मेलमिलापको साझा पर्व ‘माघी’

संस्कृति विश्लेषण

लक्की चौधरी

पश्चिमा थारुहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले ‘खिचरा’ भन्छन् । आम नेपालीले यस पर्वलाई ‘मकर संक्रान्ति’को रुपमा चिन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईका जिल्लामा थारुहरुको सघन बसोबास छ । ठाउँअनुसार यो पर्वको नाम फरक भएपनि मनाउने परम्परा समान छ । ‘माघे सङ्क्रान्ति’को नामले सबै नेपालीले यस पर्व मनाउँछन् । बाह्र महिनामध्ये दशौं महिना ‘माघ’ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ अर्थात् ‘माघी’ रहन गयो । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) ले २०५९ सालदेखि काठमाडौंमा महोत्सवको रुपमा यस पर्वलाई मनाउन शुरु गरेपछि ‘माघ’लाई ‘माघी’ भन्न थालियो । पश्चिम नेपालका थारुको जनजिव्रोले ‘माघ’ उच्चारण गर्न रुचाउने भएपनि पूर्वी नेपालका थारुको जनजिव्रोले यसलाई ‘माघी’ उच्चारण गर्न सहज मान्यो । काठमाडौं उपत्यकामा कामविशेषले सबै जिल्लाका थारुको मिश्रित बसोबास भएकाले ‘माघ’लाई ‘माघी’कोरुपमा स्वीकार गरियो । उच्चारण जे गरे पनि मनाउने ‘माघ’ पर्व नै हो । पश्चिमा थारुले यसलाई विशेष पर्व (नयाँ वर्ष) को रुपमा मनाउँछन् ।
स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडियाले ‘माघी’ उल्लेख गरेको छ । त्यसमा लेखिएको छ, “माघी नेपालमा बसोबास गर्ने थारु समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वकोरुपमा लिइन्छ ।” तत्कालिन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले २०५९ साल माघमा थारु कर्मचारीलाई एक दिन विदा दिने प्रचलन चलायो । अद्यापि त्यो कायम छ । सरकारले पनि थारु पर्व ‘माघी’लाई महत्व दिएको रुपमा थारुले यसलाई स्वीकारे ।


जिता मार्ने चलन
माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारु गाउँमा ‘सुँगुर’ काट्ने प्रचलन छ । जसलाई थारुमा ‘जिता मर्ना’ भनिन्छ । संक्रान्तिको दिन पापकर्म नगर्ने हुनाले पुसको अन्तिम दिनमा जिता ‘मार हान्ने’ गरिन्छ । ‘माघ’मा मासु, माछा अनिवार्य हुन्छ । सुँगुर, बंगुर, कुखुरा, हाँसको मासुसँग थारु परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गँगटा, अनदीको भात, मुरही, तिलको लड्डु, सखरखण्ड, तरुल, केराको तरुवा, सठौरा, मुरही, खिचडी भात, लोकल रक्सी आदि परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरी थारुहरु जाग्राम बस्छन् । त्यसरात दफुकोसाथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारु इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत सिर्जाइएको हुन्छ । गीत सबै मौखिक हुन्छ । अहिलेसम्म मौखिक साहित्यकोरुपमा रहेको धमार गीतलाई अहिलेका युवाले दस्तावेजीकरणको काम गर्न थालेका छन् । थारु पुर्खाहरुले गीतलाई कण्ठस्थ पारेका हुन्छन् । अर्थात् उनीहरु गीत रचना गर्न सिपालु हुन्छन् । रातभरी जाग्राम बसी गीत गाउने गायकहरुको सत्कारका लागि जाँर रक्सी र खानपानसहितको विशेष व्यवस्था गरिएको हुन्छ ।
माघ लहान
माघ १ गतेलाई पवित्र दिनकोरुपमा लिइन्छ । माघ १ गते परम्परागत बाजागाजासहित सामुहिकरुपमा नदी दोभान, पोखरी, जलाशयमा गई स्नान गरिन्छ । जसलाई थारुहरुले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारु भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट ‘माघ लहान’ भएको हो । अन्य बेला स्नान गरे–नगरे पनि त्यसदिन घरका सबै सदस्यले अनिवार्यरुपमा स्नान गर्ने हुनाले यसलाई ‘माघ लहान’ भनिएको हो । यो दिन विशेष हुन्छ । जलदेवतासँग पानी खरिद गरेर नगदमा मात्र स्नान गरिन्छ । एक हातले नाक समातेर जलाशयमा डुबुल्की मार्ने, अर्को हातमा रहेको सिक्का पैसा जलदेवतालाई भित्रै छाड्ने गरिन्छ । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरी जानअन्जानमा गरिएका गल्ती (पापकर्म) पखालिन्छ, नष्टहुन्छ भन्ने विश्वास छ । नुहाउन जाँदा बाटोभरी धमार गीत गाउने, मघौटा नाच नाचिन्छ । गाउँभरीका सदस्यहरु सामुहिकरुपमा एकै ठाउँको जलासयमा रमाइलो गर्दै स्नान गर्दा रमाइलो हुनेगर्छ । यसले सामुहिकताको भावना विकास गर्छ । सहयोगको भावना जागृत हुन्छ । माघ लहान गरेर देवी देवताको पूजापाठ गर्दा सन्तान नहुने दम्पतीको कोख भरिने, पापकर्महरु नष्ट हुने धार्मिक विश्वास  छ ।


सेवा–ढोग
घरका ज्येष्ठ सदस्य वा अभिभावकलाई सम्मान स्वरुप सेवा–ढोग गर्ने र आशीर्वाद लिने प्रचलन पुरानै हो । तर थारु समुदायको माघी पर्वमा गरिने सेवा–ढोग र लिइने आशीर्वादको विशेष महत्व छ । गाउँघरका सदस्यहरुले काम विशेषले देशबाहिर, जिल्ला र गाउँबाहिर रहँदा वर्षदिनपछि माघमा एकै ठाउँमा जम्मा हुन्छन् । माघ १ गते चोखो पानीले स्नानगरी ठूलाबाट आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठूलालाई आदर सम्मान दिन्छ । दीर्घायू तथा सुखी जीवनको आशीर्वाद प्राप्त हुन्छ । यसले एकअर्कालाई जोडेको छ । सम्बन्ध विस्तार गरेको छ । ठूलाको सम्मान र सानालाई माया गर्ने भावना जागृत हुन्छ । यसले व्यक्तिलाई जोड्ने मात्र होइन, समाज र देशलाई नै जोड्छ । सेवा आदरभाव सँगसँगै पुस्तान्तरण पनि हुन्छ । सौहाद्रता, भातृत्वभावको विकास हुन्छ ।

ढोग आशीर्वादमा अभिभावकले वर्षभरका लागि सुख, शान्ति, प्रगतिको आशीर्वचन प्रदान गर्छन् । घरका सदस्यले गाउँका सबै अभिभावक, आफन्तकहाँ गएर आशीर्वाद थाप्छन् । यो प्रचलनले गाउँका सदस्यबीच एकअर्कासँग सम्बन्ध प्रगाढ बनाउने भूमिका खेल्छ । ढोग आशीर्वाद पछिमात्र खानपिन गरिन्छ । खानपिन पनि सामुहिकरुपमा आगो ताप्दै गरिन्छ । त्यहीबेला प्रगति, नयाँ योजना, सुख दुःखका कुरा पनि साटासाट गरिन्छ । एक अर्कालाई बुझ्न त्यसले फाइदा गर्छ । पर्वलाई मेलमिलाप पर्वको रुपमा लिइन्छ । अहिले देशको राजनीति विकृत छ । यस्तोबेला थारु ‘माघी पर्व’बाट राजनीतिक दल, नेता तथा कार्यकर्ताले मेलमिलापको पाठ सिक्न सके देशमा शान्ति र आदरसम्मान भावको सिर्जना हुन्छ ।
निसराउ–उपहार
थारुहरुले माघ १ गते स्नान गरेपछि ठूलाको आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग–अलग राखिएका ती सामान छोएर मात्र सेवाढोग लिने गरिन्छ । स्नान गरेर घरमा आएपछि चामल, नुन र दाललाई पाँच–पाँच अम्खोराले अलग भाँडामा राखिन्छ । सगुनकोरुपमा ती सामग्रीलाई छोएपछि अभिभावकको आशीर्वाद लिन्छन् । नजिकमा मठ मन्दिर वा देवालयमा गएर पूजापाठ गरी भगवानको आशीर्वाद थाप्छन् । माघमा विवाहित चेलीबेटीलाई विशेष उपहार दिइन्छ । यसलाई थारुहरुले ‘निसराउ’ दिने भन्छन् । नुहाएर घर आएपछि घरमा सगुनकोरुपमा छोएको चामल, नुन, दाल र केही नगद उपहार नै निसराउ हो । त्यसमा थपेर उपहारस्वरुप माघ २ गते चेलीबेटीलाई पु¥याउने गरिन्छ । आजभोलि नगदसहित निसराउ दिने प्रचलन बढेको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्यरुपमा माइत बोलाइएको हुन्छ । माइत आएका चेलीहरु घर फर्किनेबेला निसराउ लिएर फर्किन्छन् । माइती आउन नपाएका चेलीलाई घरमै गएर पु¥याइन्छ । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । नाता कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महत्वकासाथ हेरिन्छ ।


किन नयाँ वर्ष
थारु सम्बत्अनुसार यो ‘माघ’ २६४४ औं हो । माघ पर्वलाई थारुहरुले नयाँ वर्षकोरुपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाव गर्छन् । माघ १ गतेदेखि नयाँ खाता र योजना बनाउँछन् । वर्षदिन गरेको कामको लेखाजोखा, हिसाव मिलान तथा गाउँको काम गर्न नयाँ नियुक्त प्रक्रिया थाल्छन् । गाउँ सञ्चालन गर्न बरघर, वैद्य वा संरक्षकको रुपमा गुरुवा, सन्देशबाहक चिरक्या, घर सञ्चालनकर्ता घरमुली, गाउँमा हाकदाक लगाउने अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ती गरिन्छ । तिनीहरुको ‘तिहाई’ तोकिन्छ । जिम्मेवारी दिएबापत पारिश्रमिक तोक्नेलाई थारुमा ‘तिहाई तोक्ने’ भनिन्छ । छोराछोरीको विवाह गर्ने प्रचलन पनि माघबाटै शुरुहुन्छ । वर्षदिनका लागि नयाँ योजना बनाउने, जिम्मेवारी तोक्ने, कार्यान्वयनको बाँडफाँट गरिन्छ । कामको शुरुवात यही पर्वबाट हुने हुनाले नयाँ वर्षकोरुपमा स्वीकार गरिएको हो ।
उन्मुक्ति पर्व

उहिले थारु गाउँमा कमैया, कम्लहरी बस्ने प्रचलन थियो । २०५७ साउन २ गतेदेखि तत्कालिन सरकारले कमैया मुक्त घोषणा गरेपछि त्यो प्रचलन हट्यो । कमैया, कम्लहरी, कामदारहरु एक मालिकबाट अर्को मालिककहाँ छारा (एक ठाउँबाट अर्को ठाउँ सर्ने) गर्थे । अहिले पनि धेरै किसानले अधिया खेत गर्छन् । अरुको खेतबारी ‘अधिया गर्ने कि छाड्ने’ निर्णय माघमा हुन्छ । अरुकहाँ रोजगारीको काम गर्नेले नयाँ रोजगार शुरु गर्ने या यथावत रहने निर्णय गर्छन् । गाउँमा जिम्मेवारी हेरफेर हुनेदेखि नयाँ तिहाई तोक्ने काम पनि शुरुहुन्छ । त्यसैले ‘माघ’लाई उन्मुक्ति पर्वको रुपमा लिइन्छ ।
(लेखक गोरखापत्र दैनिकका उपसम्पादक हुनुहुन्छ ।)

साभारः गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया