कर्णालीको विकासमा सरकार तयार छः प्रधानमन्त्री ओली


Karnali

काठमाडौं, पुस २२ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले कर्णाली क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउन आवश्यक रहेको बताउनुभएको  छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बुधबार बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चौथो बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । सो अवसरमा उहाँले विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम नगर्दासम्म कर्णालीको विकास सम्भव नरहेको चर्चा गर्नुभयो ।

प्रतिष्ठानको कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोदालोले खनेर कर्णालीमा बाटो पु¥याउने सोच अब पुरानो भैसक्यो, कर्णालीको विकास त्यसरी सम्भव हुँदैन ।” कछुवा गतिले काम गरेर अब कर्णालीमा विकास सम्भव नहुने भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कर्णालीमा फरक– फरक संस्था र निकायबाट फरक–फरक योजना एकैचोटी सञ्चालन गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले कर्णालीमा विकासको लहर ल्याउनका लागि वजेटमाभन्दा योजनामा बढी ध्यान दिनुपर्ने चर्चा गर्नुहुँदै “बजेट कति लाग्छ भनेर चिन्ता नगर्नुहोस’, महत्वाकांक्षी योजना बनाएर ल्याउनुहोस” प्रतिष्ठानका प्रतिनिधिहरुसँग आग्रह गर्नुभयो ।

इच्छाशक्ति र कामगर्ने चाहना भए बजेटको कमी नहुने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सम्बन्धित मन्त्रालयमा प्रस्ताव गर्नुहोस, थप सहयोग चाहियो भने मकहाँ आउनुहोस ।” कर्णालीलाई आफू जहिले सहयोग गर्न तयार रहेको उहाँले विश्वास दिलाउनुभयो ।

वि.सं. २०६८ सालमा जुम्लाको खलङ्गामा स्थापना भएको प्रतिष्ठानमा हाल स्वास्थ्य सहायक (एच.ए.) र स्टाफनर्सको पढाई हुन्छ । कर्णालीसहित त्यस क्षेत्रका नौवटा जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बझाङ, अछाम र बाजुरालाई कार्यक्षेत्र बनाएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले बताउनुभयो ।

हाल ८० जना विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा ४५ प्रतिशत आरक्षण कर्णालीलाई छुट्याएको भण्डारीले जानकारी दिनुभयो । प्रतिष्ठानले छलफलका लागि नौवटा प्रस्ताव राखेकोमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीको कार्यव्यस्तताले सबै प्रस्ताव हुन बाँकीरहेको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया