हमार पहुरा डट कम
काठमाडौं, असार १० गते । थारु आयोगमा थप दुई जना सदस्य नियुक्त हुनुभएपछि आयोगले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा विहिबार आयोगमा सदस्य नियुक्त गर्नुभएको हो ।
नियुक्त हुनुभएका आयोगका सदस्यमा डा. उमाशंकरप्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी थारु (मोरङ) रहनुभएको छ । यसअघि भोलाराम चौधरी (सुनसरी) र सुबोधसिंह थारु (बाँके) नियुक्त हुनुभएको थियो । आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी (वर्दिया) २०७५ चैत ७ गते नियुक्त हुनुभएको थियो । आयोगका पदाधिकारीहरुको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा २६३ मा थारु आयोग रहने व्यवस्था छ । जसमा आयोगका एकजना अध्यक्षसहित चारजना सदस्य रहने व्यवस्था गरेको छ । आयोगले थारु समुदायको हकअधिकार, भाषा, संस्कृतिको संरक्षण तथा जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ । थारु समुदायको हक अधिकार सम्बोधन गराउन सरकारलाई सिफारिस गर्ने व्यवस्था आयोगको ऐनमा गरिएको छ ।