जितिया बरा भारी, जितिया पावैन बोलको थारु म्युजिक भिडियो सार्वजनिक


हमार पहुरा डट कम
झुम्का, असोज ३ गते । “जितियाके पावैन ऐलै सखी, जितिया बराभारी”‘ “लैहर जाइले आस देखैची, रोटी बन्याके मोटा बान्हैची, सब सखी बहैन्पा मिल्के करबै जितिया पावैन हो”‘ बोलको जितियाको सन्देश बोकेको भिडियो गीत सार्वजनिक भएको छ ।

थारु भाषा र जितिया पर्वको मौलिक शब्दले सज्जित नयाँ रेकर्डिङ्ग र छायाँकन भएको “जितिया गीत” ले धमाका मच्चाउने आशा गरिएको छ । जितिया पर्वको नाम उच्चारण हुनासाथ थारु चेलीबेटी महिला खुसिले हर्ष बिभोर हुँदै आनन्द अनुभुति प्रकट गर्छन् । महिलामा नयाँ जोस जागर उत्साह र उमंग थपिन्छ । महान पर्वको उमंग र उत्साहलाई शब्दरुपी कला, लयले संगीतबद्ध रुपमा संरक्षण र प्रवर्दन गर्न आइतवार “जितिया गीत” सार्वजानिक भएको निर्देशक बिशाल चौधरीले जानकारी दिनुभयो ।

मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काको पोष्ट प्रोडक्सनमा गीतको मौलिक भाव, संगीत र छायाँकन मेहनतकासाथ निर्माण गरेको हुँदा सो जितिया गीतले पर्वको नेतृत्वको सन्देश दिने आशा गरिएको छ । पर्वको मौलिक शब्दद्वारा बर्णन गरिएकाले जितिया ब्रत लिएका महिलाहरु यस गीतबाट हर्षित भइ रमाउने भएका छन् । गीतले यस बर्ष र आउँदा बर्षहरुको जितिया पर्वमा तराईका थारु महिलाहरुमा रौनक बढ्ने निर्दैशक चौधरीले बताउनुभयो ।

मेगा डिजिटलले तराई महिलाहरुको महान पर्वलाई थारु भाषाबाट संगीत लयमार्फत संरक्षण गरेको थारु महिला उत्थान समाज सुनसरीका अध्यक्ष सीता थरुनीले बताउनुभयो । गीतले थारु समुदायको भाषा, भेष, पहिचान र महिलाहरुको हक उठान समेत गरेको भन्दै समाजका अध्यक्ष थरुनीले मेगा डिजिटललाई शुभकामना ब्यक्त गर्नुभयो ।

जितिया गीत राज संघर्षको शब्द, गीता चौधरीको संगीत, अनु चौधरी र गीता चौधरीको आवाज, गणेश चौधरीको एरेन्ज, बिशाल चौधरीको निर्देशन, पेम्बा लामाको नृत्य, बिबेक सरदारको सहनृत्य, संजय चौधरी र लालीगुराँस यूवा क्लब इनरुवा ७ अबादी मधेशको सहयोगमा निर्माण भएको सो पारम्पारिक जितिया गीत सार्वजानिक गरिएको हो ।

गीतमा दिपिका चौधरी, मनिका चौधरी र गंगा चौधरीको अभिनय रहेको छ । रबिन चौधरी र देव चौधरीको छायाँकन रहेको छ । जितिया पर्व पूर्वी तराईका महिलाहरुको महत्वपुर्ण ऐतिहासिक चाड हो । यो चाडको औचित्य र महत्व आत्मसाथ गरी तराई मुलका अन्य जातजातिले पनि बिषेश महत्वका साथ मनाउन थालेका छन ।

जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो । यो पर्वको दिन जितमहान भगवानले गरुड नामक शक्तिशाली पन्छि राक्षसलाई आफनो अलौकिक शक्तिका माध्यमबाट आफनो बसमा राख्न सफल भएका थिए भन्ने बिभिन्न पुराणहरुमा उल्लेख छ । यसै दिनको सम्झनामा जितिया पर्व मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया