प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा फाल्छौंः नेता थारु


हमार पहुरा डट कम
काठमाडौं, माघ २८ गते । थारु नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सन्तकुमार थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट घिसारेर थारुहरुले बाहिर निकाल्ने चेतावनी दिनुभएको छ । प्रचण्ड–माधव पक्षको बुधबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेता थारुले सो चेतावनी दिनुभयो ।

वर्दिया निवासी थारुले गत निर्वाचनमा नेता गोपाल दहितलाई पराजित गरी प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँले भन्नुभयो, “सडकको भरमा प्रधानमन्त्रीले गणतन्त्र मास्न खोज्नुभएको छ, खवरदार केपीजी ! संघीयतालाई मास्न पाइदैन, २० लाख थारुहरु विद्रोहको झण्डा उठाइसके, ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा फाल्नेछन् ।”

नेता थारुले त्यस्तो धम्की दिए पनि २०६८ को जनगणनाअनुसार थारुको जनसंख्या नेपालमा २० लाख छैन । १७ लाख ३७ हजार ४७० मात्र जनसंख्या देखाएको छ । नेता थारुले सबै थारुहरु विद्रोहमा रहेको बताएर अर्को झुठ बोल्नुभएको छ ।

पार्टीको भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चाका नेता समेत रहनुभएका नेता थारुले प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतामा लग्ने प्रयास गरेको आरोप लगाउनुभयो । आफ्नो भाषणमा नेता थारुले सरकार र ओलीलाई गाली मात्र गर्नुभयो । थारुको हक अधिकार र मुद्दाको विषयमा प्रवेश गर्नुभएन । आमसभामा थारु वक्ताले ठाउँ विरलै रुपमा पाउने गर्छन् । बोल्ने अवसर पाउँदा अरु नेताको नक्कल गरेजस्तै गाली गलौच मात्र गर्नुभन्दा सिर्जनात्मक र रचनात्मक कुरा राख्दा बक्ताको आफ्नै व्यक्तित्व बढ्ने टिप्पणीकर्ताले टिप्पणी गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया