फरवार्ड माइक्रोफाइनान्स वित्तिय संस्थाको अध्यक्षमा पुनः भगवती चौधरी


हमार पहुरा डट कम
सुनसरी, माघ ४ गते । महिला आर्थिक शशक्तिकरणका अभिययन्ता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पुनः अध्यक्षमा चयन हुनुभएको छ । फरवार्डको हालै सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः चयन हुनुभएको हो ।

वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्दै नयाँ सञ्चालकमा चौधरीसहित ग्रामिण महिला उत्सुकता विकास मञ्चकी राजकुमारी तब्दार, एभरेष्ट बैंकका आशुतोष शर्मा र केशवराज पौडेल चयन हुनुभएको छ । सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने बलराम चौधरी र जगतजंग जि.सी. पनि चयन हुनुभएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८ ७९ का लागि लेखापरीक्षकमा किन्जल एण्ड एशोसियट्सलाई नियुक्त गरेको छ । वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा समेत गरेको छ । ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत सामाजिक, आर्थिक सचेतना फैलाउँदै महिलालाई उद्यमशील र स्वरोजगार बन्न प्रेरित गर्दै आउनुभएका नेतृ चौधरीकै पहलमा फरवार्ड माइक्रोफाइनान्सको स्थापना भएको थियो ।

२०६९ सालमा नेपाल राष्ट्र बैंकले फरवार्ड नेपाललाई वित्तीय मध्यस्तकर्ताको अनुमति दिएसँगै फरवार्ड माइक्रोफाइनान्सको रुपमा स्थापना भएको थियो । पूर्वराज्यमन्त्री समेत रहनुभएका नेतृ चौधरीकै अगुवाईमा फरवार्ड माइक्रोफाइनान्सले देशका ४० जिल्लामा १५९ शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दैआएको छ । संस्थासँग हाल २ लाख ८१ हजार बढी ग्राहक सदस्यहरु रहेको सो संस्थाले जनाएको छ ।

महिलालाई आर्थिक क्षेत्रमा सक्रिय बनाए सामाजिक, सांस्कृतिक र आर्थिक असमानताहरु घटेर जाने, महिला हिंसा र विभेद न्यूनिकरण हुने नेतृ चौधरीको भनाई छ । सोहिअनुसार फरवार्ड माइक्रोफाइनान्सले गाउँ गाउँमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दा महिलालाई सिपमुलक, रोजगारमुलक तथा सचेतनामुलक तालिमहरु समेत दिएर कर्जा प्रवाह गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया