन समितिको सांयोजकमा महादेव थारु, भान्सा व्यवस्थापन समितिको संयोजकमा श्रीराम थारुलाई जिम्मा दिइएको छ ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ ।
साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् । महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताउनुभयो ।
त्यस्तै यस बर्ष माघीको अवसरमा माघ २ गते रक्तदान र ३ गते युवा पुस्तमा बढ्दै गएको लागुपदार्थ दुव्र्यवसनी अन्त्य गर्ने सम्बन्धी सचेतना मुलक नाटक प्रस्तुत हुने आयोजकले बताएको छ ।
माघी महोत्सवलाई सफल बनाउन बाणगंगा नगरपालिकाले ३ लाख, बाणगंगा वडा कार्यालयले ३, वडा ५, वडा ६, वडा ८ र वडा ९ बाट ५० हजारके दरले सहयोग संकलन गरिने बताइएको छ । बाणगंगा ४ ले ७५ हजार सहयोग गर्ने भएको छ । यसरी कुल अनुमानीत ६ लाख २५ हजार रुपियाँ बरावरको आर्थिक सहयोग स्थानिय निकायबाट संकलन गरिने आयोजकले बताएको छ ।