कपिलवस्तुमा लोप हुँदै बरघर प्रथा

विचार

रामअवतार चौधरी

समय परिवर्तनसँगै समाजलगायत विभिन्न क्षेत्र प्रभावित हुनु स्वाभाविक हो । तर समाजमा रहेका विकृति फैलाउने खालका पुराना परम्परालाई त्याग्दै केही असल वा मौलिक पहिचान झल्किने रीतिरिवाजलाई परिमार्जन गरिनु बुद्धिमानी ठान्छन् आजका युवा । चार वर्ण छत्तीस जातको फूलबारी मानिने देश हो हाम्रो नेपाल । त्यसै अन्तर्गत रहेको थारु समुदाय जुन विश्वमा नै साँस्कृतिक तवरले निकै धनी रहेको छ । विश्वकै इतिहासमा नेपालको शिर उच्च कायम राख्न थारु संस्कृतिको समेत उत्तिकै उल्लेखनीय योगदान छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु जातिले मनाउने चालचलन भौगोलिक विविधताअनुसार केही फरक भए पनि लगभग अधिकांश चाडपर्व लगायत रीतिरिवाज कायमै रहको जानकारहरू बताउँछन् । जसमध्ये एक विशेष हो बरघर प्रथा वा प्रणाली । थारु बाहुल्य रहेको क्षेत्रमा यस प्रणालीले ठूलो स्थान ओगटेको हुन्छ । सामान्यतया अहिले यो चलनले स्थान छाड्दै गएको अवस्था छ । यसै सन्दर्भमा पश्चिमी क्षेत्रलाई नियाल्दा कपिलवस्तुको केही भागमा मात्रै लागू भएको पाइन्छ बरघर प्रणाली । जिल्लाको विजयनगर गाउँपालिका वडा २, लोहरौलामा खासगरी थारु बस्ती रहेकाले हालसम्मै कायम रहन सफल भएको बताइन्छ ।

जिल्लाकै विकट एरिया मानिने लोहरौला गाउँका बरघर कृष्णबहादुर थारुले विगत एक दशक बढी गाउँका बरघर भएर जिम्मेवारी सम्हाल्दै आएको बताए । आफूले विगतमा गरे भोगेका सामाजिक क्रियाकलापको अनुभव सुनाउँदै पछिल्लो समय राजनीतिक चलखेल भएकोले काम गर्न एकदमै सकस भएको उनले सुनाए । राजनैतिक दबाबले गर्दा बरघर प्रथा झनै कमजोर हुनुकासाथै चुनौतीपूर्ण बन्दैगएको समेत बरघर थारुले बताए । उनले भने ‘देशमा राजनैतिक दबाबले गर्दा समाजको आवश्यकताअनुसार काम गर्न निकै जटिलता छ ।’

थारु समुदायमा बरघर प्रणाली परापूर्व कालदेखि नै चल्दैआएको छ । विशेषगरी थारु जातिले माघ महिनामा मनाउने नयाँ बर्ष वा माघी पर्वमा घर बाँडफाँड गरिनेदेखि लिएर आर्थिक बर्ष अर्थात् नयाँ बरघर चुन्ने चलन रहेको थारु अगुवाहरुको भनाइ छ । यस प्रणालीले सुमदायका लागि एकताको राम्रो सन्देश दिँदै हरेक गतिविधि चुस्तदुरुस्त बनाउनमा उल्लेखनीय भूमिका निर्वाह गरेको पाइन्छ । थारुको हक र अधिकारका लागि स्थापना भएका थारु कल्याणकारीणी सभा लगायत अन्य थारु समाजमा अग्रणी भुमिका खेल्ने संघ संस्थाहरुले बरघर नभएको ठाउँमा बरघर स्थापना गरी हालसम्म लागू रहेको यो प्रणालीलाई थप बलियो बनाउन बैधानिक गराउनुपर्ने भन्दै सरकार पक्षलाई थारु अगुवाहरुले दबाब दिनुका साथै माग गर्दै आएका छन् ।

बरघरको महत्त्व

बरघरले समाजको आवश्यकताअनुसार नेतृत्वदायी अग्रणी भुमिका खेल्ने गर्छ । थारु समुदायको हरेक क्रियाकलाप चुस्तदुरुस्त राख्दै समुदायमा घटेका हरेक घटना परिघटना आन्तरिक रुपमा मेलमिलाप गराउनुका साथै एकरुपताको सन्देश प्रवाह गर्छ । बरघरले भनेअनुसार समुन्नत समाजमा रुपान्तरण गर्नुमा अहम भूमिका खेल्ने गर्छ । समुदायमा एकताबद्ध कायम गर्दै विकासमा समेत प्रभावकारी कदम चाल्न बरघर प्रथाले मद्दत पुग्ने हुनाले यसको बेग्लै महत्त्व रहेको छ ।

किन लोप हुँदैछ

पछिल्लो समय बरघर प्रथा वा प्रणाली नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप हुँदैगएको देखिन्छ । पुर्खौँदेखि चलिआएको रीतिरिवाजलाई सहजरुपमा नयाँ सन्ततिलाई क्रमबद्ध तरिकाले नेतृत्व गराउन नसकिनुले लोप हुँदै गएको पाइन्छ । सरकारले यो चलनलाई बैधानिक रुप नदिनु सरकार पक्षको कमजोरी हुना जान्छ । गाउँघरका जिम्मेवारी थुप्रै हुँदै जानुका साथै आयस्रोत नहुँदा बरघरको काम छोडेर विस्थापित हुनुपर्ने बाध्यता छ । यस प्रथा वा चलन राम्रो भए पनि हालको पुस्ताले झमेला मानेर जिम्मेवारी लिनबाट पन्छिन खोजिएको र सरल रुपमा नस्वीकार्नुले बरघर प्रथा लोप हुँदैगएको अवस्था विद्यमान छ ।

थारु अगुवाको भूमिका

यस प्रथाबारे समुदायस्तरमा समेत प्रचारप्रसार गरी स्थानीयलाई जागरुक गराउँदै सामाजिक हितका लागि रीतिरिवाज संरक्षण तथा प्रबर्द्धनको प्रयत्न गर्नु पर्दछ । थारु समुदायका आम नागरिकलाई भेला गराई एकजुट पारी थारु बाहुल्य रहेको बस्तीमा बरघर स्थापना गर्दै हालसम्म कायम रहेका बरघर चलनलाई थप सशक्त बनाउँदै सहयोग गरी समृद्ध बनाउन प्रभावकारी भुमिका खेल्नुपर्ने देखिन्छ । आफ्नो हक, अधिकार प्राप्तिका लागि यस प्रथालाई निरन्तरता दिई बैधानिक ढङ्गले अगाडि बढाउन सरकारसँग माग गर्न जरुरी छ ।

पश्चिम नेपालको कपिलवस्तुमा वरघर प्रथा धरमरमा पर्न थाले पनि दाङ, सुर्खेत, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा यो प्रथा फष्टाएको देखिन्छ । थारु एकता कायम गर्न तथा थारुको अधिकार सवाल तथा मुद्दाहरुको प्रवलीकरणमा बरघर प्रणालीले राम्रो भूमिका निर्वाह गरिरहेको थारु कल्याणकारिणी सभा (थाकस) का अगुवाहरुको बुझाई छ । थारुबीच समन्वय गर्न तथा थारुको अधिकार र कर्तव्यबारे जानकारी गराउन पनि बरघर प्रथाले सहज बनाएको थाकसको भनाई छ । मुख्यगरी बरघर प्रथालाई पुस्तान्तरणको खाँचो छ । नयाँ पुस्ताले त्यसमा चासो देखाएर जिम्मेवारी लिनमा तयार हुनुपर्छ । परम्परागत बरघर प्रणालीलाई नयाँ शिराबाट अगाडि बढाउन सकिन्छ । त्यसकालागि थाकस सहित थारु संघ संस्थाले थारु युवाहरुलाई सचेत गराउन आवश्यक तालिम तथा प्रशिक्षणको व्यवस्था गर्दैजानुपर्छ । थारु गाउँको विकास र श्रीबृद्धिमा बरघर प्रणालीले खेलेको भूमिका महत्वपूर्ण रहेकाले सरकारबाट वैधानिकताको पहल पनि निरन्तर कायम राख्नुपर्छ । बरघर प्रथालाई सरकारले वैधानिकता दिने हो भने देशको समृद्धिमा यसले ठूलो योगदान दिन्छ । सरकार यसमा चनाखो हुनुपर्छ ।

तपाईको प्रतिक्रिया