थारु अटवारी र महाभारत प्रसङ्ग

लक्की चौधरी

थारु समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले व्रत बस्ने पर्वकोरुपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरु अट्वारीमा । स्वइच्छाले पुरुषले अष्टिम्कीमा र महिलाले अटवारीमा पनि ब्रत बस्छन् । पश्चिम नेपालका थारुको वर्षदिनमा व्रत बस्ने पर्व यिनै दुईटा हुन् । वर्षभरी अनेकौ पर्व आउने गरेपनि अन्य पर्वमा थारु समुदायका सदस्यहरु व्रत बस्दैनन् । थारु महिलाले अष्टिम्कीमा कृष्ण भगवानको व्रत बस्छन् । तर थारु पुरुषहरु अट्वारीमा सूर्य देवता र पाँच पाण्डवमध्येका कुन्तीका महिला पुत्र भीम (भेवाँ) को व्रत वस्छन् ।

थारु समुदायको देवथानमा अरु देवता सरह पाण्डवको उच्च स्थान छ । महाभारतकालिन प्रसङ्ग यसमा जोडिन्छ । महाभारत युद्धका प्रमुख निर्देशक भगवान कृष्ण थिए । पात्रहरु अनेक भएपनि कृष्णकै निर्देशनमा महाभारत युद्ध भएको थियो । धर्म र अधर्मको लडाईमा ‘धर्म र सत्य’कै जीत हुनुपर्छ भन्ने मूल उद्देश्यसाथ भगवान कृष्ण मानव अवतारमा पृथ्वीमा अबतरित् भए । पाण्डव र कौरवबीच घमासान युद्ध भयो । पाण्डव धर्म र सत्यको पक्षमा थिए । कौरवहरु अधर्म र असत्यको । कौरवको नेतृत्व हस्तिनापुरका राजा धृतराष्ट्रले गरेका थिए । धृतराष्ट्र–गान्धारीका दुर्योधनसहित सयजना छोरा थिए । पाण्डव पक्षको नेतृत्व युधिष्ठिरले गरेका थिए । तर कृष्णको निर्देशनमा सबै काम हुन्थे । कुन्तीका छजना छोरा कर्ण, युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव थिए । तर जेठा छोरा कर्ण कौरवको पक्षमा युद्ध लडे । सुर्यपुत्र कर्णलाई कुन्तीले जन्मदैं नदीमा बगाई दिएकी थिइन् । दुर्बासा ऋषिले सिकाएको मन्त्रलाई परीक्षणका लागि जप गरेपछि सूर्यदेव प्रकट भए । सूर्यदेवले कुन्तिलाई पुत्रकोरुपमा ‘कर्ण’ उपहार दिए । तर कुन्ति त्यतिबेला अविवाहित भएकीले समाजको डरले कर्णलाई नदीमा बगाई दिइन् । नदीमा बच्चा रोएको फेला पारेपछि एक शुद दम्पतीले कर्णलाई हुर्काए । कर्णले भगवान पर्शुरामसँग धनुणविद्या सिके । ब्राह्मण भनेर धनुणविद्या सिकेका कर्णले पछि सुदपुत्र भएको पर्शुरामले थाहा पाएपछि उनलाई श्राप दिए । अन्तिम लडाईमा धनुणविद्याले काम नगर्ने उनको श्राप थियो । उसो त नहकुल र सहदेव कुन्तीपुत्र थिएनन् । पाण्डुका कान्छी श्रीमती माद्रीबाट दुई सन्तान जन्मेका थिए । तर पाँच भाइको माया प्रेम अत्यन्त गाढा थियो । पाँचैजना कुन्तिपुत्रको नामले परिचित भए । भगवान कृष्णको लीलासँग महाभारत जोडिएकाले महाभारतका प्रमुख पात्र पाण्डवहरु देवताका रुपमा पुजिन्छन् । उसो त छजना भाइ कुनै न कुनै देवताका पुत्र थिए । कुन्ति र माद्रीले उपहारको रुपमा पुत्र प्राप्त गरेका थिए ।

पाण्डव जन्म
हस्तिनापुरका राजा पाण्डु दुवै पत्नी (कुन्ती र माद्री) सहित शिकार गर्न जंगल गएका थिए । उनले मृगको जोडीलाई मैथुनरत देखे । बाणले ती दुवै मृगलाई घायल गरिदिए । मर्दैगर्दा मृगले पाण्डुलाई श्राप दिए, “राजन ! तिमी धेरै क्रुर पुरुष रहेछौ । मलाई मैथुनको समय बाण हानेर ठूलो गल्ती गर्न पुग्यो । जब तिमी कसैसँग मैथुनरत हुनेछौ, त्यतिबेला तिम्रो मृत्यु हुनेछ ।” श्राप सुनेर राजा पाण्डु दुःखी भए । उनका दुई रानी थिए । तर सन्तान थिएनन् । उनले दुवै रानीसँग भने, “हे देवीहरु ! अब म आफ्नो सबै वासनाहरु त्यागेर वनमा एक्लै बस्छु, तिमीहरु हस्तिनापुर फर्केर जाउ ।” उनको कुरा सुनेर दुवै रानी दुःखी भए र भने, “हे नाथ ! हामी तपाईविना एक क्षण जीवित रहन सक्दैनौं । आफूसँगै हामीलाई पनि वनमै बस्ने कृपा गरिदिनुहोस् । राजा पाण्डुले दुवै रानीलाई आफूसँगै वनमा बस्ने अनुमति दिए ।

राजा पाण्डु गल्तीबाट दुःखी थिए । चिन्तामा डुबेका थिए । त्यही समय पाण्डुले अमावस्याको दिन ऋषीमुनीहरुलाई ब्रह्माको दर्शनका लागि जाँदैगरेको देखे । आफूलाई पनि साथ लैजान पाण्डुले ऋषीसँग आग्रह गरे । एक ऋषिले भने, “राजन ! निःसन्तान पुरुषलाई ब्रह्मलोक जाने अधिकारी हुँदैन । अतः हामी तिम्लाई लैजान असमर्थ छौं ।” ऋषिको कुरा सुनेर पाण्डुले पत्नी कुन्तीसँग भने, “हे कुन्ती ! मैले जन्मलिनु व्यर्थ छ । सन्तानहिन व्यक्तिले पितृ ऋण, ऋषि ऋण, देव ऋण, मनुष्य ऋणबाट मुक्ती पाउन सक्दैन । के तिमीले पुत्र प्राप्तीमा मलाई सहयोग गर्न सक्छौ ?” राजाको कुरा सुनेर कुन्तीले भनिन्, “हे आर्यपुत्र ! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र सिकाउनु भएको छ, जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवान्छित (मनमा चिताएको) वस्तु प्राप्त गर्न सक्छुँ । तपाई आज्ञा गर्नुहोस्, म कुन देवतालाई बोलाउँ ।”

कुन्तीको कुरापछि पाण्डुले देवता धर्मराजलाई आमन्त्रित गर्न भने । दुर्वासा ऋषिको मन्त्र पढेपछि धर्मराज देवता प्रकट भए । धर्मराजले कुन्तीलाई छोरा उपहार दिए । उनको नाम युधिष्ठिर राखियो । फेरि अर्को पुत्रका लागि कुन्तीले वायुदेवलाई आमन्त्रित गरे । वायुदेव प्रकट भएर पुत्र उपहार दिए । उनको नाम भीम राखियो । अर्को आमन्त्रणमा इन्द्र देवता प्रकट भए । उनले दिएको पुत्रको नाम अर्जुन राखे । सोही मन्त्र कुन्तीले आफ्नो सौतेली बहिनी माद्रीलाई सिकाईन् । माद्रीले पनि त्यही मन्त्र जप गरिन् । माद्रीले अश्वनीकुमार देवतालाई स्मरण गरिन् । देवताले दुई पुत्र दिए । नाम नहकुल र सहदेव राखे ।

बकासुर बध
बकासुर एक दानव थियो । पाण्डवहरुको अज्ञातबासकाबेला उनको बध भीम (भेवाँ) ले गरेका थिए । हालको भारतको ईलाहवाद जिल्लामा पर्ने चक्रनगरीमा किसानहरु बस्थे । पाँच पाण्डवहरु १२ वर्षे वनवास सकाएर एक वर्षे अज्ञात बासमा थिए । अज्ञात बासकाबेला हस्तिनापुरका कुनै सदस्यले देखेमा (चिनेमा) पुनः १२ वर्ष वनवास र एक वर्षे अज्ञातबास थपिने शर्त राखिएको थियो । त्यही भएर पाण्डवहरु अज्ञातबासको समय लुकेर बस्थे ।
अज्ञातबास भएकैबेला पाँच पाण्डव आमा कुन्तीसहित घुम्दैफिर्दै चक्रनगरी गाउँमा पुगे । जहाँ बकासुर राक्षसको आतङ्क थियो । हरेक दिन पालैपालो गाउँबासीले दानव बकासुरलाई गुफामा गएर भोजन (खाना) पु¥याउँथे । भोजनसँगै गाउँको एक सदस्यलाई उसले मारेर खान्थ्यो । गाउँको एक घरमा पाँच पाण्डव केही दिनका लागि शरण लिएका थिए । खाना पु¥याउने पालो त्यही घरको आयो । घरमा श्रीमान श्रीमती एक छोरी र एक छोरा थिए । घरका सदस्यबीच दानवलाई खाना पु¥याउनबारे छलफल चल्यो । कुन्तिले सल्लाह दिइन् । मसँग पाँचजना छोरा (पुत्र) छन् । कुनै एकलाई राक्षसले मारेर खायो भने पनि चारजना बाँकी रहन्छन् । तर तिमीहरुको त एउटा छोरा र एउटी छोरीमात्र छन् । त्यसैले खाना लिएर राक्षसकहाँ मेरो कुनै एक पुत्रलाई जानदेऊ । उनको कुरालाई घरका सदस्यले मान्न तयार भएनन् । पाहुनालाई कसरी राक्षसको आहारा बनाउने ? पाप काम हुन्छ भने । तर कुन्तिको सल्लाहपछि घरका सदस्य तयार भए । कुन्तिले गाउँको समस्याबारे आफ्ना पुत्रहरुलाई बताइन् । पाँचै पुत्रवीच राक्षसकहाँ खाना लिएर को जाने, छलफल चल्यो । कुन्तीले भीमलाई राक्षस बकासुर कहाँ खाना पु¥याउन जान भनिन् । भीम लहरु (वयल गाडा) मा खाना राखेर जंगलमा रहेको राक्षसको गुफामा पुगे । राक्षसका लागि लगेका सबै खाना भीम आफैले खाए । चाल पाएपछि राक्षस गुफाबाट बाहिर निस्क्यो । भीमलाई खाना खाएको देखेर राक्षस क्रुद्ध बन्यो । भीममाथि आक्रमण ग¥यो । भीम बलवान थिए । दुवैबीच घमासान युद्ध भयो । अन्तिममा भीमले राक्षस बकासुरको बध गरे । चक्रनगरका गाउँबासी खुशी भए । राक्षसको आतंकबाट सदाका लागि मुक्त भए । अव गाउँका कुनै सदस्यले ज्यान गुमाउनु नपर्ने भयो । खुशीले गाउँमा भोजभतेर चल्यो । भीमले गाउँबासीको रक्षा गरे ।

लेखकः लक्की चौधरी

अट्वारीको प्रसङ्ग
भेवाँ (भीम) सहित पाँच पाण्डव जहाँ शरण लिएर बसेका थिए, त्यो चक्रनगर थारुगाउँ थियो । गाउँका सदस्यलाई दानवको चङ्गुलबाट जोगाएकै कारण थारुहरुले भीमलाई देवताको रुपमा स्वीकारे । पाँच पाण्डवलाई देवथानमा स्थान दिएको किंवदन्ती छ । आज थारु गाउँका सबै देवथान (मर्वा) मा पाँच पाण्डवको स्थान सुरक्षित छ । जुनसुकै पूजामा पुजिन्छन् । थारु मन्त्रमा शिव, पार्वती, व्रह्मा, विष्णुसँगै पाँच पाण्डवको प्रसङ्ग छ । राक्षसबाट थारु चेली तथा गाउँबासीलाई रक्षा गरेकै सम्झनामा थारु पुरुष अट्वारीमा भीमको व्रत बस्छन् । पूजा गर्छन् । राक्षस बकासुरको बधपछि गाउँबासी गाउँमा खुशीयाली र भोज भतेर गरी रमाए । व्रतपछि थारु व्रतालुले आफ्ना विवाहित चेलीबेटीलाई उपहारका रुपमा मीठा परिकार पु¥याउँछन् । यसरी पु¥याइने मीठा परिकारलाई ‘अग्रासन’ भनिन्छ । यसवर्ष भदौ २७ गते थारु समुदायले अट्वारी पर्व मनाउँदै छन् । अट्वारी पर्व हरेक वर्ष कुशेऔंसी पछिको पहिलो आइतबार मनाइन्छ । अट्वारी पर्व मनाउनेबारे थारु समुदायमा अनेक किंवदन्ती छन् । तथापि भेवाँसँग जोडिएको यो किंवदन्ती बढी तर्कपूर्ण छ ।

तपाईको प्रतिक्रिया